स्थानीय निकायको निर्वाचन मिति चाँडै तय गर्ने उपप्रम थापा

गोविन्द विश्वकर्मा
पुस २८, काठमाडौ – उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको सत्ताइसौँ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम सार्वजनिक समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा थुप्रै समस्या आएकाले त्यसलाई सरकारले चाडै सम्बोधन गर्ने बताउनुभएको हो । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री थापाले भन्नुभयो, “स्थानीय निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी गर्नु होला ।”
उहाँले एक वर्षभित्र कोटेश्वरको तीनकुनेमा विशाल बौद्ध स्तम्भ निर्माण गर्न र महानगरका सम्पूर्ण सडकमा सडक बत्तीको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले आफ्ना काम कारबाहीलाई पारदर्शी एवम् जनताको अपेक्षाअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आगामी दुई वर्षभित्रमा सडकको सञ्जालले नछोएका ५०० गाविसमा सडक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले सोहीअनुसारको योजना तथा कार्यक्रम बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले देशका विभिन्न समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दल र त्यहाँ आबद्ध विविध क्षेत्र, जाति, भाषा धर्म मान्ने सभासद्को साझा सहमतिको दस्तावेज संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभयो । केही व्यक्ति तथा समुदायले जारी संविधानप्रति असन्तुष्टि जनाउनु सामान्य भएको बताउँदै मन्त्री थापाले तराईमा जारी आन्दोलन तन्काउनुको कुनै अर्थ छैन भन्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने सांसद दीपक कुँइकेल, रामेश्वर फुयाँल, रामवीर मानन्धर, ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसीले जारी विधानको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले महानगरको एकीकृत विकास र पुनःनिर्माणका लागि सबै राजनीतिक दल र स्थानीयस्तरमा कार्यरत सामाजिक संस्थाको एकता आवश्यक भएकाले त्यसतर्फ सबैको जोड हुनुपर्ने बताउनुभयो । 
त्यसैगरी, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र पूर्व मुख्यसचिव लीलामणि पौड्यालले स्थानीय निकाय नै लोकतन्त्रको पाठशाला भएकाले दिगो विकासका लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महानगरका विषयमा समाचार लेख्दै आएका ‘नयाँ पत्रिका’का पत्रकार टेकराज थामी, ‘अन्नपूर्ण पोष्ट’का गोपीकृष्ण ढुङ्गाना, ‘नागरिक’का ज्ञानु न्यौपाने र ‘रातोपाटी’ अनलाइनका राजेश भण्डारीलाई जनही रु १५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी, महानगरपालिकामा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी डा उत्तरकुमार रेग्मी, हरिबहादुर कुँवर, धनपति सापकोटा, सुलोचना श्रेष्ठलगायतलाई पुरस्कृत गरिएको थियो भने महानगरमा अनवरतरुपमा सेवा गर्दै आएका कर्मचारीलाई ‘दीर्घसेवा पदक’बाट सम्मान गरियो ।

No comments:

Post a Comment