२२ वर्ष अघि मृत्यु भएका व्यक्तिका नाममा रकम निकासा

गाेविन्द विश्वकर्मा
पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत  नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको  हो ।
जिल्लाको सुवानाउली ८ सुवाका सर्केनी दमाइको मृत्यु भएको २२ बर्ष वित्यो । सोही ठाउँका कालु थापाको पनि १६ बर्ष अघि नै मृत्यु भैईसकेको छ । तर उनीहरुको नाममा जिविसबाट वर्षेनी सामाजिक सुरक्षा भत्ता गएको गयैछ । २२ बर्ष अघि मृत्यु भएका दमाई र थापाको नाममा अहिलेसम्म सामाजिक सुरक्षा भत्ताको रकम आएको देख्दा सुवानाउली गाविसका पूर्व गाविस अध्यक्ष गोरखबहादुर थापा तीन छक्क परेका छन् । सुवानाउली गाविसको आर्थिक बर्ष २०६९÷०७० विल भरपाईमा ६० बढी मृतकका नाउँमा रकम गएको छ । तर उनीहरुको नाममा पनि मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता गइरहेको छ । एउटै व्यक्तिको ३,४ ठाउँ नाम राखेर भत्ताको दुरुपयोग गरेको पाइएको छ ।
थापा र टमटा त सो गाविसका एक प्रतिनिधि पात्र मात्र हुन् । सुवानाउली ८ का मानसिंह थापा, पठे थापा, कले चदारा, गोरी रावत, देउमल थापा, मन्दरी टमटा, कले थापा, दरे कामी, काली टमाटा, धने बुढा, कल्चु टमटा, सर्जन खड्का लगाएत व्यक्तिहरुको धेरै पहिले नै मृत्यु भइसकेको छ । भने पठे सुनार, विर्खे थापा, पम्फी रावत, रत्नी थापा, तुली चदारा, तुल्क्षा चदारा लगाएतका ब्यक्ति नै छैनन् । उनीहरुको सबैका नाममा पनि मासिक ५ सयका दरले बृद्धबृद्धा र एकल महिला भत्ता खर्च भैरहेको छ ।
सुवानाउली गाविसमा २०६२ देखि ०७२ सम्म कार्यरत सचिवहरु हिक्मत सुनार, शेरबहादुर रावत, मोहन ढकाल, चिरञ्जी जिसी, गोर्कणराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्मा लगाएतलाई छानविनको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ । सचिवहरु गाविसमा नबस्ने र सबै जिम्मेवारी लेखा सहायक शर्मालाई दिदा रकम घोटाला भएको आरोप छ ।
सुवानाउलीमा दलित जेष्ठ ४४, अन्य जेष्ठ ५१, एकल महिला ७०, पूर्ण अपाङ्ग १६, आंशिक अपाङ्ग ३ र दलित बालबालिका २ सय ५१ जनाका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । तर गाउँमा भत्ता पाउने व्यक्तिहरुले पुरै रकम पनि पाएको देखिदैन । ८ लाख बढी रकम हिनामिना भएको स्थानीयको आरोप छ ।   गाउँ विकास समितिका कर्मचारीले यी सबैको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाई बनाएर जिल्ला विकास समितिमा पेश गरेका छन् ।
त्यस्तै गाउँमा ५ बर्ष मुनिका दलित बालबालिकाले बर्षमा पाउनु पर्ने २४ सय बाल अनुदानको रकम पुरै नपाउने गरेको, अपाङ्ग, एकल महिला, दलित जेष्ठ, अन्य जेष्ठले पनि पुरै पाउनु पर्ने रकम नपाएको भेटिएको हो । तर गाविसका कर्मचारीले उक्त गाउमा हुदै नभएका २ सयका दरले बाल संरक्षण भत्ता वितरण गरेको भपाई पनि जिविसमा पेश गरेर रकम निकासा गर्ने गरेका छन् ।
जिविस जाजरकोटले लापरवाही गर्दा सामाजिक सुरक्षा भत्ताको ३० वटै गाविसमा चरम दुरुपयोग बढेको एमाले जाजरकोटका पूर्व सांसद रत्नप्रसाद शर्मा न्यौपाले बताए । आफुले पटकपटक जानकारी गराउदा समेत जिविसले आलटान गरेर पन्छिन खोजेको आरोप छ । जिविस, गाविस सबैलाई छानविनको दायरामा ल्याउनु पर्ने सांसद न्यौपानेको भनाई रहेको छ । यसरी सुवानाउली गाविसमा मात्र बृद्धबद्धा, एकल महिला, अपाङ्ग र बाल संरक्षण अनुदान भत्ताका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । यस गाउमा नभएका भत्ता पाउने ब्यक्तिको नाम पुकार्दा स्थानीय चकित परेका छन् ।
जिल्लाका ३० वटै गाविसका कर्मचारीले बर्षेनी यस्तै नक्कली भर्पाई बनाएर सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्दै आएका छन् । ती कर्मचारीले मृत्यु भैसकेका, गाउमा हुदै नभएका, अन्यत्र विवाह भैसकेका र दोहोरो तथा तेहोरो नाममा नक्कली भपाई बनाउदै रकम हिनामीना गर्दै आएका छन ।  एउटै ब्यक्तिले सयौं ल्याप्चे तथा हस्ताक्षर गरेको प्रष्टै देखिन्छ । गाविसमा सामाजिक सुरुक्षा भत्ता रकम सम्बन्धित गाविस सचिव र लेखा तथा प्रशासन सहायकले दुरुपयोग गर्ने गरेका छन ।
जिल्लाभरका गाविसबाट हरेक बर्ष करोड बढी रकम दुरुपयोग हुने गरेको छ । बर्षौसम्म मृतकको मृत्यु दर्ता नगर्ने र लगत नकाट्ने, दोस्रो विवाह गरेका महिलालाई एकल महिलाको सुचीबाट नटाउने, नभएकाको नाममा भपाई बनाउने,   हचुवाको भरमा परीचय पत्र बनाउने र गलत विवरण जिविसमा पेश गर्ने र ती ब्यक्तिका नाममा निकासा भैआएको रकम कर्मचारीले खल्तीमा हाल्ने गर्दा घोटाला हुने गरेको हो । कति जेष्ठ नागरिक र एकल महिलाले पुरै भत्ता नपाएको गुनासो पनि गर्दै आएका छन् । गाविसका कर्मचारीले सामाजिक सुरक्षाको रकम अन्यत्र लगानी गरेर थप मुनाफा लिने गरेको बताइएको छ । सरोकारवाला निकायबाट अनुगमन, निरीक्षण र नियमन हुन नसक्दा मनोमानी रकम हिनामीना भएको हो । स्थानीय जन प्रतिनिधी विहिन हुदा जाजरकोटमा सासु रकमको दुरुपयोग बढेको हो । भ्रष्टाचारीलाई राजनीतिक दलले नै संरक्षण गर्दा रकममा अनियमिता बढेको हो । गत बर्ष जिल्लाको लहँ गाविसमा सामाजिक सुरक्षा भत्ताको व्यापक घोटाला सम्बन्धी समाचार उजागर भएपछि अख्तीयारले छानविन थालेको छ ।
जिल्लाका २ हजार दलित जेष्ठ, २ हजार ८ सय अन्य जेयष्ठ, ४ हजार एकल महिला, ३ सय ५० अपाङ्ग र १० हजार दलित बालबालिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता वापत बार्षिक १० करोड खर्च गर्ने गरेको छ । को मरेको छ, को जीवित छ, भन्ने कुराको अध्यायबधि गाविसले गर्ने हुदा सचिबहरुले नै गलत मनसायले राख्दा समस्या बढेको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकिय अधिकृत टेकबहादुर खत्रीको भनाइ रहेको छ । कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि तथ्यांक एकीन गर्न नसक्दा बर्षेनी यो रकममा घोटाला हुने गरेको हो । सबै गाविसको अनुगमन गरिने र कडा कारवाहि गरिने बताए पनि सो कार्य सफल हुन नसके खत्रीको भनाइ छ ।

पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले नयाँ शक्ति चाहियो : भट्टराई

गोविन्द विश्वकर्मा
पुस २१ काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियान म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको अन्तक्रियामा उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले राज्यको सम्पतिलाई दुरुपयोग गरी अकुत सम्पति कमाएकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको हो । कार्यक्रममा उहाँले आफ्नो अभियानलाई विदेशी शक्ति तथा भ्रष्टसँग जोडेर हेर्ने गरिएको बताउँदै एउटा पनि प्रमाण जुटाएर देखाए जस्तोसुकै कारवाही भोग्न आफू तयार रहेको बताउनुभएको छ । भट्टराईले राजनीतिक एजेण्डामै केन्द्रित भएर जनतालाई भ्रम, दुःख र कष्टमा राख्न खोजिएकाले बेरोजगारी, गरिबीसहित नेपाली जनताको समस्यालाई समाधान गर्न नयाँ शक्ति आवश्यक रहेको बताउनुभयो । एउटा आन्दोलनको परिवर्तनका नाममा सत्तामा पुग्ने, जेलनेलमा परेको बाहनामा राज्यको सम्पतिलाई दुरुपयोग गर्ने गरिएको डा। भट्टराईले आरोप लगाउनुभएको छ । उहाँले गणतन्त्र, संविधानसभाबाटै संविधानसहित पुराना सामन्ती संरचनालाई भत्काउन सफल माओवादी जनयुद्ध सफल भएको भन्दै जनयुद्ध नेपालमा आवश्यक थियो र युद्धले जनतालाई परिवर्तनको क्षेत्रमा अगाडि बढाएको धारणा राख्नुभयो । उहाँले जनयुद्धमा दशौं हजार नेपालीले बलिदान दिएपनि राज्य र पार्टीबाट उचित सम्बोधन नभएको भन्दै नयाँ शक्तिले देशमा परिवर्तनको क्रममा ज्यान गुमाएकालाई उच्च सम्मान गर्ने बताउनुभयो ।

पत्रकारहरुद्वारा आन्दोलन शुरुवात

गोविन्द विश्वकर्मा
पुस २१, सुर्खेत – समाचार संकलन गर्न गएका आफ्ना सहकर्मीहरुमाथि हातपातमा उत्रिएका नेपाली सेनाका कर्णेललाई कारबाही गर्न माग गर्दै सुर्खेतका पत्रकारहरुले आन्दोलन शुरु गरेका छन् । शिक्षकलाई विद्यार्थीले कुटपिट गरेको विषयमा समाचार संकलन गर्न वीरेन्द्रनगरस्थित सैनिक आवाशिय महाविद्यालयमा गएका पत्रकारहरुलाई गाली ग्लोच गर्दै अपशव्द बोल्ने तथा हातपातमा उत्रिएका कर्णेल शिवप्रताप कार्कीलाई कारबाही गर्नुपर्ने माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।नेपाल पत्रकार महासंघको अगुवाईमा आज जिल्ला प्रशासन कार्यालयमार्फत् गृह र रक्षा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाईएको छ । सेनाको मध्यपश्चिमाञ्चल क्षेत्रीय पृतनाअन्तरगत सुर्खेतमा कार्यरत कर्णेल कार्कीले पत्रकारहरु सुदिप पुरी, सुशील खड्का, कृष्ण आचार्य र इश्वर अधिकारीलाई महाविद्यालयको गेट बाहिर विद्यार्थीका अभिभावकसामू अपशव्द प्रयोग गरि हातपात गरेका थिए ।
साथै उनले पत्रकारहरुलाई ज्यान मार्ने धम्कि पनि दिएका थिए । कर्णेल कार्कीले सार्वजनिक रुपमा माफि माग्नुपर्ने, विभागीय कारबाही हुनुपर्ने र आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता हुनुपर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले आफ्नो तर्फबाट हुने सवै काम गर्ने बताउनुभएको छ ।
                                   फोटोः ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारहरु ।

पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमा नेपाल पहिलो स्थानमा

गोविन्द विश्वकर्मा
पुस २१, काठमाडौं – यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो । १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ । हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ । रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा  श्रीलंका दशौं नम्बरमा छन् ।

मायाले छोयो गोविन्दलाई, सपनीमा तिमीसंगै बजारमा

गोविन्द विश्वकर्मा
पुस २०, सुर्खेत – माया प्रेमबाट अछुतो सायद कमै होलान यो दुनियामा । सबै क्षेत्रमा माया प्रेमको नै बढी प्रयोग भएको पाईन्छ । दिनमा हुने गरेका दैनिक क्रियालाप देखि सबै ठाउमा मायाको नै प्रयोग भएको पाईन्छ । माया भन्ने चिज त्यस्तो चिज हो जस्ले नछोएको र जस्लाई नछुने प्राय कमै पाईन्छन् । मानव जीवनमा भए गरेका क्रियाकलापहरुमा पनि माया नै झल्किन्छ । माया शब्द यती प्यारो छ रुदा आँशुको साथी बनिदिन्छ, हासो हासो अनि सुत्दा सपनी त ब्युझिदा सम्झना मात्र । माया कतिबेला सुरु हुन्छ र कहा गएर समाप्त हुन्छ थाहै हुदैन । राम्रो फुल सबैलाई मन पर्छ र टिप्न सबैले खोज्छन् । कुरा यती मात्र होकी कोही सफल हुन्छन त केही असफल हुन्छन् । मन परेको मान्छे साथ मै हुदा खुशीको जीवन विताउने र नपाउदा दुखी हुने भावनामा डुव्ने गीतसंगीतमा रमाउने भन्दा अर्को विकल्प हुदैन । वीपनीमा नभए पनि सपनीमा मन परेको मायालुसंग सहयात्रा गर्न पाउदा पनि साचिक्कै वीपनीमा हो जस्तो लाग्छ । सपनाको महलमा मायालु जोडी छुट्टै संसार अनि रमाईला पलहरु दुख हुदैन कहिल्यै । वीपनीमा तिमी मेरो नभए पनि सपनीमा तिमी म संगै हुन्छ्यौ साथमै हुन्छ्यौ खै सपनी पनि के देखिन्छ कुन्नी सम्हाल्नै नसकिने र व्यूझिदा रुन भन्दा अर्को पाटो भेटिदैन ।
सपनीमा मायालुसंग रमाउदाको पल बेग्लै हुन्छ । विपनीमा साथमा हुन नपाए पनि सपनीमा मायालुसंगै रहेर रमाउन पाउदा मन निकै खुशी हुन्छ । मायालुको घरमा गएर मायाको भिक मागेर पनि उनलाई पाउने आशा छ । देराली झर्दा उकाली ओराली गर्दा जता जादा पनि मायालुको याद नै साथमा रहन्छ । मध्यरातको १२ बजे म तिम्रो घरको आगनमा छु, तिमी मेरो छेउमा अनिमैले तिम्रो हात समाउदै मायाको भिख मागेको छु तिमीले पनि लजाएरै स्वीकार गर्न सकेको कहा छौ र ? तिमीलाई धेरै पहिलाबाट नै चाहेको हो तर मेरो भाग्य नै खोटो छ कहा तिमीलाई पाउन सक्छु र ? हो म तिमीलाई माया गर्ने मान्छे हो तिमीलाई पाउनको लागी के के गरेन मैले । 
दैलेखको गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला सामान्य परिवारमा जन्मिएर सञ्चार क्षेत्रलाई कर्मथलो बनाएर काम गर्दै आउनुभएका गोविन्द विश्वकर्माले अहिले गीत शब्द रचनाबाटै आफ्नो संगीत यात्रा सुरुवात गर्नुभएको छ । सञ्चार क्षेत्रमा काम गर्दै गर्दा गीतलाई माया गर्ने मुटुको पिडा बुझेर पिडालाई शब्दमार्फत संगीतको मालाका उईनिएर श्रोतामाझ पस्कन सफल बन्नुभएको छ । आफ्नो मन परेको मायालु अंगालोमा हुदाको आनन्दता र  छुटिदाको पलको पिडा व्यथालाई समेट्दै विश्वकर्मा अहिले सबैको प्यारो बन्नुभएको छ । सानै उमेरदेखि लोकगीत क्षेत्रमा रुची राख्नुहुने विश्वकर्मा गाउघरमा हुने रत्यौली, मेलापर्वमा दोहोरी गाउने पनि गर्नुहुन्थ्यो । गीतसंगीतमै रुची भएकाले उहाले सञ्चार क्षेत्रमा पनि काम गर्ने निर्णय गर्दै अहिले पनि कार्यरत हनुहुन्छ । सानै देखिको रुची गीत संगीत गाउने, शब्द रचना गर्ने भएकाले आज आएर सफल हुनुभएको छ । वीपनीमा सम्झना अनि सपनीमा साथमै भएको आभास गरिएको यो गीतको शब्दले भनेको छ सपनीमा संगसंगै भएको खशीयाली साटेको रमाएको खेल्दा खेल्दै सपना भंग भएको र मध्यरातको समयमा छटपटिदै सम्झनामा रुने गरेको भाव पोख्त गर्नुभएको छ ।
सञ्चारकर्मी गोविन्द विश्वकर्माको उतकृष्ठ शब्द सिर्जना, तेजेन्द्र बिवशको लय र दैलेखी नव गायक धर्मेन्द्र शाही र टीका पुनको सुमधुर आवाज रहेको लोकदोहोरी गीत सपनीमा तिमीसंगै हुने गर्छु म अहिले बजारको चर्चा परिचर्चामा रहेको छ । दैलेखको रेडियो ध्रुवतारा सामुदायिक एफ.एममा केहि समय काम गरेर आफ्नो संगीत यात्रा सुरु गर्नुभएका विश्वकर्माले यो गीत बजारसम्म ल्याईपु¥याउनसम्म सहयोग गनुहुने संगीतकार तथा गीतकार लोकेन्द्र जी.सी कुमार, कमल जी.सी, धर्मेन्द्र शाही, तेजेन्द्र विबशलाई मनै देखि सम्झिदै धन्यबाद ब्यक्त गनुहुन्छ ।

नयाँ वर्षमा बाबुरामले नयाँ पार्टी घोषणा गर्ने

गोविन्द विश्वकर्मा
पुस २० – सिन्धुली एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ वर्षको दिन नयाँ पार्टी घोषणा गर्ने तयारी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियानमा लागेका भट्टराईले विक्रम् सम्बतको नयाँ वर्ष वैशाख १ मा नयाँ पार्टीको घोषणा गर्ने तयारी गरेका हुन् । नयाँ वर्षको अवसर पारेर नयाँ पार्टी घोषणा गरिने नयाँ शक्तिका अभियन्ता गंगा श्रेष्ठले बताउनुभयो । सोमबार (आज) बिहान सिन्धुलीमाढीमा आयोजित भेलामा उहाले वैशाख १ गते नयाँ पार्टी घोषणा हुने जानकारी दिनुभएको हो । तीन महिनाअघि एमाओवादी छाडेका भट्टराई अहिले नयाँ शक्ति अभियानका संयोजक हुनुहुन्छ । उहा देशब्यापी रुपमा नयाँ पार्टी बनाउने अभियानमा लागेका छन् । आफूहरुको पार्टी कम्युनिष्ट पार्टी नरहने भन्दै नयाँ विचार बोक्ने सबैलाई समाहित गर्ने खालको पार्टी बनाउने भट्टराईले बताउँदै आउनुभएको छ । नयाँ बन्ने पार्टीमा पूर्व माओवादीहरुदेखि गैरमाओवादी, समाजिक ब्यक्ति, कर्मचारी बुद्धिजीवी सबै अटाउने उनीहरुको भनाइ छ । भट्टराईले पार्टीमै छँदा मुलुकको आर्थिक विकासको लागि नयाँ शक्तिको अपरिहार्य रहेको बहस चलाउँदै आउनुभएको थियो ।

नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव स्वीकृत

गोविन्द विश्वकर्मा
पुस २०, काठमाडौं – संविधानसभाबाट जारी गरिएको नेपालको नयाँ संविधानको पहिलो संशोधन प्रस्ताव व्यवस्थापिका संसद्बाट स्वीकृत भएको छ । संसदको सोमबार दिउँसो बसेको बैठकले पहिलो संशोधन विधेयक प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो । सरकारले पेश गरेको विधेयकमा सांसद्हरुले उठाएका प्रश्नहरुको कानुन मन्त्री अग्नि खरेल आज जवाफ दिएपछि विधेयक प्रस्ताव स्वीकृत भएको हो । संशोधन विधेयकमा मधेसवादी दलहरुको पनि सहमति खोज्न भन्दै लम्ब्याइएको छलफल आइतबार सकिएको थियो । सरकारले पेश गरेको संविधान संशोधन विधेयक प्रस्तावमा मधेसवादी दलको अवरोधकाबीच छलफल चलाइएको थियो । मोर्चाले भने निरन्तर नाराबाजी र आन्दोलन गर्दै आएको थियो । कानून मन्त्रीको जवाफपछि स्वीकृत गरिएको विधेयकमा संशोधन प्रस्ताव गर्नका लागि अब ७२ घण्टाको समय दिइएको छ । अबको ७२ घण्टाभित्र पनि मोर्चासँग सहमति नजुटे सोही विधेयक पास हुनेछ । कानून मन्त्री खरेलले मधेसी दलहरुको मागलाई सम्बोधनसहित सबै पक्षको माग समेटिने गरी पारित हुने बताए । संविधान जारी भएको चार महिना नपुग्दै पहिलो संशोधन हुने अब निश्चित भएको छ ।

लोडसेडिङ्ग फेरी बढ्यो, लाईन नै काटिदिए हुन्छ: सेवाग्राही

गोविन्द विश्वकर्मा
पुस २०, सुर्खेत – सोमबारदेखि लोडसेडिङ फेरि बढ्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको नयाँ तालिका अनुसार अब हप्ताको ८६ घण्टा बत्ती जानेछ । यसअघि प्राधिकरणले १० दिनअघि मात्रै लोडसेडिङ बढाएर हप्ताको ७७ घण्टा र्पुयाएको थियो । नयाँ तालिका अनुसार अब हप्ताको ३ दिन १३÷१३ घण्टा, एक दिन १५ घण्टा, एक दिन १४ घण्टा, एक दिन १० घण्टा र एक दिन ८ घण्टा बत्ती आउने छैन । विद्युतको माग बढिरहेको तर नदीमा पानीको बहाब कम हुँदा विद्युत उत्पादनमा कमी आएकाले विद्युत कटौती गर्नुपरेको प्राधिकरणको भार प्रेषण कार्यालयले जनाएको छ । ग्यास अभाव भएका कारण सरकारले खाना पकाउने समयमा लोडसेडिङ नगर्ने घोषणा गरेको भएपनि १० दिन अघि नै बिहान र बेलुकीको समयमा पनि वत्ति जाने गरेर प्राधिकरणले तालिका सार्वजनिक गरेको थियो ।लोडसेडिङ्ग बढेकै बेला अब जनतालाई थप पिडा नदिन सरकारसंग आग्रह गरेका छन् । साप्ताहिक ७७ घण्टाको मार खप्दै आएका सेवाग्राहीले ८६ घण्टा पुगेको समाचार सुन्दा आचष्र्य मान्दै अव लाईन काटिदिए हुन्छ भन्दै आवाज निकाल्न थालेका छन् । जनताले अव उज्यालो बनाउन दियालो बाल्ने बताउदै सरकार अव बाकि समय पनि बटाई दे भन्दै आवाज उठेको छ ।

सैनिक महाविद्यालयका शिक्षकमाथि विद्यार्थीको आक्रमण, पत्रकारमाथी दुव्र्यवहार

पुस १९, सुर्खेत – सुर्खेतको सैनिक आवासीय महाविद्यालयका विद्यार्थीले शिक्षकमाथि जथाभावी आक्रमण गरेका छन् । लागु पदार्थ प्रयोग गर्दै गरेको बेलामा केही विद्यार्थी भेटिएपछि सम्झाउन खोज्दा कक्षा १० मा अध्ययनरत विद्यार्थीले शिक्षकमाथि जथाभावी हातपात गरेका विद्यालमा पढाउने एक शिक्षकले नाम उल्लेख नगर्ने सर्तमा जानकारी दिए । विद्यार्थीहरुले विद्यालयको प्रशासन कक्षका झ्याल ढोकामा समेत तोडफोड गरेका छन । विद्यार्थीले रड, ढंगा, इटाले जहाँ पायो त्यही हिर्काउन थालेपछि शिक्षकहरुको भागाभाग भएको थियो । विद्यार्थीको अवरोधका कारण कक्षा ४ देखि ९ सम्मको दोश्रो त्रैमासिक परीक्षा समेत अवरुद्ध भएको छ । विद्यार्थीको प्रहारवाट केही शिक्षक र केही विद्यार्थीसमेत घाइते भएका छन् । तर विद्यालय प्रशासन र महाविद्यालयको सुरक्षाका लागि बसेको सेनाले भने यसबारेमा केहि बताएको छैन ।
यस्तै समाचार संकलनका क्रममा माउण्टेन टेलिभिजनका सम्वाददाता सुदीप पुरी, काँक्रेविहार दैनिकका ईश्वर अधिकारी, बुलबुले एफएमका समाचार प्रमुख कृष्ण आचार्य र अनलाईन सुर्खेतका सम्वाददाता सुशील खड्कालाई सेनाले “ए फोटो किन खिचिस भन्दै दुव्र्यहार गरेका थिए । तर घटना बारे बुझ्न समेत सेनाले विद्यलायमा प्रवेश गर्न नदिएर फर्काइदिएको छ ।