सरकार र मोर्चाबिच छलफल

काठमाडौ, कात्तिक २८ । संविधान संशोधनबारे सरकार र मधेसी मोर्चाबिच सोमबार  छलफल हुने भएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताइरहेका बेला मोर्चासँग छलफल गर्न लागेका हुन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संविधान संशोधनका लागि तयार पारेको प्रस्तावबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मोर्चाले आफूहरुसँग भएको तीन बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव नल्याएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला सरकारले संशोधन बारे औपचारिक छलफलका लागि बोलाएको हो । 

मोर्चाले केही दिनदेखि आफ्ना माग पूरा गराउन आलटाल भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने प्रयास गरे पनि दाहालको व्यस्तताका कारण हुन सकेको थिएन । 

आन्दोलन र दलको माग पूरा गर्न सरकारले सीमाङ्कन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषाको विषयमा संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ । 

तर, मधेसी मोर्चाले भने आफूले सरकारलाई बुझाएको ११ बुँदे मागअनुसार संशोधन हुनुपर्ने बताइरहेको छ । 

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने दिन

काठमाडौ, कात्तिक २९ । आज सोमबार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । 


पछिल्लो ६८ वर्षमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार आज बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दानजिक आउने छ । 

त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटर पर हुनेछ । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । 

नियमित पूर्णिमामा भन्दा आज चन्द्रमाको आकार १४ प्रतिशतले ठूलो देखिने छ । अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो पनि हुनेछ । 

यस्तै दृष्यका लागि अब सन् २०३४ को नोभेम्बर २५ सम्म कुर्नुपर्ने खगोलविदहरुले जनाएका छन् ।