कालीकोटमा पहिलो पटक सामुदायिक पुस्तकालय

गोविन्द विश्वकर्मा
माघ ०२, कालीकोट – यस जिल्लामा पहिलो पटक सामुदायिक पुस्तकालयको स्थापना हुने भएको छ । मान्ममा साहित्यकारले पहिलो पटक पुस्तकालय गर्न लागेका हुन् । जिल्लामा साहित्य तथा कला क्षेत्रमा काम गर्दै आएको कला नेपालले पुस्तकमार्फत ज्ञान सिप बाँड्न पुस्तकालयको स्थापना गर्न लागेको कला नेपालका अध्यक्ष एवम् साहित्यकार कृष्णराज धमालाले बताउनुभयो । उहाका अनुसार जिल्लाभित्र तथा बाहिरबाट ५०० पुस्तक सङ्कलन गरी सदरमुकाममा जम्मा पारिएको छ । उहाले ‘सिङ्गो कर्णाली र खस भाषाको थलोको रुपमा चिनिएको संस्कृति रक्षाका लागि पनि अध्ययनको खाँचो भएको बताउनुभयो ।’ जिल्लामा क्रियाशील साहित्यकार र अन्य निकायबाट पुस्तक सङ्कलन गरिएको हो । वलपरासीलगायतका ठाउँबाट पनि पुस्तकका लागि हातेमालो गर्ने योजना बनाइएको छ । पुस्तकालयमा कृषि, राजनीति, दर्शन, मनोरञ्जनलगायतका विधासम्बन्धी किताब राखिने छ । विभिन्न निकायसँग समन्वय गरी माघ महिनाभित्र पुस्तकालय सञ्चालनमा ल्याइने साहित्यकार दुर्गा काफ्लेले बताउनुभयो ।

सुर्खेतमा बहुबिवाह मुद्दामा एक जोडी पक्राउ

गोविन्द विश्वकर्मा

पुस २९, सुर्खेत - बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक जोडीलाई पक्राउ गरेको छ । जेठी श्रीमती अमृता सुनारले दिएको जाहेरीका आधारमा वीरेन्द्रनगर नगरपालिका १३ का मोतिलाल सुनार र उनकी कान्छी श्रीमती चन्द्रा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित अमृताले दिएको किटानीका आधारमा मोतिलाल र चन्द्रालाई वीरेन्द्रनगर १३ एयरपोर्ट नजिकवाट  पक्राउ गरिएको हो । उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर सुर्खेत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

चिनाउन सके पंचकोशी क्षेत्र नेपालकै पहिलो गन्तब्य हुनेछ तिर्थयात्री

गोविन्द विश्वकर्मा
पुस २८, दैलेख –  दैलेखमा रहेको पंचकोशी तिर्थस्थललाई चिनाउन सकेमा नेपालमै पहिलो तिर्थस्थल हुने विदेशी तिर्थयात्रीहरुले दावी गरेका छन् । पंचकोशी तिर्थमा आएका विदेशी तिर्थयात्रीले तिर्थ पुरा गरेपछि यहाँको धार्मीक क्षेत्र सवैको नजरमा आर्कषण रहेको दावी तिर्थयात्रीहरुले गरेका हुन् ।  पंचकाशी क्षेत्र महत्वपूर्ण, सुन्दर र निकै राम्रो रैछ अमेरिकन नागरिक तथा तिर्थयात्री विलियम पि. फोब्र्सले दैलेख सदरमुकाममा रिपोर्टर्स क्लव दैलेखले गरेको पंचकोशी क्षेत्रको अवस्था विषयक साक्षात्कार कार्यक्रममा दैलेखकाधार्मीक तथा बैज्ञानिक दुवै पर्यटकहरुका लागि खुल्ला ऐना झै भएको बताउनुभयो । पत्रपत्रिकामा आफुले यहाँको धार्मीक क्षेत्रका बारेमा पढ्दै आएपछि अहिले घुम्ने अवसर पाएर धन्य भएको उहाले बताउनुभयो । पहिलो पटक यहाँको तिर्थ गरेर आफुले धेरै कुराको अनुभव गरेझै लाग्यो । विदेशी तिर्थयात्री फोब्र्सले प्रचारप्रसार गर्न सके नेपालकै पहिलो तिर्थस्थलका रुपमा चिनिने बताउनुभयो । धार्मीक क्षेत्रमा प्रकृती मनमहोक दृश्य कम्ती राम्रो छैन् । यहाँ आउने सवैले आफुले तिर्थ दोहोराउने छन् र अरुलाई पनि आउन प्रेरित गर्नेछन् । पंचकोशी रुचीपूर्ण, खोजपूर्ण तथा मनको शान्तीका लागि आउनैपर्ने स्थान भएको उहाको भनाई । पंचकोशी क्षेत्रको १० वर्षदेखी प्रचारमा एक्लो रुपमा चिनाउन लागेका धार्मीक सांस्कृती तथा ऐतिहासका जानकार विश्व केसीले अहिले जिल्लाबासीहरुकै सहयोग पाएमा खुसी छन् । दैलेखलाई चिनाउन कुनै पनि कुराको अपुग छैन् । ऐतिहासका जानकार केसीले २५ जातजातिको उद्गम स्थलदेखी धार्मीक, सांस्कृतीक तथा ऐतिहासिक स्थलका साथै प्राकृतिक सुन्दरता समेत रहेको बताउनुभयो । नेपाली भाषाको पहिलो शिलालेखदेखी जलवायूले साथ दिएको सल्लो र साल समेत दैलेखमा एकै ठाँउमा देख्न सकिने केसीको भनाई थियो । दुल्लुमा रहेको किर्तिखम्वले खस राज्यको ईतिहास समेत चित्रण गरेकाले यहाँ आउनेहरुका लागि दैलेख सिक्ने थाले भएको केसीले बताउनुभयो।

स्थानीय निकायको निर्वाचन मिति चाँडै तय गर्ने उपप्रम थापा

गोविन्द विश्वकर्मा
पुस २८, काठमाडौ – उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको सत्ताइसौँ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम सार्वजनिक समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा थुप्रै समस्या आएकाले त्यसलाई सरकारले चाडै सम्बोधन गर्ने बताउनुभएको हो । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री थापाले भन्नुभयो, “स्थानीय निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी गर्नु होला ।”
उहाँले एक वर्षभित्र कोटेश्वरको तीनकुनेमा विशाल बौद्ध स्तम्भ निर्माण गर्न र महानगरका सम्पूर्ण सडकमा सडक बत्तीको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले आफ्ना काम कारबाहीलाई पारदर्शी एवम् जनताको अपेक्षाअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आगामी दुई वर्षभित्रमा सडकको सञ्जालले नछोएका ५०० गाविसमा सडक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले सोहीअनुसारको योजना तथा कार्यक्रम बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले देशका विभिन्न समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दल र त्यहाँ आबद्ध विविध क्षेत्र, जाति, भाषा धर्म मान्ने सभासद्को साझा सहमतिको दस्तावेज संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभयो । केही व्यक्ति तथा समुदायले जारी संविधानप्रति असन्तुष्टि जनाउनु सामान्य भएको बताउँदै मन्त्री थापाले तराईमा जारी आन्दोलन तन्काउनुको कुनै अर्थ छैन भन्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने सांसद दीपक कुँइकेल, रामेश्वर फुयाँल, रामवीर मानन्धर, ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसीले जारी विधानको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले महानगरको एकीकृत विकास र पुनःनिर्माणका लागि सबै राजनीतिक दल र स्थानीयस्तरमा कार्यरत सामाजिक संस्थाको एकता आवश्यक भएकाले त्यसतर्फ सबैको जोड हुनुपर्ने बताउनुभयो । 
त्यसैगरी, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र पूर्व मुख्यसचिव लीलामणि पौड्यालले स्थानीय निकाय नै लोकतन्त्रको पाठशाला भएकाले दिगो विकासका लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महानगरका विषयमा समाचार लेख्दै आएका ‘नयाँ पत्रिका’का पत्रकार टेकराज थामी, ‘अन्नपूर्ण पोष्ट’का गोपीकृष्ण ढुङ्गाना, ‘नागरिक’का ज्ञानु न्यौपाने र ‘रातोपाटी’ अनलाइनका राजेश भण्डारीलाई जनही रु १५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी, महानगरपालिकामा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी डा उत्तरकुमार रेग्मी, हरिबहादुर कुँवर, धनपति सापकोटा, सुलोचना श्रेष्ठलगायतलाई पुरस्कृत गरिएको थियो भने महानगरमा अनवरतरुपमा सेवा गर्दै आएका कर्मचारीलाई ‘दीर्घसेवा पदक’बाट सम्मान गरियो ।

प्रदेश नं.६ को कार्यकर्ता प्रशिक्षण सम्पन्न, एमाओवादीभन्दा नयाँ शक्ति अर्को हुनै नसक्ने नेताहरुको भनाई

गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत–एमाओबादीको एनेकपा (माओवादी) को प्रदेश नं. ६ को आन्तरिक प्रशिक्षण कार्यक्रम आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिको नेतृत्व एमाओवादीले नै गरिरहेको भन्दै नेता तथा कार्यकर्ताहरुलाई धैर्य गरेर बस्न आग्रह गरेका थिर्नुभएको हो । प्रदेश नं. ६ का विभिन्न जिल्लाका पार्टी अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरिसकेपछि आफ्नो भनाई राखेका अध्यक्ष दाहालले लामो समय एमाओवादीबाट छुट्टिएर नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिको भनाइ राखेका थिए । नयाँ शक्तिका सम्बन्धमा अध्यक्ष दाहालले नेता तथा कार्यकर्ताहरुलाई कतै नडगमगाएर बस्न आग्ह गर्दै नयाँ शक्ति कस्तो बन्छ भन्ने कुरा त एक वर्षै थाहा भइहाल्ने बताउनुभयो । अहिले केही मान्छेहरु नयाँ शक्ति भनेर त्यसकै पछाडि लागेको भएपनि अहिले फर्किएको भन्दै नयाँ शक्तिको औचित्य नहुने बताउनुभयो । उहाँले अबको नयाँ शक्ति भनेकै एमाओवादीभएको भन्दै सबै पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । जिल्लाका अध्यक्षहरु र अन्य नेता तथा कार्यकर्तारुलाई पार्टी निर्माण गर्न निर्देशन गर्दै अध्यक्ष दाहालले अब एमाओवादीलाई नयाँ बनाएर देखाउने र एमाओवादी नै देशको पहिलो शक्ति हुने बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ६ का विभिन्न जिल्लाका अध्यक्षहरुले दाहाललाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रशिक्षणमा एमाओवादीका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, महासचिव कृष्णबहादुर महारा, प्रदेश नं. ६ का इन्चार्ज जनार्दन शर्मा लगायतको सहभागिता थियो ।

अख्तियारको टोली मलेसियातर्फ लाग्यो

गोविन्द विश्वकर्मा
पुस २८, काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । आयोगका सहसचिवको नेतृत्वमा रहेको अनुसन्धान टोलीले श्रमिकले समस्या भोग्नुपरेको मुख्य बिन्दुमा नै गएर आठ दिनसम्म स्थलगत अध्ययन अनुसन्धान गर्ने प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो । उक्त टोलीमा आयोगका दुई अनुसन्धान अधिकृतका अतिरिक्त वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकसमेत रहेका छन् । टोलीले नेपाली कामदार कार्यरत कम्पनी, विभिन्न अभियोगमा हिरासतमा रहेका नेपाली कामदार, श्रमशोषणमा परेका कामदार तथा सम्बद्ध निकायसँग पनि छलफल तथा अन्तरक्रिया गर्नेछ ।
मलेसिया नेपाली कामदार रोजगारीका लागि जाने प्रमुख गन्तव्य हो । सो मुलुकमा १० लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ । समस्यामा परेका नेपाली कामदारलाई निःशुल्क कानुनी परामर्श तथा उपचार दिलाउने काममा सहयोग पु¥याउन मलेसियाली बार एसोसियसनसँग समेत टोलीले पहल गर्नेछ । प्रवक्ता पुस्करकाअनुसार नेपाली ‘एजेण्ट’बाटै ठगीमा परेको, शोषण व्यहोर्न बाध्य तथा यौनजन्य हिंसाबाट प्रताडित हुने कार्य कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि टोलीले अनुसन्धान गर्नेछ । रोजगारीको प्रमुख गन्तव्यका रुपमा परिचित मलेसियामा कार्यरत नेपाली कामदार सबैभन्दा बढी नेपालीबाटै ठगीमा परेका छन् । रोजगारदाता निकायले नै कामदारलाई श्रम शोषण गर्ने गरेको तथा त्यसमा नेपालीको नै सङ्लग्नता रहेको पाइएको छ । समस्यामा परेका नेपाली कामदारले नै आयोगलाई विभिन्न माध्यमबाट उजुरी गरेपछि आफूहरुको कार्यक्षेत्र भित्रै नै रहेर स्थलगत अनुगमनमा जान लागेको जनाएको छ । आयोगले कागजातविहीन अवस्थामा रहेका, रोजगारीमा जाने क्रममा भएको ठगी, अपराधीकरणको सिकार व्यहोर्नुपरेका, अनाहकमा जेल सजाय भोगीरहेका कामदारलाई कसरी स्वदेश फर्काउन सकिन्छ सो बारेमा समेत अध्ययन गर्नेछ । आयोगमा नेपाली दूतावासले श्रमिकको पीडा समाधान गर्न आवश्यक पहल नगरेको, श्रम सहचारीले तोकिएको जिम्मेवारी पूरा नगरेको जस्ता उजुरी परेको जनाइएको छ । कानुनी सहायता श्रमिकमैत्री नभएको, राहत तथा उद्धारमा ध्यान नदिएको, मलेसियाका रोजगारदाता कम्पनीले विभिन्न कारणले मृत्यु भएका व्यक्तिलाई पनि प्राकृतिक मृत्यु भएको भनी कागजात बनाउने गरेको र मृतकलाई स्वदेश ल्याउन हुँदै आएको झन्झटलाई सामान्यीकरण नगरेको उजरीमा देखिएको प्रवक्ता पुस्करको भनाइ छ । कोप्रासी नामक एजेन्टले नक्कली कागजात बनाई नेपाली कामदारलाई ठगी गरेको भन्ने उजुरी पनि आयोगमा परेको छ ।
यसैबीच, आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा कार्यरत मलेसिएन एन्टी करप्सन कमिसनको प्रमुखको निमन्त्रणामा आगामी माघ ४ गते मलेसिया जान लागेका छन् । भ्रमणका क्रममा प्रमुख आयुक्त कार्कीले आयोग र मलेसिएन एन्टी करप्सन कमिसनबीच भ्रष्टाचार नियन्त्रणमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्रवक्ता पुस्करको भनाइ छ । अन्तर्राष्ट्रिय साझा निकायमा दुई मुलुकबीच समान धारणा बनाएर अघि बढ्न हस्ताक्षरसँगै बाटो खुल्ने जनाइएको छ । प्रमुख आयुक्त कार्कीको मलेसिया भ्रमणको कार्यक्रम हालै नेपाल सरकार मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ । मलेसियामा रहँदा प्रमुख आयुक्त कार्कीले मलेसियाली मानव संशाधन मन्त्रीलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

एमाओबादी अध्यक्ष प्रचण्ड सुर्खेत आउदै, कार्यकर्ता प्रशिक्षणमा ब्यस्त रहने

गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज सुर्खेत आउँदैहुनुहन्छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बनाउने भन्दै पार्टी छोडेपछि पार्टी निर्माण गर्ने घोषणा गरेका प्रचण्ड त्यसक्रममा सुर्खेत आउन लाग्नुभएको हो । अब एमाओवादीलाई नै नयाँ शक्तिका रुपमा देशको एक नं. टार्पी हुने बताएका प्रचाण्डले सुर्खेतमा प्रदेश नं. ६ का पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुहुनेछ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका दाङ, बाँकेमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरु सकेर दाहाल लगायतको केन्द्रीय पदाधिकारीको टिम भेली मंगलबार) सुर्खेत आउन लागेको एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले जानकारी दिनुयो । दाहालका साथमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री तथा पार्टी महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरु सुर्खेत आउने भएका छन् । आज हुने प्रशिक्षण कार्याक्रममा प्रदेश नं. ६ का दश जिल्लाका जिल्ला स्तरका नेता, भातृ संगठनका अध्यक्ष र केन्द्रीय सदस्य, कम्पनी कमाण्डर भन्दा माथिका पूर्व लडाकुहरु, पार्टीका जिल्ला सल्लाहाकारहरुको सहभागिता रहने एमाओवादी सुर्खेतले जनाएको छ । ६ नं. प्रदेशका दश जिल्लाका नेता तथा कार्यकर्ताहरु केही सोमबार नै आइसकेका छन् भने केही आज (मंगलबार) नै वीरेन्द्रनगर आउने एमाओवादी सुर्खेतका अध्यक्ष विष्टले जानकारी दिनुभयो । प्रदेश नं. ६ को राजनीतिक प्रशिक्षण सुर्खेतमा हुने भएपछि केही दिन अघी नै यस क्षेत्रका इन्चार्ज जनार्दन शर्मा सुर्खेतमा आउनुभएको छ । शर्माले सुर्खेतमा आएर पार्टीका विभिन्न पेसागत संगठनहरुसंग साक्षात्कारसमेत गर्नुभएको छ । स्रोतका अनुसार इन्चार्ज शर्माले यस क्षेत्रका अन्य माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गर्नुहुनेछ । शर्माले अब प्रदेश नं ६ मा माओवादी एउटा मात्रै हुने भन्दै सबैसंग छलफल चलाएको स्रोतको भनाइ छ । उहाले बैद्य नेतृत्वका माओवादी नेता, कार्यकर्ताहरु र नेत्रविक्रम चन्द माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गरेको स्रोतको भनाइ छ ।

मनकम्पन

विनिता दाहाल 
मध्यरात छानाबाट चुहिएको शीतको थोपा निधारमा ठोक्किएपछि सानो छोरा झसंग ब्युँझियो । त्यहीबेलादेखि सीताका आँखा फेरि लाग्न पाएका छैनन्।  छोरोलाई आफू सुतेको ठाउँपट्टि सारेर एकछिन दूध चुसाउँदै थुम्थुमाएपछि ऊ कोकोहोलिन पाएन। छोरोले निद्राकै सुरमा कोल्टे फेरेपछि सीता बाहिर निस्किई । भूकम्प गएपछि सरकारले ओत लाग्न दिएको पालमा कहाँनेर प्वाल छ, उसले त्यसैबाट पूर्णिमाको उज्यालोमा टहराभित्रबाटै बाहिर छ्यांग देखिएको आकाश नियाली। शीतका थोपा चुहिएको रोक्न, वर्षामा रोपाइँ जाँदा ओढ्ने गरेको स्यारलेटले थपक्क छोपिदिई । मध्यरात हुँदा बल्लबल्ल तातेका उसका हातखुट्टा फेरि उत्तरका हिमालबाट आएको स्याँठले हिउँ छोएर आएजस्तै चिसा भए । अघि छोरो सुतेकै ठाउँमा गएर निदाउन खोजी।
थोपाथोपा शीत झरे पनि थाङ्नो भिजेर लफ्रकै भइसकेको रहेछ । उसले छोराको अनुहारमा शीत परेपछि मात्रै थाहा पाएकी रहिछ। अब यो रात कसरी काट्ने होलारु कठ्यांग्रिदो जाडोले शरीर मात्रै होइन, केही दिनयता गाउँलेले काट्न थालेका कुराले उसको मन उत्तिकै चिसो भएको छ । बारीको तल्लो पाटोमा अलिकति तरकारी लगाउनुपर्यो भनेर केही दिनअघि ऊ ढुंगेधारामा पानी भर्न गएकी थिई। गाउँकी एक जना जेठानी दिदीले बाटोमा भेटेर साउती गर्दै उसको कान भरिदिई, ‘अहिले ससुरा बुहारी एउटै ओछ्यान ला’एर सुत्छौ रे भनेर गामभरि मान्छे कुरा काट्न थालेका छन्। मैले हिजो हाम्रा घरकाले भनेपछि था’पाएँ। तिमी त्यस्ती छैनौ। तर होस् गरेस्, गामठाम यई हो।’ त्यति सुनेपछि उसको मनमा उकुसमुकुस हुने गरी कुरा खेल्न थालेका छन्। माइतीमा पनि यो कुरा पुर्याए होलारु अब कुन मुख लिएर गाउँमा मेलापात गर्न जाउँलारु भूकम्पले ओत लाग्ने छानोमात्रै छिनेन, आफ्नो अस्मिता माथि अरूलाई कुरा काट्ने ठाउँसमेत दिएको छ । हुन त भूकम्पले गाउँभरिकै घर ढलेर सबैको टहराकै बास छ तर उनको जस्तै बाध्यतामा गाउँका अरू छैनन् । ऊ मनमा अनेक कुरा खेलाइरहेकी थिई । पानी भर्न आएका गाउँका अरू महिलाले मुखामुख गर्दै पानी भरे। वर छँदा केही भनेनन्, पानीको गाग्री बोकेर अलि माथ्लापट्टि कान्लामा पुगेपछि धारे हात लगाउँदै भने, ‘भगवानको डरभर नभएपछि कसको के लाग्छ ?’ 
सीतालाई मनमनै लाग्यो, सासू निकै जाति थिइन्, भूकम्पले छिट्टै लग्यो। भूकम्पमा नमरेकी भए अहिले गाउँलेका यस्ता कुरा सुन्नुपर्ने थिएन। भूकम्पले घर भत्काउँदा गोठमा भैंसीलाई कुँडो खुवाउन पुगेकी सासू गाईको किलोसँगै मरेकी भेटिइन्। त्यसैबेलादेखि ससुराको पनि सुर छैन । भूकम्प नआउँदै आर्थिक जोहो गर्न भन्दै कतार पुगेका श्रीमानले छुट्टी मिलाएर घर फर्कन पाएका छैनन्। भूकम्पपछि के कस्तो भयो भनेर खबर गर्दा उनले रुँदै भनेका थिए, ‘आमाको काजक्रिया गर्न पनि नपाउने भएँ। बाँचेका बाको राम्रो हेरबिचार गर्नू ।’  बिहान बेलुका नुनतेल गर्न दूध बेचेर पुग्ने भैंसी पनि गोठ भत्किएर दाम्लाको दाम्लै मर्यो। यो वर्ष दशा पनि सबै खुशी बढारेर लैजाने गरेर आएको रहेछ क्यारे ।  उसलाई लागेको छ, अहिले मध्यरात १ बजेको हुनुपर्छ । सुत्न पुग्ने अरू ठाउँ यो सानो टहरामा अन्त छैन। राति जाडो नहोस् भनेर अगेनामा झोसेको एउटा मुडो पुतपुत धुवाइरहेको छ। ऊ चार जना छोराछोरीलाई भएका सिरक ढस्नाले गुम्म छोपिदिएर मजेत्रोको सप्को देब्रे काँधमा हालेर अगेनाछेउ सरी। अनुहारभरि मुझैमुझा परेका ससुरा त्यतै फर्किएर निदाइरहेको उसले आगोको थोरै उज्यालोमा देखी । भूकम्प गएपछि घर भन्नु टहराको यही एउटा खोपोजस्तो ठाउँ छ । जहाँ बीचमा एउटा अगेना छ । त्यसको देब्रेछेउ सीता आफ्ना साना छोराछोरी च्यापेर सुत्छे। दाहिनेछेउ अगेनाकै अढेश लागे जसरी ससुरा बुढा निदाउँछन् । उनको अनुहार हेरेर उसलाई लाग्यो, बाको उमेर पुगेका यी बुढासँग गाउँलेले मेरो नाम जोडेर के पाप चिताएका होलान् ? श्रीमति मरेपछि ससुरा पनि दिनरात नभनी जाँडमात्रै खान्छन्। सुर गुमाएजस्ता भएका छन् । कहिले नातिनातिना, बुहारीले देख्छन् भन्ने पनि ख्याल नगरी टहराकै छेउतिर पिसाब फेर्न जान्छन् । ऊ के के सोच्दै थिई, बुढा ख्वाकख्वाक गरेर अर्कोपट्टि कोल्टे फर्किए । घुँडामा दुवै हात बाँधेर दाहिनेपट्टिका ससुरालाई हेर्दा उसको देब्रे आँखाबाट तर्रर आँशु झर्यो । मनभित्र परेको गाँठो कहिलेकाहीँ त भल्भली बगेका आँशुले पनि फुक्दैनन् । जेठानी दिदीको कुरा सुनेपछि भक्कानिएर श्रीमानसँग फोनमा कुरा गर्छु भनेर तल्ला घरे माइलामार्फत खबर पठाए पनि उनको फोन आएको छैन । काममा समय मिलाउन निकै गाह्रो पर्छ भन्थे । मिलेको भए त उनले पनि गरिहाल्थे ।

भूकम्प नजाँदै, गाउँमा उब्जनी पनि हुन छाड्यो । वर्षैपिच्छे जन्मिएका छोराछोरीलाई पढाइलेखाइ गराउन गाह्रो हुने भयो भनेर रमेशले एक साँझ श्रीमतिलाई सोध्यो, ‘मेरो उमेर छँदैछ, तँ घर व्यवहार टार्छु भन्ने आँट गर्न सक्छेस् भने म विदेश गएर चार–पाँच वर्ष कमाएर आउँछु । तेरै दाइले पनि विदेश गएर अहिले गाउँमै लोभलाग्दो घर बनाए, छोराछोरीलाई राम्ररी पढाएका छन् । तैं भन्दैथिइस् भाउजुले नयाँ गहना पनि जोडिछन् भनेर। मिल्यो भने म पनि कुरा गरेर भएको अलिअलि पैसा खर्च गरेर विदेश जान्छु ।’ श्रीमानले त्यति भनिरहँदा उसको कल्पना कतिबेला हो, चार–पाँच वर्षपछिका सुनौला दिनतर्फ पुगिसकेका थिए । फराकिलो आँगन भएको पक्की इटा र सिमेन्टको घर। वरिपरि बारीमा लहलहाउँदा तरकारी। गोठमा रहरलाग्दा गाईबाख्रा। हुर्किएका छोराछोरी, सुकिला लुगा लगाएर स्कुल जाँदै गरेका। पिँढीमा सासू–ससुरा तमाखु तान्दै गरेका। अनि आफ्नो गलामा झलक्क देखिने नौगेडी । उसले यस्तै कल्पना गरेर भनेकी थिई, ‘आमाले घरको भातभान्छा गर्लिन्, म ज्याला गरेर पनि छोराछोरी पढाउँछु, घर खर्च टार्छु तपाईं जाने मन बनाउनुस् । अर्को वर्षदेखि त तपाईंले नै पनि त पैसा पठाउन थाल्नुहोला ।’ सपनाले मान्छेलाई कति धेरै बल दिन्छ । संसारै जितौंला जस्तो । विपनाले त्यसैलाई एक निमेषमै खल्र्यामखुर्लुम्म झारिदिन्छ । भूकम्प गत वैशाखमा विपना बनेर आइदियो । उसले सपना अझै देख्न छोडेकी छैन । मनमा कुरा खेलाउँदै थिई, माइलो छोरो सपनामै बर्बरायो– नयाँ स्वीटर नकिन्दिने भए म स्कुलै जान्न । ऊ जुरुक्क उठेर छोराको खुट्टा छुन गई । चिसोले फुटेर खस्रा भएका पैताला सुम्सुम्याउँदै थिई, दाहिने आँखाबाट फेरि तर्रर आँशु झर्यो। पोल्टाको थैली झिकेर हेरी। अस्ति माइती गएका बेला आमाले दिएको हजारको नोट अलि लेसिँदो भएछ। धेरैपटक खोतल्दैमा बढ्ने त होइन, तैपनि घरमा गाह्रोसाह्रो पर्नेबित्तिकै उ एकपटक त्यही नोटलाई चिहाउँछे । सहरबाट आएकाहरूले अस्ति ओढ्नलाई नयाँ मन्डी ल्याइदिएका थिए । सीताको परिवारको भागमा दुईवटा परेको थियो । उनले एउटा ससुरालाई र एउटा आफूसहित छोराछोरीलाई ओढाउने गरेकी छन् । अस्ति त्यही मन्डीको छेउमा आगो सल्किएर झन्डै अनिष्ट नभएको । पहिला त यो माइलो छोरो हजुरबासँग सुत्न भनेपछि हुरुक्कै हुन्थ्यो । आजकाल गनाउँछ सुत्दिन भन्छ । न्यानो बाँढ्न आउनेले सिरक मात्रै नभएर बालबच्चालाई हुने न्याना लुगा, पानी चुहिँदा छोप्न प्लास्टिक अनि टोहोरामा कोठा बार्न मिल्ने केही ल्याइदिए पनि त हुन्थ्यो भन्ने उनलाई आश लागेको थियो । फेरि त्यही आशले बाँच्न सिकाए पनि सीतालाई आफैंले कर्म गर्नुपर्छ भन्ने लाग्छ । दुःखका पहाडै देखेकी उनकी आमाले सधैं उनलाई हाड खियाउनुपर्छ, पसिना बगाउनुपर्छ भनेर सिकाएकी थिइन् । सासूले रिस उठेका बेला दुई–चार बचन नराम्रो गरे पनि गाउँमा अन्य बुहारीले जस्तो उनले बर्तन खानुपरेको थिएन । अहिले तिनै सासू भएको भए गाउँलेका नानाथरी आरोप सहनुपर्दैनथ्यो भन्ने लागेको छ । आखिर गाउँलेले कुरा काट्न पाएका पनि यो टहरोमुनिको एउटै खोपामा हामी सबै परिवार सँगै सुत्छौं भनेर त हो ।
ससुराकी श्रीमति बितिन्, मेरा पति कतारमा छन् । यस्तै यस्तै कुरा खेलिरहँदा उनको कुनबेला आँखा लाग्यो । सपनामा उनले आफूलाई गाउँले ससुरासँग सल्किएको भन्दै लखेटेको देखिन् । भीरैभीरको बाटो दगुरिरहँदा अगाडि एउटा साँढे आइपुग्यो । त्यही साँढे जसलाई सीताकी सासूले अघिल्लो वर्ष बारीको कोदो फाँड्यो भनेर लखेटेकी थिइन् । अगाडि जाउँ भने अजंगको साँढे अहिल्यै हानुँला भनेर बसेको थियो, फर्कौं भने गाउँलेहरू ‘यसलाई पापधर्मको ख्याल भएन’ भन्दै लखेट्दै आइरहेका थिए । सीतालाई एक निमेष त यो प्राण यही गए पनि हुन्थ्यो भनेजस्तो लाग्यो । त्यत्तिकैमा निस्सासिएर सपनाबाट ब्युँझी । रातभर कठ्यांग्रिदो जाडो भए पनि सपनाबाट ब्युँझिदा उसको पूरै अनुहार पसिनाले भिजेको थियो । यस्तो सपनाले बिपनामा के अर्थ राख्ला ऊ सोच्दै थिई । उसले अगेना वरिपरि ससुराले नातिनातिना वरपर लिएर पानी तताइरहेको देखी । सपनाले आत्तिएर उठेकी बुहारीलाई ससुराले नजिकै आएर पानीको अंखरो दिए । उनलाई लाग्यो गाउँलेले जति कुरा काटे पनि होस् हुँदा, ससुरा आफ्नै बाउजत्तिकै जाति छन् ।  ठाडो घाँटी लगाएर कलकल एक अंखरा पानी पिएपछि उनले ससुरालाई पोल्टोबाट त्यही एक हजार रुपैयाँ दिँदै भनिन्, ‘बा, यो कालेको स्कुलमा स्विटर छैन भनेर सरले गाली गरेको छ रे, गाउँमा कसैलाई भनेर यसलाई एउटा स्विटरचाहिँ ल्याइदिन पाए हुन्थ्यो ।’ ससुरा आफ्नो काखका सानो नाति उसको काखमा राखिदिएर हिँडे । उसले अलि ठूलो स्वर गरेर फेरि भनी, ‘पैसा बच्यो भने छानामा हाल्ने पाल पनि ल्याइदिन भन्नू है ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ७ पदाधिकारी भ्रष्टाचारी ठहर, उपकुलपतिले सफाइ पाए

गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत – विशेष अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार ठकेन्द्र गिरीसहित सात पदाधिकारीलाई भ्रष्टाचारी ठहर गरेको छ । उपकुलपति देवकोटासहित नवराज कँडेलसहित ९ जनाले भने सफाइ पाएका छन् । विशेषले विश्वविद्यालयको रकम भ्रष्टाचार गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै जरिवाना र कैद हुने फैसला सुनाएको हो । विशेषले रजिष्ट्रार गिरीलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार जरिवाना हुने फैसला सुनाएको छ । उप रजिष्टार जगन्नाथ पौडेलका अनुसार भ्रष्टाचारी ठहर हुनेमा सुचन गौली, गणेशबहादुर राउत, पारसमणी गिरी, जिवनकुमार थापा गगनसिंह बोहोरा र लेखा नियन्त्रक कमल केसी रहेका छन् । विशेषले गौलीलाई ७ महिना कैद र ३ लाख १७ जरिवाना, राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार, गिरी ६ महिना कैद र १ लाख ७८ हजार, थापा ६ महिना कैद र १ लाख ६ सय ८७ ,बोहोरा ६ महिना कैद र १ लाख ५८ हजार र लेखा नियन्त्रक केसी ७ महिना कैद तथा २ लाख ७३ हजार जरिवाना हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, उपकुलपति देवकोटासहित नवराज कँडेल, केशरशिंह राना, श्रीरामप्रसाद उपाध्याय, मस्तवहादुर गरम्जा, रामचन्द्र अर्याल, पिताम्वर ढकाल, लालमणी आचार्य, गणेशबहादुर केसीले भने सफाइ पाएका छन् ।

बाबुरामले पार्टी परित्याग गरेर जनयुद्ध र सहिदप्रति घात गरे: प्रचण्ड

गोविन्द विश्वकर्मा
पुस २७, काठमाण्डौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताउनुभएको । सोमबार राजधानीमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताका लागि सबैभन्दा भरपर्दो शक्ति एमाओवादी नै भएको बताउनुभयो । ‘यो समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला हो ।’ प्रचण्डले भन्नुभयो, ‘गलत विचारको भण्डाफोर गर्दै संगठन सुदृढ गर्ने अभियानमा जोडदार रुपले लाग्नुपर्छ ।’ उहाले बाबुराम भट्टराईले पार्टी मात्र त्याग गरेको नभई माक्सवाद, जनयुद्ध, सहिद, बेपत्ता योद्धा र वर्गलाई नै त्यागेको दावी गर्नभयो । विगतमा संविधान निर्माण गर्ने काम पहिलो प्राथमिकतामा पारिएकोले संगठनात्मक कामले गति लिन नसकेपनि संविधानको कार्यान्वयनसँगै संगठनात्मक कामलाई पहिलो प्राथमिक कार्यसूचीमा राखेको उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले विचार, रणनीति, कार्यनीतिबारे पार्टीमा स्पष्टता आएको बताउँदै यसै अनुरुप संगठनलाई व्यवस्थित गर्न ३ महिने संगठन सुद्धिकरण अभियान संचालन गरिएको जानकारी दिनुभयो । ‘अखिल नेपाल टे«ड यूनियन महासंघ पनि समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा केन्द्रीत हुनुपर्दछ ।’ प्रचण्डले भन्नुभयो, ‘मजदुर संगठनलाई समाजवादी क्रान्तिको औजारको रुपमा विकास गरेर समाजवादी क्रान्ति अनुकूल हाम्रो सोच र कार्यशैली विकास गर्नु पर्छ ।’

पूर्वराजालाई ओलीको जवाफ घरबार गरेर बस्न दिइन्छ

गोविन्द विश्वकर्मा
पुस २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउने’ जवाफ दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीजयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका थिए । त्यसको भोलिपल्ट राप्रपा नेपालले पृथ्वी जयन्तीकै अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई जवाफ फर्काएका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रमा इतिहासमा योगदान गरेका व्यक्तिहरुको सन्दर्भिकता हुँदैन भन्ने नहुने बताए । कम्प्युटर र ल्यापटप आयो भन्दैमा हिजो कापी कलमले लेखिएको महाभारत र रामायणको सन्दर्भिकता नसकिने भन्दै प्रधानमन्त्री ओलीले भने (‘आज हामी जहाँ छौं, त्यो ठीक छ । आजको सन्दर्भ भनेको दरबार छाड्नेले घरबार गरेर बस्न पाएकै छ, पाउँछ ।’ प्रधानमन्त्री ओलीले लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुनेसमेत बताए । ‘कुनै हिसाबले लोकतन्त्र भन्दा यसको अर्थ यो होइन कि एउटा लोकतन्त्रभन्दा तानाशाही, जहानियाँ, पारिवारिक वा जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिन्द्धान्त छ, यो उपयुक्त पो हो कि भन्ने निष्कर्ष निकाल्नुहुँदैन ।’ लोकतन्त्र उन्नत परिपाटी भएको व्यवस्था हो भन्दै प्रधानमन्त्रीले भने (जनताको शासनभन्दा अरु कसैको शासन उपयुक्त हो कि भन्ने त्यस्तो निष्कर्ष निस्कँदैन ।’ तर, इतिहासका विभिन्न कालखण्डका ठूलठूला योगदान भएको भन्दै पृथ्वीनारायण शाहको योगदानमा भएको एकीकरण अस्वीकृत नहुने प्रधानमन्त्रीले बताए ।
                                                   राष्ट्रको परिभाषा 
केही सानातिना टकराव हुनु स्वाभाविक भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकीकरण नै भएन कि भन्न नहुने बताए । मानिसहरुले नाम थर लेख्दासम्म एकीकरण नै भएन भन्न नहुने भन्दै उनले भने( ‘बहुराष्ट्र हो कि, एकीकृत राष्ट्र होइन कि अथवा राज्यको एकीकरण भयो राज्यको भएन कि भन्ने परिभाषा उपयुक्त हुँदैन ।’ कतिपयले कलिलो राष्ट्र भन्ने गरेको भनेको भन्दै उनले त्यसको खण्डन गरे । नेपाल एउटा राष्ट्र हो भन्दै उनले भने(हाम्रा हिमालहरु कलिला छन्, हिलाल नै हुन्, पहाडहरु कलिला छन्, पहाड नै हुन् । मान्छे जन्मिँदा कलिलै जन्मिन्छ, मान्छे नै हुन् । त्यसैले नेपाल कलिलो राष्ट्र होइन, ऐतिहासिक कालदेखि एउटा राष्ट्र हो ।’

लुम्बिनीको विकासका लागि स्थानीयले स्वामित्व लिनुपर्छ – मन्त्री पोखरेल

गोविन्द विश्वकर्मा
पुस २७, लुम्बिनी – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि स्थानीय जनताले स्वामित्व लिनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने “लुम्बिनीलाई अब बुद्ध र बौद्धधर्म जन्मेको ठाउँका रुपबाट विकास गर्नु पर्दछ, त्यसका लागि स्थानीयवासीले विशेषरुपमा पहल कदमी लिन जरुरी छ ।” आफू मन्त्री भएपछि लुम्बिनी तथा अन्य महत्वपूर्ण क्षेत्रको सुधारमा लागेको बताउँदै मन्त्री पोखरेलले लुम्बिनीको विकास कोषको केन्द्रीय कार्यालय काठमाडौँबाट एक महिनाभित्र लुम्बिनीमा सार्न निर्देशन दिएको बताए । मन्त्री पोखरेलले लुम्बिनीमा सौर्य ऊर्जाबाट २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था गर्न लागिएको बताउँदै लुम्बिनीको गुरुयोजनाअनुरुपको कामका लागि मन्त्रालयले बजेटमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए ।  पोखरेलले राजनीतिक दलको नियुक्तिबाट आएका पदाधिकारीको खिचातानीका कारण लुम्बिनीको अस्तित्व नै सङ्कटमा परेको गुनासो व्यापकमात्रामा उठेपछि लुम्बिनी विकास कोष सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत प्रणालीमा लैजाने तयारी भइरहेको समेत उल्लेख गरे । कार्यक्रममा सहभागीले लुम्बिनीलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न आग्रह गरेका थिए ।

कोपिलामा यौनदु र्व्यवहारको आरोप,म्यागीद्वारा पत्रकारमाथी दुर्व्यवहार

गोविन्द विश्वकर्मा
पुस २६, सुर्खेत – केही समय अगाडि मात्रै सिएनन हिरो २०१५ घोषित भएकी म्यागी डोइनले संचालन गरेको संस्था कोपिला भ्याली समाजलाई थुप्रै आरोपहरु लागेका छन् । पहिले पनि विभिन्न आरोपहरु लाग्दै आएको म्यागीको संस्था कोपिला भ्याली समाजले संचालन गरेका विभिन्न क्रियाकलापहरुलाई लिएर पुनः आरोपहरु विभिन्न निकायमा छानविनका लागि पुगेका छन् । यसपटक समाजले संचालन गरेको महिला केन्द्रबाट निस्काशित कर्मचारीहरुले थुप्रै आरोपहरु लगाएर विभिन्न निकायमा न्यायका लागि भन्दै उजुरी दर्ता गराएका छन् । विशेष गरी कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले महिला कर्मचारीहरुलाई यौन दुव्र्यबहार गरेको र यो कुरा म्यागीलाई जानकारी गराउँदा अध्यक्ष मल्लको विरुद्धमा बोल्न नदिने गरेको आरोप लगाइएको छ । महिला केन्द्रमा प्रशासन प्रमुखका रुपमा काम गर्दै गर्दा हटाइएका कौशिला मैनालीले आफू माथी यौन दुव्र्यबहादर गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका साथै विभिन्न निकायमा उजुरी दर्ता गर्नुभएको छ । मैनालीले आफूलाई ग्लोबल एकसन संस्थामा काम गर्दागर्दै त्यो भन्दा बढी तलवभत्ता र सेवासुविधा दिने भन्दै महिला केन्द्रको लागि लिइएको पहिले भनेबमोजिम सेवासुविधा पनि नदिएको उजुरीमा उल्लेख गर्नुभएको छ । संस्थाका अध्यक्ष टोपबहादुर मल्लले आफूले भनेको माने मात्रै जागिर रहने नत्र नरहने भन्दै एक्लै आफ्नो कार्य कक्षमा बोलाउने, संवेदनशिल अंग छुने , आफूले भनेबमोजिम गर्न दवाब दिने र यहाँ ग्राहो हुन्छ भने जिल्ला बाहिर जाउँ भन्ने गरेको मैनालीले निवेदनमा उल्लेख गरेकिछन । आफूलाई जागिरबाट निकालिसकेपछि पनि अध्यक्ष मल्ले मैले भनेको मान, मसंग घुम्न जाउँ म जागिर पुनरबहाली गरिदिन्छु भन्ने गरेको मैनालीले बताउनुभयो । आफूले अन्याय भएपछि तीन महिना पछि विभिन्न निकायमा उजुरी दिन बाध्य भएको जानकारी दिन पत्रकार सम्मेलन गरी मैनालीले आफूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी दिएको बताउनुभयो । यस्तै गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व कार्यालय, सुर्खेत, क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेत, जिल्ला विकास समितिको कार्यालय सुर्खेत, समाज कल्याण परिषद, काठमाडौंमा पनि निवेदन बोदार्थ पठाएको जानकारी गराइएको छ । निवेदनमा आर्थिक सहयोगका रुपमा जानकारी लिनु खोज्दा र महिला केन्द्रका महिलाहरुलाई धेरै काम गराएर कम रकम दिने गरेकोले छलफल गर्न थालेकोले आफूलाई अप्ठेरो पर्ने भएकोले अध्यक्ष मल्ल र निर्देशक म्यागीले स्पष्टिकरण मागी अवकाश दिएको भनिएको छ । निवेदनमा कोपिला भ्याली समाजका कर्मचारीहरुलाई नियुक्ति नदिने सम्झौता भन्दा कम तलव दिने, प्राप्त सहयोग र आम्दानीको बारेमा कसैले जानकारी नपाउने, बैंक रकम राख्न र निकाल्न नपाइने, भनेको नमान्नेलाई तत्का्िल निकालिदिने, कर्मचारी कसैलाई पनि हालसम्म कन्ट्रायक नदिएको र चाहेको वेलामा निकाल्ने, अध्यक्षले हस्तक्षेप गर्ने गरेको खुलाइएको छ । यसैक्रममा मैनालीलाई भन्दा पहिलो पनि स्टोर मनेजर कल्पना सारु र काउन्सिलर गीता सुवेदीलाई पनि कुनै कारण तथा सूचना विना हटाइएको जनाइएको छ । कोपिला भ्याली महिला केन्द्र दर्तासमेत नभएको निवेदनमा भनिएको छ । तर दर्ता नभएपनि सेवामूलक कार्य भनी आयमूलक काम गरिरहेको र कम नतिर्ने गरेको बताइएको छ । यस्तै कार्यसमिति सदस्यलार्य राख्न नपाइने हुँदा पनि कोपिला भ्याली समाजले कार्यसमिति सदस्य अजयकुमार कार्कीलाई नै लेखापाल राखेको, संस्थाको पदाधिकारीमा पनि नातापर्ने व्यत्तिः मात्रै रहेको जनाइएको छ । अध्यक्ष मल्लले बहिनी मिमकोशा शाही सचिव, दाई पृथ्वी मल्ल कोषाध्यक्ष रहेका छन् । यस्तै सार्वजनिक खरिद ऐनअनुसार विज्ञापन नखोली र उक्त प्रक्रिया विपरित जागिरमा राख्ने गरेको बताइएको छ । महिला केन्द्रमा पनि अहिले एचए पढेकी नातेदार सरिता मल्ललाई राखिएको जनाइएको छ ।

म्यागीारा पत्रकारमािथ दुर्व्यवहार
कोपिला भ्याली सेवा समाजकी सञ्चालन म्यागी डोयन र उनका साथी जेव डोलोलोले समाचार संकलन गर्न कोपिला भ्याली स्कुल पुगेका संचारकर्मीमाथि दुर्व्यवहार गरेका छन । कोपिला भ्याली महिला केन्द्रमा काम गर्ने एक जना महिलाले आफूमाथि समाजका अध्यक्ष टोपवहादुर मल्लले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि वास्तविकता बुझ्न  गएका संचारकर्मीलाई उनीहरुले हातपातको प्रयास गदै दुर्व्यवहार गरेका हुन । कोपिला भ्याली सेवा समाजमा भएको यौन दुर्व्यवहार, श्रम शोषणलगायतका विषयमा प्रश्न गर्दा म्यागी र डोलोलोले पत्रकारलाई प्रहरी वोलाएर थुन्ने चेतावनी दिएका थिए । महिला केन्द्रकी पूर्वा कर्मचारी कौशिला मैनालीले अध्यक्ष टोपबहादुर मल्लले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरीसमेत दर्ता गर्नु भएको छ । समाजमा कार्यरत अन्य कर्मचारीहलाई अहिलेसम्म नियुक्तपत्र नदिएरै काममा लगाएको, श्रम अनुसारको तलव नदिएको वावुआमा नभएका भन्दै बाबुआमा भएका बालबालिकालाई ल्याएर पढाएको जस्ता आरोप कोपिला भ्याली समाजलाई लागेको छ । यस वारेमा वास्तविकता जान्न कोपिला भ्याली विद्यालय पुगेका एक दर्जन संचारकर्मीलाई डोयन तथा जेवले वास्तविक सुचना दिन इन्कार गर्दै उल्टै थुन्ने चेतावनी दिएका पत्रकारहरुले बताएका छन् । 

एक घर एक धारा बनाईदै


गोविन्द विश्वकर्मा
पुस २६, सुर्खेत – सुर्खेतको रानीवास गाविसमा  ‘एक घर एक धारा’ बनाउने प्रस्ताव अघि सारिएको छ । नेपाल सरकार, विभिन्न संघसंस्था तथा जनश्रमदानद्वारा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव ल्याईएको हो । ३७ वर्ग किलोमिटरमा फैलिएको रानीवास गाविसका ६ सय १० घरधुरीमा अगामी दुई वर्ष भित्र एउटा सफा शौचालय र पानीको धारा निर्माण गरिने छ । गाविसको शनिबार रानीवासमा सम्पन्न गाउँ परिषद्ले गाउँको नाम अनुसारको काम पुरा गर्ने महत्वकांक्षी प्रस्ताव अघि सारेको हो । ‘विकास भनेको नै मानवले मानवका लागि गर्ने हो भन्दै रानीवास गाविस सचिव पिताम्बर पौडेलले गाउँको विकासका लागि जनताको सहयोगमा राज्यसँग हातोमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँको समग्र विकासका लागि विभिन्न संघसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा हालसम्म ५० हजार रुपैयाँको समपुरक कोष खडा भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कोषको रकमलाई बढाउँदै आर्यआर्जन, क्षमता विकाससँगै पूर्वाधारमा लगानी गरिने छ । परिषद्ले २४ लाख २९ हजार आठ सय ४५ रुपैयाँको कुल बजेट प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा शिक्षा, कृषि, पर्यटन, सडक, लघु उद्यम, क्षमता अभिवृद्धि र लक्षित वर्ग तर्फ बढी केन्द्रीत उहाँले जिकिर गर्नुभयो । उहाँका अनुसार पूँजीगत तर्फ १९ लाख ६५ हजार आठ सय ४५ तथा चालु तर्फ ४ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त बजेट मध्ये चार लाख ३४ हजार नेपाल सरकारको अनुदान तथा ३० हजार रुपैयाँ आन्तरिक स्रोतबाट पुरा गरिने छ । परिषद्ले प्रस्तावित बजेटमा ७ लाख दुई सय ६३ पूर्वाधार, चार लाख ६६ हजार आठ सय ४२ प्रर्वद्धनात्मक र ६ लाख ५५ हजार तीन सय ६३ रुपैयाँ लक्षित वर्गलाई रकम वियोजन गरेको छ ।
तस्विर : गुगल फाईल

३ लाख नगद सहित श्रीमती फरार

गोविन्द विश्वकर्मा
पुस २६ सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका– ८ कालिदमारकी नन्दा बस्याल सार्कीले मलेसियामा कार्यरत श्रीमानले पठाएको रु. ३ लाख लिएर अर्कैसँग बिबाह गरेकी छिन् । पाँच वर्षको बच्चालाई सुतेको अवस्थामा घरमै छाडेर नन्दाले यही पुस १३ गते भेरीगंगा नगरपालिका–१५ रामघाटका राजु रम्तेलसँग विवाह गरेकी हुन । नन्दाका श्रीमान तिलक बहादुर सार्की रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । तिलकका दाजु  चन्द्रवीर सार्कीले भाइले विदेशवाट दुख गरी कमाएर पठाएको रकम लिएर बुहारी नन्दाले अर्केसँग विवाह गरेको जानकारी दिनुभयो । उहाँले नन्दाले विभिन्न सहकारीबाट ऋण लिएको ३ लाख ३० हजार नगद रुपैयाँ पनि हिनामिना गरेको उल्लेख गर्नुभयो । तिलकका आफन्तले नन्दालाई पक्राउ गरी रकम अशुल उपर गर्न माग गदै इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दर्ता गरेको वताएका छन । आफन्तले इलाका प्रहरी कार्यालय छिन्चुमा ३ लाख रकम असुल गरी पाउँ भन्दै नन्दा विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी सहायक निरिक्षक जय बहादुर रावतले पीडितले उजूरी दिएकाले दुवै जनालाई पक्राउ गरी कारवाही अघि वढाउने जानकारी दिनुभयो । उहाँले नन्दा र रम्तेललाई पक्राउ गरी घटनाबारे छिटटै अनुसन्धान अघि वढाउने समेत बताउनुभयो ।