म.प. विश्वविद्यालयका डिनहरुले कार्यभार सम्हाले

गोविन्द विश्वकर्मा
माघ ५, सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका डीनहरूले आफ्नो कार्यकक्षमा पुनः पदभार समालेका छन् । विशेष अदालतले सफाई दिएपछि सुर्खेत आई मध्यपश्चिमाञ्चल विश्वविद्यालय डीनको कार्यालयमा आफ्नो पदमा पुनर्वहाली बहाली भएपछि आफ्नै कार्यकक्षमा डिनहरुले हाँजिरसमेत गरेका छन् । उपस्थित पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको बीचमा बोल्दै पुनः बहाली भएका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन पीताम्बर ढकालले विश्वविद्यालयमा विगतमा गरिएका कमीकमजोरीहरूबाट पाठ सिकिएको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई सबैको साझा संस्थाको रुपमा विकास गर्न अनिवार्य भएको र यसका लागि सरोकारवाला सम्पूर्ण जिम्मेवारीपूर्ण रुपमा जुट्नुपर्ने बताउनुभयो । संक्रमणकालीन अवस्थामा जिम्मेवारीमा रहेर काम गर्ने सबै पदाधिकारी, प्राध्यापक, कर्मचारीलाई धन्यवाद दिँदै अब सबैको राय सल्लाह र सुझावनुरूप नै अगाडी बढ्ने समेत उहाँले बताउनुभयो । डीन कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै हालै मात्र निमित्त बनेका व्यवस्थापन सङ्कायका डीन डाक्टर दीप बहादुर रावलले विश्वविद्यालयको अन्तरिम कालमा भए गरेका कामहरुको समिक्षा गर्नुभएको थियो । उहाँले विश्वविद्यालयको विकासमा सधै सहयोगी भूमिकामा रहने पनि बताउनुभयो । विश्वविद्यालयका निमित्त रजिष्ट्रार गणेश बहादुर कार्कीले विश्वविद्यालयका पदाधिकारीहरु बीचको आपसी सहकार्य र समुह कार्य बलियो हुन सके विश्वविद्यालयले गति लिनेमा बताउनुभयो । यसैबीच, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन गणेश बहादुर कार्की, व्यवस्थापन सङ्कायका डीन डाक्टर दीप बहादुर रावललाई डीन कार्यालयका कर्मचारीहरुले विदाई गर्दै कर्मचारी राधिका पनेरुले कर्मचारीको मनोबल उच्च हुने गरी काम गर्न आग्रह गर्नुभयो । मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन पिताम्बर ढकाल, व्यवस्थापन सङ्कायका डीन डाक्टर मस्त बहादुर गरंजा, बिज्ञान तथा प्रविधि सङ्कायका डीन डाक्टर केशर सिंह राना, र इन्जिनियरिङ सङ्कायका डीन प्राविधिक इन्जिनियर रामचन्द्र अर्यालले आफ्नो पदीय जिम्मेवारी सम्हालेका विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले दिनुभयो । विशेष अदालतबाट सफाइ पाएका सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर नवराज कणेल, सदस्य प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्याय र  शिक्षा विज्ञान सङ्कायका डीन लालमणि आचार्य, भने सुर्खेत आइपुगेका छैनन् । 

सुर्खेतमा सतर्कताको छड्के अनुगमन, ४१ कर्मचारी कार्यालयमा भेटिएनन्

गोविन्द विश्वकर्मा
५ माघ, सुर्खेत– सुर्खेतमा रहेका विभीन्न कार्यालयका ४१ जना सरकारी कर्मचारी एकै दिन कार्यालय समयमा उपस्थित नभएका पाइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र रहेका विभीन्न २१ वटा कार्यालयमा कार्यरत ४१ जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा यस्तो फेला परेको हो । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा अधिकाँश कार्यालयका प्रमुख नै कार्यालयमा उपस्थित नभएको पाइएको छ । सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले अधिकांश कार्यालयका प्रमुख र कर्मचारीहरुको मनोमानी देखिएको बताएउनुभएको छ । उहाँले क्षेत्रीय र जिल्लास्तर कार्यालयका प्रमुखले नै सरकारी जागिरको दुरुपयोग गरेर आफू खुसी हिड्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । आज मात्रै पनि ४१ जना कर्मचारी उपस्थित भएनन् भने अघिल्लो दिन हिजो २३ जना कर्मचारी कार्यालयमा नआएको रेकर्ड फेला परेको उप–सचिव ढुंगानाको भनाई छ । ढुङ्गानासहितको टोलीले विशेषगरी समय पालना, अघिल्ला दिनहरुको अनुपस्थिती र तोकिएको पोशाक लगाएको वा नलगाएको भन्नेबारे छड्के जाँच गरेको थियो । सर्तकता केन्द्रको टोली आएपछि कार्यालयका कर्मचारीहरु भने डराएका थिए । छड्के अनुगमन क्रममा कतिपय कार्यालयका कर्मचारीहरुले खाली छोडेको हाजिरीमा समेत उप–सचिव ढुंगानाले रातो लगाउनुभएको छ । स्वंयम अनुगमनमा हिडेका उप–सचिव ढुंगानाले दर्जनबढी कर्मचारीहरु अनुपस्थित रहेको पाइएको थियो । तर केन्द्रले मागेको विवरणमा भने तीन जना कर्मचारीले मात्र पोशाक नलाएको भन्ने उल्लेख सम्वन्धित सरकारी कार्यालयले विवरण पेश गरेको छ । कर्मचारीहरुले अनुगमनमा आए, केही गर्दैन भन्ने मानसिकतामा ग्रसित कर्मचारीहरुलाई कारवाही गराएरै छाड्ने चेतावनी उप–सचिव ढुंगानाले दिनुभयो । उहाँले अवको केही दिनमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुखलाई विभागिय कारवाहीका लागि सम्वन्धित मन्त्रालयमा पत्रचार गर्ने तयारी गरेको जानकारी दिनुभएको छ । पोशाक नलाएर पनि लगाएको भन्ने विवरण दिने कार्यालयलाई पनि विशेष निगरानीमा राखेकाले अवको केही दिनमा त्यसको परिणाम सार्वजनिक गर्ने उद्घोष उप–सचिव ढुंगानाले गर्नुभयो ।

नेपाल शानदार जितसँगै फाइनलमा, नवयुगले गरे ह्याट्रिक

गोविन्द विश्वकर्मा
काठमाडौं, माघ ५ – नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो । नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धु गोल्डकपको जारी श्रृंखलाको पहिलो ह्याट्रिक हो ।नव युगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । त्यस्तै, नेपालको तर्फबाट ५२औं मिनेटमा विशाल राईले गोल गरेका थिए । ७६औं मिनेटमा भने नेपालले गोल खायो । माल्दिभ्सका नासिद अहमदले एक गोल फर्काएका हुन् । नेपाली गोलकिपर विकेश कुथुले तीन सय ४५ मिनेटको खेलपछि गोल खाएका हुन् । नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले उपधिका लागि फाइनलमा शुक्रबार बहराइनको टिमसँग खेल्नेछ । सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै बहराइन फाइनलमा पुगेको हो । दुबै टिम बंगबन्धु गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेका हुन् ।

तराई मधेसमा सरकारले ल्यायो ५० अर्बको यस्तो योजना, छानबिन समिति गठन

गोविन्द विश्वकर्मा
माघ ४, काठमाडौं – सरकारले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । खडेरीका कारण सुख्खाप्रायः अवस्थामा रहेका ती जिल्लामा कृषि उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उद्देश्यका साथ बहुवर्षीय विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कार्यक्रमअन्तर्गत हरेक वर्ष १० अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ । सिँचाइ मन्त्री उमेश यादवले बहुवर्षीय योजनाअन्तर्गत आगामी पाँच वर्षसम्म सो कार्यक्रम सञ्चालन हुने बताउनुभयो । हरेक वर्ष १० अर्बको दरले पाँच वर्षसम्म ५० अर्ब सो कार्यक्रममा खर्च गर्ने तयारी गरिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लामा प्रभावकारी एवम् वैज्ञानिक सिँचाइ प्रणालीको विकास गर्ने र कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको मन्त्री यादवको भनाइ छ । कार्यक्रम सञ्चालन गर्न सिँचाइले अर्थ मन्त्रालयसँग छलफल गरिसकेको छ । मन्त्री यादवले ‘सिँचाइको क्षेत्रमा नमुना परियोजनाका रुपमा ती जिल्लामा कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयसँग छलफल भइसकेको बताउनुभयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक देखिनु भएको छ । सुनकोसी– कमला डाइभर्सन सिँचाइ आयोजना हरेक आवको बजेट वक्तव्यमा छुटेको छैन । विसं २०२७ देखि सो आयोजना बजेट, नीति तथा कार्यक्रममा राखिएपनि हालसम्म अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार तराई मधेसका आठ जिल्लामा खडेरीका कारण धान उत्पादन घटेको छ । धान उत्पादन कम हुँदा खाद्य सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्नेछ । सप्तरीमा गत वर्ष ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएकामा यस वर्ष २१ प्रतिशत, धनुषामा ३०, सर्लाहीमा २२, रौतहटमा ३५, बारामा ५५ र पर्सामा ६० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । खडेरीको मारमा परेका ती जिल्लामा योजनाबद्ध रुपमा स्यालो ट्युबवेल जडान गर्ने कार्यक्रम तराई मधेस सिँचाइ विशेष कार्यक्रममा समावेश गरिनेछ । आठ जिल्लामा हरेक वर्ष स्यालो ट्युबबेल जडान गर्ने कार्यक्रम अगाडि सारिन्छ । तर समस्या जस्ताको तस्तै रहने गरेको छ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने बाध्यता किसानका लागि सधैँ उस्तै छ । कृषि उपज उत्पादनमा कमी हुँदा आठ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ भने जमिन बाँझो राख्ने क्रम पनि बढ्दै गएको छ । तराईका आठ जिल्लामा पूर्ण रुपमा रोपाइँ हुन नसक्दा राज्यले प्रतिवर्ष १५ अर्ब बढीको नोक्सानी बेहोेर्नु परेको छ । कागजमा मात्रै सीमित स्यालो ट्युबबेल र सिँचाइ आयोजना वास्तविक रुपमा किसानको खेतसम्म नपुग्दा समस्या उत्पन्न भएको भन्दै आफूले योजनाबद्ध कृषि विकासको लागि सिँचाइको योजना अगाडि सारेको मन्त्री यादवले बताउनुभयो ।

दोस्रो जनआन्दोनपछिका सबै कार्यक्रमको अनुसन्धान गरिने
मन्त्रालयले दोस्रो जनआन्दोलनपछि हालसम्म सञ्चालन गरिएका सिँचाइ आयोजनाको सम्बन्धमा तथ्यसङ्गत छानबिन गर्ने भएको छ । ‘सिँचाइ आयोजना ‘जनताको खेतमा छ कि दलालको पेटमा’ छ सो को छानबिन गरिन्छ । राज्य कोषको दुरुपयोग कोही कसैले गर्न हुँदैन, पाइदैन’ यादवले भन्नुभयो । अधिकांश आयोजना कागजमा मात्रै रहेको, अख्तियारको दुरुपयोग भएको, जनताको काम नगर्ने, आर्थिक अपचलन गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको छानबिन हुने र दोषीमाथि कारबाही गरिने उहाले बताउनुभयो ।
छानबिन समिति गठन
मन्त्रालयले गण्डक, वाग्मती, सप्तरीको चन्द्र नहर र सुनसरी–मोरङको सिँचाइ आयोजनाको वर्तमान अवस्था, सुधारका उपायलगायत विषयमा स्थलगत अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । सिँचाइ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको सो समितिमा सिँचाइ मन्त्रालयका पूर्वसचिव शीतलबाबु रेग्मी र सिँचाइ विभागका पूर्व महानिर्देशक शिवकुमार शर्मा सदस्य हुनुहुन्छ । समितिलाई १५ दिनको समयसीमा प्रदान गरिएको छ । सो समयसीमाभित्र ती आयोजना सुधार गर्न के–के गर्न सकिन्छ भन्ने आवश्यक सुझाव समितिले दिने र कार्यान्वयनमा लैजाने मन्त्री यादवले बताउनुभयो । नेपाल राष्ट्र बैंकका अनुसार बर्सेनि चामल आयात बढ्दै गएको छ । आव २०७१÷७२ मा करिब रु १५ अर्बको चामल आयात भएको थियो भने चालु आवको हालसम्म पनि चामल आयातको मात्रा बढ्दै गएको छ । आयात प्रतिस्थापन गर्न पनि धान पकेट क्षेत्रको रुपमा रहेको तराईका आठ जिल्लामा प्रभावकारी रुपमा सिँचाइ आयोजना अगाडि बढाउनु आवश्यक देखिन्छ ।

कांग्रेस नेतृत्वमा किचलो, ७ हजारभन्दा बढी सदस्यले महाधिवेशनमा भाग लिन नपाउने

गोविन्द विश्वकर्मा
माघ ४, काठमाडौं – नेपाली कांग्रेसमा देखिएको गुट–उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजारभन्दा बढी सदस्य आसन्न १३औं महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट बन्चित हुने भएका छन् । कांग्रेसमा सभापति सुशील कोइराला ९संस्थापन० र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट बन्चित हुन लागेका हुन् । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लोपटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट बन्चित भएका छन् । यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए । कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपुर्‍याइ आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो । दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदरको स्थितिमा पार्टी नेतृत्वले कैलालीका ६ ओटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पार्टीको  निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नवप्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली कांग्रेसका सभापति नरनारायण शाह र पूर्वसभापति गोविन्दराज जोशी बताहुन्छ ।सोलुखुम्बुमा दुबै गुटको खिचातानीले एक हजार ३५० नयाँ सदस्य १३औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट बन्चित भएका छन् । सोलुखुम्बु कांग्रेसका सभापति आङगेलु शेर्पाले पार्टीमा नयाँ रक्तसन्चारकारुपमा भित्रिएका युवा वर्गको सदस्यता स्थगन गर्दा यसले पार्टीलाई दीर्घकालीन असर पार्ने बताहुन्छ । पार्टीको यस निर्णयले निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई प्रतिकूल असरपार्ने सभापति शेर्पाको भनार्इ छ । सोलुखुम्बु निवासी कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने पार्टी कब्जा गर्ने र पार्टीका इमान्दार, कर्मठ र त्यागी नेता कार्यकर्तालाई पाखा लगाउने मनसायले जिल्लामा अनावश्यकरुपमा क्रियाशील सदस्यता वितरण गरिएको देखिएकाले पार्टी बचाउन त्यस्तो निर्णय गरिएको बताउनुभयो ।
रौतहट कांग्रेसका सभापति कृष्णप्रसाद यादव जिल्लामा संगठन बलियो बनाउन आफूले नयाँ सदस्यता वितरण गरेको भएपनि नेतृत्वको स्थगन गर्ने निर्णयले जिल्लाका कांग्रेस जनप्रति घात भएको बताउनुहुन्छ । अर्कोतिर, रौतहट निवासी अफताव आलम व्यक्तिगत स्वार्थ र विधानविपरीत वितरण गरिएका नयाँ सदस्यता स्थगन गरेर नेतृत्वले पार्टीलाई विधानसम्मत बनाएको दाबी गर्नुहुन्छ । ६ निर्वाचन क्षेत्र रहेको रौतहटमा पार्टीले १, २, ३ र ४ निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यता हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
पार्टीको गत पुस २७ गते बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न गरेको निर्णयसँगै पार्टीमा १३औं महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य संख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । कांग्रेसको १२औं महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३औं महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकैदिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौंमा हुनेछ ।

सडकको प्रतिक्षालयबाट २ बच्चाको उद्धार

गोविन्द विश्वकर्मा
माघ ०४, सुर्खेत – सुर्खेत वीरेन्द्रनगरको पिपिरा चोकबाट २ जना बालकलाई प्रहरीले उद्धार गरेको छ । पिपिराको एक प्रतिक्षालयबाट ३ महिनाको बालिका र वर्ष ६ को बालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोग र जिल्ला बाल कल्याण समिति सुर्खेतको समन्वयमा उद्धार गरिएको हो । करिव ३० बर्षकी महिला केही महिना देखि पिपिरा चोकको प्रतिक्षालयमा वेवारिसे अवस्थामा बस्दै आएकी थिइन् । गरिवीले विहान बेलुका छाक टार्ने र छोराछोरीलाई लत्ताकपडाको जोहो गर्ने पैसा नभएकाले स्थानिय  देउती बज्यै मन्दिरमा विहानै दृ्ेखि माग्न बस्ने महिलाले दिनभर मागेर जम्मा गरेको पैसाले साँझ मदिरा सेवन गर्ने, छोराछोरीलाई बेवास्ता गर्ने भएकाले बालबालीकाको बेहाल भएको थियो । मदिरा सेवन गरेकै कारण ती महिलाले बच्चालाई आफैले दुव्र्यवहार गर्दै आएको पाईएको छ । अलि मानसिक अस्वस्थ जस्तो लाग्ने र प्राय नशामा रहने यि महिलालाई सुत्केरी ब्यथा लागेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत असोज २८ गते राति मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याएको थियो । जिल्ला बाल कल्याण समितिले मंसीरमा बच्चालाई उद्धार गर्ने प्रयास गरेता पनि आमाले दिन इन्कार गरेपछि असफल भएको प्रहरलिे जनाएको छ । पिपिरा चोकको समुदायले आमा नहुदा कपडा लगाईदिने देखि लिएर बच्चाको लागि धेरै सहयोग गरेता पनि समुदायसंग उल्टै झगडा गर्ने, फोहोर शब्द बोल्ने, ढुङ्गाले हान्ने गरेको बताएका छन् । बालीकालाई उद्धार गर्ने क्रममा बच्चा रोएकोले टोलीमा खटिएको महिला प्रहरी जवान पार्वती मल्लले आफ्नो दुध खुआएकि थिईन् । उद्धार गरे पछि ३ महिनाको बालिकालाई सुर्खेत बाल क्लिनिकका डा. नवराज के.सी.ले निःशुल्क स्वास्थ्य उपचार गरी सहयोग गरेका छन् र दुवैै बालक नव जीवन बाल संरक्षण केन्द्र सुर्खेतको संरक्षणमा राखिएको छ ।