कर्मचारी संगठनको अध्यक्षमा खत्री

सुर्खेत, मंसिर ०६  । नेपाल कर्मचारी संगठन सुर्खेतको अध्यक्षमा लालबहादुर खत्री चयन भएका छन् । आईतबार सम्पन्न प्रजातान्त्रिक विधि मतदान प्रकृयाबाट भएको निर्वाचनबाट क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतका नायव सुब्वा पदमा कार्यरत खत्रीको अध्यक्षतामा  नयाँ समिती गठन भएको हो । 

नवनिर्वाचित संगठनको उपाध्यक्षमा राजेश आचार्य, महिला उपाध्यक्षमा हिरा पौडेल, सचिवमा हेमन्त चुनारा, सह सचिवमा नरेश तिवारी र कोषाध्यक्षमा रामप्रकाश सापकोटा चयन भएका छन् ।सदस्यहरुमा लोकप्रसाद देवकोटा, कमल कुमार दर्लामी, गुप्ती प्रसाद गौली, चन्द्र बहादुर रावत, जगत सुबेदी, पदमबहादुर बुढा क्षेत्री, भवानी प्रसाद पौडेल, भिमनारायण खराल चयन भएको निर्वाचन समितीले जनाएको छ । 

यस्तै केन्द्रिय प्रतिनिधिहरुमा टेकबहादुर रावल, डोर प्रसाद उपाध्याय, प्रयागराज शर्मा, महिला तर्फ अमृता रावल चयन भएका छन् । मतदान प्रकृयाबाट अध्यक्ष लाल बहादुर खत्री पक्षमा १८७ र १३१ मत परेको छ । उपाध्यक्ष राजेश आचार्यको पक्षमा १ सय ७४ र १ सय ३१, सचिब हेमन्त चुनाराको पक्षमा १ सय ५६ र १ सय ५२, सह–सचिब नरेश तिवारीको पक्षमा १ सय ६० र १ सय ३३, कोषाध्यक्ष राम प्रकाश सापकोटाको पक्षमा  १ सय ६० र १ सय ५० मत परेको छ । केन्द्रिय प्रतिनिधि टेक बहादुर रावलको पक्षमा १ सय ५२ र ९६, डोर प्रसाद उपाध्यायको पक्षमा १ सय ८४ र ९६, प्रयागराज शर्माको पक्षमा १ सय ६९ र ९६, केन्द्रिय प्रतिनिधि (महिला) अमृता रावलको पक्षमा १ सय ६२ र १ सय ७ मत परेको जनाईएको छ । 


यस्तै, कार्य समिति सदस्यहरू लोक प्रसाद देवकोटाको पक्षमा १ सय ७४ र १ सय १६, कमल कुमार दर्लामीको पक्षमा १ सय ७३, गुप्ती प्रसाद गौलीको पक्षमा १ सय ४८, चन्द बहादुर रावतको पक्षमा १ सय ७९, जगत सुवेदीको पक्षमा १ सय ६४, पदम बहादुर बुढा क्षेत्रीको पक्षमा १ सय ५१, भवानी प्रसाद पौडेलको पक्षमा २ सय ७ र भिम नारायण खरालको पक्षमा १ सय ६२ मत परेको निर्वाचन समितीले जानकारी दिएको छ ।

४ बर्षसम्म अलपत्र रानीघाट पुलको काम सुरु

गोविन्द बिश्वकर्मा/सुर्खेत, मंसिर ६  । बर्षौदेखि बन्न नसकेको सुर्खेत बर्दियालाई जोड्ने भुरीगाउ तेलपानी सडक खण्डमा पर्ने रानीघाट पक्कि पुलको बाँकी काम सुरु भएको छ ।

बषौं बितिसक्दा पनि आधा जति काम गरी बाँकी काममा चासो नदेखाएको निर्माण कम्पनी पप्पु/मल्ल जे.भी कन्ट्रक्शन प्रा.लीले बाँकी काम सुरु भएको दावी गरेको छ । छाटो बाटो हुँदै सुर्खेत सदरमुकाम वीरेन्द्रनगर देखि भेरी पुल हुदैं रानीघाटबाट बर्दियाको भुरी गाउँसम्म जोड्ने सडक खण्डको भेरी नदीमाथीको रानीघाट पुल निर्माणको काम सुरु भएको निर्माण कम्पिनी पप्पु÷मल्ल जे.भी कन्ट्रसनले जानकारी दिएको छ । सम्झौता भएको ४ बर्ष बित्दा समेत पुलको काम सम्पन्न हुन सकेको थिएन । 

एक अर्कालाई दोष लगाउने काम मात्र भएको रानीघाट पुलको काम मंसिर २ गते बिहिबारदेखि  सुरु गरिएको निर्माण कम्पनीका साईड प्रतिनिधि दुर्गा नगालले बताए । सडक डिभिजन कार्यालय सुर्खेतले निर्माण कम्पनीलाई दोष लगाउदै आएको थियो भने निर्माण कम्पनीले पनि सडकले गरेको कामको खण्डन गर्दै आएको थियो । सडकले निर्माण कम्पनीको कम तदारुकता कारण काम रोकिएको भन्ने आरोप लगाउदै आएको थियो भने निर्माण कम्पनी भने प्राकृतिक प्रकोप बाढी, पहिरोले गर्दा काम हुन नसकेको बताउदै आएको थियो । एक सय २० मिटर लम्वाई तथा ७ मिटर चौडाई भएको पुल निर्माणको लागी वि.स २०६९ असार २९ मा सम्झौता भएको थियो । 

२०७२ पौष २९ गते समापन हुने सम्झौता भएपनि ४ वर्ष अबधि सकिसक्दासम्म काम सम्पन्न हुन सकेको छैन् । स्थानिय नागरीक रत्न बहादुर बुढाले नेपाल सरकार सुचना विभाग अन्तरगतको हेलो सरकारमा फोन गरेर आफ्नो गुनासो सुनाएपछि सरकारबाट काम छिटो सकाउन निर्देशन आएको थियो । सरकारको निर्देशनअनुरुप नै सडक डिभिजनले पत्र आदेश पठाएपछि निर्माण कम्पनीले छिटै काम सुरु गर्ने प्रतिबद्धता जनाएको थियो । १४ करोड २९ लाख ७९ हजार २ सय ७८ रुपैयाँ ४० पैसाको लगानीमा बन्ने रानीघाट पुलको पारीपट्टि (रानीघाट) तर्फको काम पुरा भएको भईसकेको छ । 


पानीभित्र करिव १९ मिटरको वेल्फ फाउण्डेसन बनाउने काम बाँकी रहेको थियो । निर्माण कम्पनीको तर्फबाट वेल्फ फाउण्डेसनको काम करिव ९ मिटरजती सम्पन्न भएको र १० मिटर जती फाउण्डेसनका लागी जगलेन धसाउन बाँकी रहेको बताईएको थियो । कडा चट्टान लागेको महसुस भएपछि निर्माण कम्पनीले काममा सुस्तता देखाएको थियो । जगलेन मेसिन धसाउँदा नधसिएको भन्दै पुरानो मेसिनले काम नगरेकाकाले काम रोकिएको निर्माण पक्षले जवाफ दिदैं आएको थियो । असार मसान्त पछि नै नयाँ जगलेन मेसिन मगाएर काम सुरु गर्ने बचन दिएको निर्माण पक्षले ढिलै भएपनि काम सुरु गरेको छ । आर्थिक बर्ष ०६८/०६९ सालमा पुल निर्माणको आधा जति काम भएको थियो । 

आ.व ०७०/०७१ सुर्खेतमा आएको बाढीले असर गर्दा काम हुन सकेको थिएन । कम्पनीले काम संचाल गर्नका लागी सम्झौता भएको मिती असार २९ मा १ करोड ७६ लाख रकम पहिलो पेश्की स्वरुप लिईसकेको डिभिजन कार्यालयका लेखा अधिकृत जगत शााहले जानकारी दिए । अहिले काम सुरु गर्दा समेत कुनै पेश्कि रकम नलिएको बताईएको छ । यो वर्षमा नै काम सम्पन्न हुने सम्भावना नभएकाले अर्को आ.वमा निर्माणको काम सकाउने तयारीका साथ काम सुरु गरेको नगालले बताए । २ स्पोन काम बाँकी रहेको बताउदै नगालले चालु आवमा पुल सञ्चालनमा ल्याउने जानकारी दिएका छन् । 

सुर्खेत र बर्दियाको सम्बन्ध विस्तार गराउने माध्यम बन्ने रानीघाट पक्कि पुल नबन्दा मर्कामा परेका स्थानिय नागरीकहरुमा छिटै छोटो बाटोको प्रयोग गर्दै सम्बन्ध सुधार गर्न पाउनेमा आशाबादी छन् । वि.स २०७१ साल साउन अन्तिम सातामा आएको बिनासकारी बाढीले भेरी नदीमा भएका झोलुङ्गे पुलहरु बगाउदा आवात जावतमा निकै दुःख भोगेका स्थानियलाई पक्कि पुल बन्दा सहजता आउनेछ । अहिले पनि वारीपारी गर्नलाई भेरी नदिको डुङ्गा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विहान बेलुका डुङ्गा नचल्ने, चिसोमा समस्या हुने, बर्षातमा बाढीले गर्दा डुङ्गा नचल्ने हुँदा कहिलेकाही स्थानिय नागरीक सदरमुकाम आउनबाट बञ्चित हुने गरेको स्थानियले बताएने गरेका छन् । पुल बनेपछि रत्न राजमार्ग हुदैं करिव डेढ सय मिटर बढीको यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ । मात्र ७० मिटरको दुरीमा बर्दियाको भुरीगाउ पुग्न सकिनेछ । 

दुई जिल्ला बिचको भौगोलक दुरी नजिकिने हुँदा दौत्य सम्बन्ध पनि बढ्नेछ । साथै, भौगोलिक दुरीका हिसावले यात्रामा सहजता आउने, खाद्यन्न आपुर्तीमा सहज हुने, ब्यापार ब्यवसायिक सम्बन्ध सुधार हुने, जिल्लाका उत्पादन साटासाट हुने, जडिबुटी आयात निर्यातमा सहजता आउने लगायत थुप्रै फाईदा हुने सडक डिभिजन कार्यालय सुर्खेतका अधिकृत बेलबहादुर भुजेलको भनाई छ । 

यस्तै, भारतसंग सिमाना जोडिएको सडकखण्ड भएकाले पनि आर्थिक रुपमा फाईदा पुग्नेछ । साथै यो पुल बनेपछि बर्दियाको पश्चिमी क्षेत्र, सुदूरपश्चिमका नागरिक र भारतदेखि मानसरोवर पुग्नेलाई समेत यो सडक उपयुक्त हुनेछ ।

सरकार र मोर्चाबिच छलफल

काठमाडौ, कात्तिक २८ । संविधान संशोधनबारे सरकार र मधेसी मोर्चाबिच सोमबार  छलफल हुने भएको छ । 
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबारसम्म संशोधन प्रस्ताव संसदमा दर्ता गराउने बताइरहेका बेला मोर्चासँग छलफल गर्न लागेका हुन् । सोमबार बिहान साढे १० बजे सिंहदरबारमा बोलाइएको बैठकमा सरकारले संविधान संशोधनका लागि तयार पारेको प्रस्तावबारे जानकारी गराउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

मोर्चाले आफूहरुसँग भएको तीन बुँदे सहमतिअनुसार सरकारले संविधान संशोधनको प्रस्ताव नल्याएको भन्दै फेरि आन्दोलन गर्ने चेतावनी दिइरहेका बेला सरकारले संशोधन बारे औपचारिक छलफलका लागि बोलाएको हो । 

मोर्चाले केही दिनदेखि आफ्ना माग पूरा गराउन आलटाल भएको भन्दै प्रधानमन्त्रीलाई भेटेर ध्यानाकर्षण गराउने प्रयास गरे पनि दाहालको व्यस्तताका कारण हुन सकेको थिएन । 

आन्दोलन र दलको माग पूरा गर्न सरकारले सीमाङ्कन, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषाको विषयमा संशोधन प्रस्ताव लैजाने तयारी गरेको छ । 

तर, मधेसी मोर्चाले भने आफूले सरकारलाई बुझाएको ११ बुँदे मागअनुसार संशोधन हुनुपर्ने बताइरहेको छ । 

चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउने दिन

काठमाडौ, कात्तिक २९ । आज सोमबार चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउँदैछ । 


पछिल्लो ६८ वर्षमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । नेपाली समय अनुसार आज बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दानजिक आउने छ । 

त्यसबेला चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलो मिटर पर हुनेछ । सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आउन लागेको हो । 

नियमित पूर्णिमामा भन्दा आज चन्द्रमाको आकार १४ प्रतिशतले ठूलो देखिने छ । अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो पनि हुनेछ । 

यस्तै दृष्यका लागि अब सन् २०३४ को नोभेम्बर २५ सम्म कुर्नुपर्ने खगोलविदहरुले जनाएका छन् ।

एकिकृत सम्पत्तीकर लगाउदै नपा

सुर्खेत, असार २८ । सुर्खेतको भेरीगंगा नगरपालिकाले आउँदो आर्थिक वर्षदेखि एकीकृत सम्पत्तीकर लागू गर्ने भएको छ ।
गाउँ विकास समितिहरु मिलाएर बनाइएको नयाँ नगरपालिका भेरीगंगाले आर्थिक वर्षको शुरुमै साउन एक गतेदेखि एकीकृत सम्पत्तीकर लागू गर्ने भएको हो ।
सञ्चार माध्ययममार्फत् सार्वजनिक सूचना जारी गर्दै भेरीगंगा नगरपालिकाको कार्यालयले अव नगरपालिकामा सेवा लिन पुग्दा आफ्नो जग्गाको जग्गाधनी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र लिएरमात्रै आउन अनुरोध गरेको छ ।
साथै एकिकृत सम्पति कर नबुझाएमा नगरपालिकाले प्रदान गर्ने सवै सेवा सुविधा रोक्का राखिने भेरीगंगा नगरपालिकाका सूचना अधिकारी कुलबहादुर खड्काले  बताए ।
यद्यपी, समयमा नै एकिकृत सम्पति कर बुझाएमा १० प्रतिशत छुट हुने पनि उनले बताए । नगरपालिकालाई व्यवस्थित र विकासील बनाउनका लागि सवैको भूमिका रहनुपर्ने भएकाले सवैले साथ दिनुपर्ने खड्काले बताए । 

प्राविधिक विषयमा भर्नाका लागी नयाँ मापदण्ड

काठमाण्डौ, असार २४ । प्राधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले एसएलसी उत्तीर्ण विद्यार्थीलाई प्राविधिक विषयमा भर्ना हुन मापदण्ड परिवर्तन गरेको छ ।

सिटिइभिटी राष्ट्रिय पाठ्यक्रम बोर्डको आज बसेको बैठकले भर्ना मापदण्ड परिवर्तन गरीे प्राविधिक विषयको डिप्लोमा कोर्समा भर्ना हुन यसअघि तोकेको मापदण्ड परिवर्तन गरेको हो ।

सिटिइभिटीले एसएलसीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयमा ‘डी प्लस’ ल्याउने विद्यार्थीले समेत डिप्लोमा कोर्समा भर्ना हुन पाउने व्यवस्था गरेको सिटिइभिटीका सदस्य–सचिव डा रामहरि लामिछानेले जानकारी दिए ।


यसअघि डिप्लोमा तहको सबै विषय अध्ययनका लागि अङ्ग्रेजी, गणित र विज्ञान विषयमा सी ग्रेड’ ल्याएको हुनुपर्ने व्यवस्था गरेकामा अहिले यो परिवर्तन गरेको हो ।

सिटिइभिटीले स्वास्थ्य विषयको डिप्लोमा कोर्सका लागि जिपिए कम्तीमा दुई, अङ्ग्रेजी, गणित र विज्ञानमा ‘सी’ ल्याएको हुनुपर्ने व्यवस्था भने यथावत् राखेको छ ।

इन्जिनियरिङतर्फ डिप्लोमा पढ्न अङ्ग्रेजीमा  ‘डी प्लस’, विज्ञान र गणितमा ‘सी’ भए पुग्ने आजको बैठकले निर्णय गरेको लामिछानेले जानकारी दिए ।

कृषि र वनमा डिप्लोमा कोर्स पढ्नको लागि अङ्ग्रेजी, गणित र विज्ञानमध्ये दुई वटामा ‘सी’ र एउटामा ‘डी प्लस’ भए पनि भर्ना हुन पाउने र होटल म्यानेजमेन्ट, उद्यमशीलता विकास र सोसल वर्कजस्ता विषयमा डिप्लोमा कोर्सका लागि अङ्ग्रेजी, गणित र विज्ञानमा ‘डी प्लस’ भए पनि भर्ना पाइने व्यवस्था गरेको सदस्य–सचिव लामिछानेले जानकारी दिए ।

पाईनै छाड्यो मदिरा

गोविन्द बिश्वकर्मा सुर्खेत फागुन १३ ।
सुर्खेतको खानीखोला गाउ बिकास समितीमा मदिरा सेवन तथा जुवातासको निराकरण भएको छ । गाविसका सबै वडामा सामुदायिक छलफल केन्द्रको स्थापना भएपछि छलफल केन्द्रका महिलाहरुको सक्रियतामा मदिरा सेवन गर्ने र उत्पादन गर्नेको संख्यामा कमी आएको हो । मदिराको साथसाथै जुवातास खेल्ने, क्यारेमबोर्ड खेल्ने लगायतका बेरोजगार युवाहरु अहिले परिवर्तन भएर कुलतबाट टाढा भएका छन् । पहिला पहिला जुवातासको खालमा दिन बिताउने, एका बिहानै रक्सी खाने र दिनभर रक्सीको मातमा रहने, साँझ मदिराको मात मै घर आउने झै–झगडा गर्ने युवाहरुमा अहिले परिवर्तन आएको छ । समाजको परम्पराअनुसार चाडपर्व, शुभ÷अशुभ कार्यमा रक्सिको नै प्रयोग बढी हुन्थ्यो । यस्तै चेलीबेटीहरु माईत जादा आउदा कोसेलीको रुपमा र घरमा कुनै मान्यजन पाहुना आउदा  सम्मानको लागी रक्सीको नै प्रयोग गर्ने प्रचलन थियो तर अहिले हटेर मदिरा सेवन गर्नेको संख्यामा कमी आएको खानीखोला गाविसका एक स्थानिय नागरीक बिमला सिहले बताईन । खानीखोला गाविसका महिलाहरुको प्रयासमा अहिले पुरै गाविसमा नै मदिरा निराकरण भएको छ । सबैभन्दा पहिला वडा नं. ७ बाट अभियान सुरु गरेका थिए । विस्तारै अरु महिलाहरुको सहयोगमा अन्य वडाहरुका साथै गाउमा जाँडरक्सि खाने, जुवातास खेल्ने, क्यारेमबोर्ड खेल्ने जस्ता काम गर्ने युवाहरुलाई अभियान कै रुपमा लागेर सम्भाई बुझाई गर्ने काम गरिएको थियो । पहिला पहिला त सारै गाह्रो भएको सिहं बताउछिन् । “मैले तपाईको खाएको छु र आफ्नो खाएको छु”, “यो त हाम्रो पेशा हो हामी यसैबाट नुनतेल चलाउछौ किन हाम्रो राजीरोटी खोज्न खाज्दै हुनुहुन्छ ।” जस्ता कुराहरु सुनाउने गरेको सिहले बताएकि छन् । लगातारको प्रयास र अभियानले असम्भव हुने भन्ने केहि रहनेछ सबै सम्भव हुने सिहको भनाई छ । स्थानिय महिलाहरुको समुह विभिन्न कार्यक्रमका साथ अभियानकै रुपमा अगाडी बढेर थप सम्झाई बुझाई गरेपछि अहिले गाविसमा मदिराको उत्पादन, बिक्रिवितरण र सेवनमा कमी आएको छ । गाविसका विभिन्न सार्वजानिक स्थल वा बिद्यालय जस्ता ठाउमा मदिरा तथा सुर्तिजन्य बस्तुको सेवन गरी जाने हो हल्ला गर्ने, गाली गलौज गर्ने, झगडा गर्ने पाईएकोमा पहिलो पटक १०० रुपैया, दोस्रो पटक ३०० रुपैया र तेस्रो पटक ५०० रुपैया जरिवाना तिराउने पनि गरिएको सिहले बताईन् । बेरोजगार युवाहरुलाई रोजगारका प्रशस्त सम्भावना भएको कुरा बताउदै अन्य पेशा गर्न सकिने सिकाएकोले अहिले खानीखोला गाविस मदिरा मुक्त क्षेत्र भएको छ । कतिपयले त “महिलाले बनाए हामीले खायौ हाम्रो के गल्ती” भनेर पनि भन्ने गर्थे तर पछि महिलाहरुको छलफलमा सबैभन्दा पहिला उत्पादन बन्द गरिएको अभियानमा संलग्न स्नानिय महिलाको भनाई छ । खानीखोलाका साथै सुर्खेतका ५ वटा गाविसमा गठन भएको सामुदायिक छलफल केन्द्रले समाज भएका बिकृती मदिरा सेवन, उत्पादन तथा बेचविखन, बालबिवाह तथा बहुबिवाह न्युनीकरण जस्ता कुरीती हटाउन पहल गर्दै आएको छ । खानीखोलाको हकमा २०७२ साल असोज महिनाको पहिलो हप्तादेखि  सबै वडामा घरदैलो अभियान सुरु गरिएको र पछि बिस्तारै अन्य गाविसमा पनि अभियान सुरु गरिएको भेरीगैगा नगरपालीका छिन्चुका डिला खड्काले बताईन् । अभियानमा राजनैतिक दललाई पत्रचार गर्ने, मदिरा सेवन गर्नेलाई सम्झाउने बुझाउने जस्ता कामहरु गरिएको थियो । अभियानमा स्थानिय प्रहरी, राजनैतिक दल लगायतको सक्रिय सहभागीता थियो ।
यस्तै सुर्खेतका अन्य गाविसहरु गुमी, मैनतडा, लेखपराजुल र छिन्चुमा पनि मदिरा सेबन बेचबिखनमा कमि आएको छ । अक्सफामको साझेदारीमा सिमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम) सुर्खेतले सञ्चालन गरेको छलफल केन्द्रले समाजमा यस्ता थुप्रै कामहरु गरेको छ । यी गाविसका पहिला पहिला समुहमा जाँदा डराउने, बोल्न नसक्ने र अधिकारका कुरा थाहा नपाएको र डराउने  समस्या थियो तर अहिले यस्तो समस्या हटेर निर्धक्क बोल्न सक्ने बनेका छन् । अहिले निर्माण उपभोक्ता समितीमा पनि पदाधिकारी बन्न सक्ने र काम गरेर देखाउन सक्ने बनेका छन् । सिमान्तकृत महिलाहरुका लागी महिला संस्था (वाम) ले अक्सफार्मको समन्वयमा बिकाश निर्माणमा महिलाको नेतृत्व कायम गर्ने, सबै ठाउमा महिलाको अर्थपुर्ण सहभागीता गराउने उद्वेश्यले नेतृत्व परियोजना संचालन गरेको हो । सुर्खेतका ५ वटा गाविसमा लागु भएको सामुदायिक छलफल केन्द्रको बिस्तार अन्य गाविसमा  पनि गर्न जरुरी रहेको सुझाव आएको छ । साुदायिक छलफल केन्द्र सुर्खेतमा सन् २०१४ अप्रील देखि सुरु भएको र ३ बर्ष वा सन् २०१७ को अप्रिलसम्म संचालन हुनेछ ।

घरमा शून्य सुत्केरीु गाविस घोषणा

दैलेख माघ १७ । 
दैलेखको कालभैरव गाविसलाई मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । १ वर्षयता घरमा सुत्केरी नभएपछि कालभैरवलाई घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख निर्मल रसाईलीले मध्यपश्चिमकै पहिलो घरमा शून्य सुत्केरी गाविस भएको बताए। स्वास्थ्य चौकीमा ३ जना अनमीले प्रसुति सेवा दिएपछि १ वर्षदेखि कुनै पनि सुत्केरी घरमा नभएको जनाइएको छ । प्रसृति गृह सुविधासम्पन्न भएपछि गाविसभरबाट सुरक्षित प्रसुतिकालागि सुत्केरी हुन जाने गरेको स्वंयम सेविका तुलसी थापाले बताइन् । आइतबार एक समाहरोहकाबीच घरमा शून्य सुत्केरी गाविस घोषणा गरिएको छ । जिल्ला अन्य गाविसमा घरमै सुत्केरी भई शिशु र मातृ मृत्युको घटनाहरु हुने गरेका छन्। सबै गाविसमा अभियानकै रुपमा लगे सुरक्षित सुत्केरी हुनेका संख्या बढ्ने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

म.प. विश्वविद्यालयका डिनहरुले कार्यभार सम्हाले

गोविन्द विश्वकर्मा
माघ ५, सुर्खेत – मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका डीनहरूले आफ्नो कार्यकक्षमा पुनः पदभार समालेका छन् । विशेष अदालतले सफाई दिएपछि सुर्खेत आई मध्यपश्चिमाञ्चल विश्वविद्यालय डीनको कार्यालयमा आफ्नो पदमा पुनर्वहाली बहाली भएपछि आफ्नै कार्यकक्षमा डिनहरुले हाँजिरसमेत गरेका छन् । उपस्थित पदाधिकारी, प्राध्यापक, कर्मचारी र विद्यार्थीको बीचमा बोल्दै पुनः बहाली भएका मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन पीताम्बर ढकालले विश्वविद्यालयमा विगतमा गरिएका कमीकमजोरीहरूबाट पाठ सिकिएको बताउनुभयो । उहाँले विश्वविद्यालयलाई सबैको साझा संस्थाको रुपमा विकास गर्न अनिवार्य भएको र यसका लागि सरोकारवाला सम्पूर्ण जिम्मेवारीपूर्ण रुपमा जुट्नुपर्ने बताउनुभयो । संक्रमणकालीन अवस्थामा जिम्मेवारीमा रहेर काम गर्ने सबै पदाधिकारी, प्राध्यापक, कर्मचारीलाई धन्यवाद दिँदै अब सबैको राय सल्लाह र सुझावनुरूप नै अगाडी बढ्ने समेत उहाँले बताउनुभयो । डीन कार्यालयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै हालै मात्र निमित्त बनेका व्यवस्थापन सङ्कायका डीन डाक्टर दीप बहादुर रावलले विश्वविद्यालयको अन्तरिम कालमा भए गरेका कामहरुको समिक्षा गर्नुभएको थियो । उहाँले विश्वविद्यालयको विकासमा सधै सहयोगी भूमिकामा रहने पनि बताउनुभयो । विश्वविद्यालयका निमित्त रजिष्ट्रार गणेश बहादुर कार्कीले विश्वविद्यालयका पदाधिकारीहरु बीचको आपसी सहकार्य र समुह कार्य बलियो हुन सके विश्वविद्यालयले गति लिनेमा बताउनुभयो । यसैबीच, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डीन गणेश बहादुर कार्की, व्यवस्थापन सङ्कायका डीन डाक्टर दीप बहादुर रावललाई डीन कार्यालयका कर्मचारीहरुले विदाई गर्दै कर्मचारी राधिका पनेरुले कर्मचारीको मनोबल उच्च हुने गरी काम गर्न आग्रह गर्नुभयो । मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डीन पिताम्बर ढकाल, व्यवस्थापन सङ्कायका डीन डाक्टर मस्त बहादुर गरंजा, बिज्ञान तथा प्रविधि सङ्कायका डीन डाक्टर केशर सिंह राना, र इन्जिनियरिङ सङ्कायका डीन प्राविधिक इन्जिनियर रामचन्द्र अर्यालले आफ्नो पदीय जिम्मेवारी सम्हालेका विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले दिनुभयो । विशेष अदालतबाट सफाइ पाएका सेवा आयोगका अध्यक्ष प्राध्यापक डाक्टर नवराज कणेल, सदस्य प्राध्यापक डाक्टर श्रीराम प्रसाद उपाध्याय र  शिक्षा विज्ञान सङ्कायका डीन लालमणि आचार्य, भने सुर्खेत आइपुगेका छैनन् । 

सुर्खेतमा सतर्कताको छड्के अनुगमन, ४१ कर्मचारी कार्यालयमा भेटिएनन्

गोविन्द विश्वकर्मा
५ माघ, सुर्खेत– सुर्खेतमा रहेका विभीन्न कार्यालयका ४१ जना सरकारी कर्मचारी एकै दिन कार्यालय समयमा उपस्थित नभएका पाइएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र रहेका विभीन्न २१ वटा कार्यालयमा कार्यरत ४१ जना कर्मचारी कार्यालय समयमा उपस्थित नभएका हुन् । राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनका क्रममा यस्तो फेला परेको हो । केन्द्रले सार्वजनिक गरेको तथ्याङ्कमा अधिकाँश कार्यालयका प्रमुख नै कार्यालयमा उपस्थित नभएको पाइएको छ । सर्तकता केन्द्रका उप–सचिव शेरबहादुर ढुंगानाले अधिकांश कार्यालयका प्रमुख र कर्मचारीहरुको मनोमानी देखिएको बताएउनुभएको छ । उहाँले क्षेत्रीय र जिल्लास्तर कार्यालयका प्रमुखले नै सरकारी जागिरको दुरुपयोग गरेर आफू खुसी हिड्ने गरेको अनुगमनका क्रममा पाइएको जानकारी दिनुभयो । आज मात्रै पनि ४१ जना कर्मचारी उपस्थित भएनन् भने अघिल्लो दिन हिजो २३ जना कर्मचारी कार्यालयमा नआएको रेकर्ड फेला परेको उप–सचिव ढुंगानाको भनाई छ । ढुङ्गानासहितको टोलीले विशेषगरी समय पालना, अघिल्ला दिनहरुको अनुपस्थिती र तोकिएको पोशाक लगाएको वा नलगाएको भन्नेबारे छड्के जाँच गरेको थियो । सर्तकता केन्द्रको टोली आएपछि कार्यालयका कर्मचारीहरु भने डराएका थिए । छड्के अनुगमन क्रममा कतिपय कार्यालयका कर्मचारीहरुले खाली छोडेको हाजिरीमा समेत उप–सचिव ढुंगानाले रातो लगाउनुभएको छ । स्वंयम अनुगमनमा हिडेका उप–सचिव ढुंगानाले दर्जनबढी कर्मचारीहरु अनुपस्थित रहेको पाइएको थियो । तर केन्द्रले मागेको विवरणमा भने तीन जना कर्मचारीले मात्र पोशाक नलाएको भन्ने उल्लेख सम्वन्धित सरकारी कार्यालयले विवरण पेश गरेको छ । कर्मचारीहरुले अनुगमनमा आए, केही गर्दैन भन्ने मानसिकतामा ग्रसित कर्मचारीहरुलाई कारवाही गराएरै छाड्ने चेतावनी उप–सचिव ढुंगानाले दिनुभयो । उहाँले अवको केही दिनमा कार्यालयमा उपस्थित नहुने कार्यालय प्रमुखलाई विभागिय कारवाहीका लागि सम्वन्धित मन्त्रालयमा पत्रचार गर्ने तयारी गरेको जानकारी दिनुभएको छ । पोशाक नलाएर पनि लगाएको भन्ने विवरण दिने कार्यालयलाई पनि विशेष निगरानीमा राखेकाले अवको केही दिनमा त्यसको परिणाम सार्वजनिक गर्ने उद्घोष उप–सचिव ढुंगानाले गर्नुभयो ।

नेपाल शानदार जितसँगै फाइनलमा, नवयुगले गरे ह्याट्रिक

गोविन्द विश्वकर्मा
काठमाडौं, माघ ५ – नेपाल बंगलादेशमा जारी बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा माल्दिभ्सलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै नेपालले पहिलोपटक बंगबन्धु गोल्डकपको फाइनलमा ठाउँ बनाएको हो । नेपाललाई जिताउनेक्रममा नवयुग श्रेष्ठले ह्याट्रिक गरे । यो बंगबन्धु गोल्डकपको जारी श्रृंखलाको पहिलो ह्याट्रिक हो ।नव युगले खेलको ३१औं, ६२ औं र इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेका हुन् । त्यस्तै, नेपालको तर्फबाट ५२औं मिनेटमा विशाल राईले गोल गरेका थिए । ७६औं मिनेटमा भने नेपालले गोल खायो । माल्दिभ्सका नासिद अहमदले एक गोल फर्काएका हुन् । नेपाली गोलकिपर विकेश कुथुले तीन सय ४५ मिनेटको खेलपछि गोल खाएका हुन् । नेपालले समूह चरणमा बंगलादेश र मलेसियाको फेल्डा युनाइटेड क्लबसँग गोलरहित बराबरी खेल्दा श्रीलंकालाई १–० ले हराएको थियो । नेपालले उपधिका लागि फाइनलमा शुक्रबार बहराइनको टिमसँग खेल्नेछ । सेमिफाइनलमा आयोजक बंगलादेशलाई १–० ले हराउँदै बहराइन फाइनलमा पुगेको हो । दुबै टिम बंगबन्धु गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेका हुन् ।

तराई मधेसमा सरकारले ल्यायो ५० अर्बको यस्तो योजना, छानबिन समिति गठन

गोविन्द विश्वकर्मा
माघ ४, काठमाडौं – सरकारले तराई मधेसका आठ जिल्लालाई समेटेर ‘बहुवर्षीय तराई मधेस सिँचाइ विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । खडेरीका कारण सुख्खाप्रायः अवस्थामा रहेका ती जिल्लामा कृषि उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने उद्देश्यका साथ बहुवर्षीय विशेष कार्यक्रम सञ्चालन गर्न लागिएको हो । सो कार्यक्रमअन्तर्गत हरेक वर्ष १० अर्ब खर्च गर्ने सरकारको योजना रहेको छ । सिँचाइ मन्त्री उमेश यादवले बहुवर्षीय योजनाअन्तर्गत आगामी पाँच वर्षसम्म सो कार्यक्रम सञ्चालन हुने बताउनुभयो । हरेक वर्ष १० अर्बको दरले पाँच वर्षसम्म ५० अर्ब सो कार्यक्रममा खर्च गर्ने तयारी गरिएको छ । बारा, पर्सा, रौतहट, सर्लाही, सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लामा प्रभावकारी एवम् वैज्ञानिक सिँचाइ प्रणालीको विकास गर्ने र कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्य सरकारको रहेको मन्त्री यादवको भनाइ छ । कार्यक्रम सञ्चालन गर्न सिँचाइले अर्थ मन्त्रालयसँग छलफल गरिसकेको छ । मन्त्री यादवले ‘सिँचाइको क्षेत्रमा नमुना परियोजनाका रुपमा ती जिल्लामा कार्यक्रम सञ्चालन गर्न अर्थ मन्त्रालयसँग छलफल भइसकेको बताउनुभयो । अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि सकारात्मक देखिनु भएको छ । सुनकोसी– कमला डाइभर्सन सिँचाइ आयोजना हरेक आवको बजेट वक्तव्यमा छुटेको छैन । विसं २०२७ देखि सो आयोजना बजेट, नीति तथा कार्यक्रममा राखिएपनि हालसम्म अगाडि बढ्न सकेको छैन । कृषि विकास मन्त्रालयको तथ्याङ्कअनुसार तराई मधेसका आठ जिल्लामा खडेरीका कारण धान उत्पादन घटेको छ । धान उत्पादन कम हुँदा खाद्य सुरक्षामा समेत प्रतिकूल प्रभाव पर्नेछ । सप्तरीमा गत वर्ष ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएकामा यस वर्ष २१ प्रतिशत, धनुषामा ३०, सर्लाहीमा २२, रौतहटमा ३५, बारामा ५५ र पर्सामा ६० प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको थियो । खडेरीको मारमा परेका ती जिल्लामा योजनाबद्ध रुपमा स्यालो ट्युबवेल जडान गर्ने कार्यक्रम तराई मधेस सिँचाइ विशेष कार्यक्रममा समावेश गरिनेछ । आठ जिल्लामा हरेक वर्ष स्यालो ट्युबबेल जडान गर्ने कार्यक्रम अगाडि सारिन्छ । तर समस्या जस्ताको तस्तै रहने गरेको छ । आकाशे पानीको भरमा मात्रै खेती गर्नुपर्ने बाध्यता किसानका लागि सधैँ उस्तै छ । कृषि उपज उत्पादनमा कमी हुँदा आठ जिल्लाबाट वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ भने जमिन बाँझो राख्ने क्रम पनि बढ्दै गएको छ । तराईका आठ जिल्लामा पूर्ण रुपमा रोपाइँ हुन नसक्दा राज्यले प्रतिवर्ष १५ अर्ब बढीको नोक्सानी बेहोेर्नु परेको छ । कागजमा मात्रै सीमित स्यालो ट्युबबेल र सिँचाइ आयोजना वास्तविक रुपमा किसानको खेतसम्म नपुग्दा समस्या उत्पन्न भएको भन्दै आफूले योजनाबद्ध कृषि विकासको लागि सिँचाइको योजना अगाडि सारेको मन्त्री यादवले बताउनुभयो ।

दोस्रो जनआन्दोनपछिका सबै कार्यक्रमको अनुसन्धान गरिने
मन्त्रालयले दोस्रो जनआन्दोलनपछि हालसम्म सञ्चालन गरिएका सिँचाइ आयोजनाको सम्बन्धमा तथ्यसङ्गत छानबिन गर्ने भएको छ । ‘सिँचाइ आयोजना ‘जनताको खेतमा छ कि दलालको पेटमा’ छ सो को छानबिन गरिन्छ । राज्य कोषको दुरुपयोग कोही कसैले गर्न हुँदैन, पाइदैन’ यादवले भन्नुभयो । अधिकांश आयोजना कागजमा मात्रै रहेको, अख्तियारको दुरुपयोग भएको, जनताको काम नगर्ने, आर्थिक अपचलन गर्ने प्रवृत्ति मौलाएको भन्दै त्यसको छानबिन हुने र दोषीमाथि कारबाही गरिने उहाले बताउनुभयो ।
छानबिन समिति गठन
मन्त्रालयले गण्डक, वाग्मती, सप्तरीको चन्द्र नहर र सुनसरी–मोरङको सिँचाइ आयोजनाको वर्तमान अवस्था, सुधारका उपायलगायत विषयमा स्थलगत अध्ययन गर्न छानबिन समिति गठन गरेको छ । सिँचाइ मन्त्रालयका सहसचिवको नेतृत्वमा गठन गरिएको सो समितिमा सिँचाइ मन्त्रालयका पूर्वसचिव शीतलबाबु रेग्मी र सिँचाइ विभागका पूर्व महानिर्देशक शिवकुमार शर्मा सदस्य हुनुहुन्छ । समितिलाई १५ दिनको समयसीमा प्रदान गरिएको छ । सो समयसीमाभित्र ती आयोजना सुधार गर्न के–के गर्न सकिन्छ भन्ने आवश्यक सुझाव समितिले दिने र कार्यान्वयनमा लैजाने मन्त्री यादवले बताउनुभयो । नेपाल राष्ट्र बैंकका अनुसार बर्सेनि चामल आयात बढ्दै गएको छ । आव २०७१÷७२ मा करिब रु १५ अर्बको चामल आयात भएको थियो भने चालु आवको हालसम्म पनि चामल आयातको मात्रा बढ्दै गएको छ । आयात प्रतिस्थापन गर्न पनि धान पकेट क्षेत्रको रुपमा रहेको तराईका आठ जिल्लामा प्रभावकारी रुपमा सिँचाइ आयोजना अगाडि बढाउनु आवश्यक देखिन्छ ।

कांग्रेस नेतृत्वमा किचलो, ७ हजारभन्दा बढी सदस्यले महाधिवेशनमा भाग लिन नपाउने

गोविन्द विश्वकर्मा
माघ ४, काठमाडौं – नेपाली कांग्रेसमा देखिएको गुट–उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजारभन्दा बढी सदस्य आसन्न १३औं महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट बन्चित हुने भएका छन् । कांग्रेसमा सभापति सुशील कोइराला ९संस्थापन० र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट बन्चित हुन लागेका हुन् । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लोपटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट बन्चित भएका छन् । यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए । कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपुर्‍याइ आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो । दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदरको स्थितिमा पार्टी नेतृत्वले कैलालीका ६ ओटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पार्टीको  निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नवप्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली कांग्रेसका सभापति नरनारायण शाह र पूर्वसभापति गोविन्दराज जोशी बताहुन्छ ।सोलुखुम्बुमा दुबै गुटको खिचातानीले एक हजार ३५० नयाँ सदस्य १३औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट बन्चित भएका छन् । सोलुखुम्बु कांग्रेसका सभापति आङगेलु शेर्पाले पार्टीमा नयाँ रक्तसन्चारकारुपमा भित्रिएका युवा वर्गको सदस्यता स्थगन गर्दा यसले पार्टीलाई दीर्घकालीन असर पार्ने बताहुन्छ । पार्टीको यस निर्णयले निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई प्रतिकूल असरपार्ने सभापति शेर्पाको भनार्इ छ । सोलुखुम्बु निवासी कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने पार्टी कब्जा गर्ने र पार्टीका इमान्दार, कर्मठ र त्यागी नेता कार्यकर्तालाई पाखा लगाउने मनसायले जिल्लामा अनावश्यकरुपमा क्रियाशील सदस्यता वितरण गरिएको देखिएकाले पार्टी बचाउन त्यस्तो निर्णय गरिएको बताउनुभयो ।
रौतहट कांग्रेसका सभापति कृष्णप्रसाद यादव जिल्लामा संगठन बलियो बनाउन आफूले नयाँ सदस्यता वितरण गरेको भएपनि नेतृत्वको स्थगन गर्ने निर्णयले जिल्लाका कांग्रेस जनप्रति घात भएको बताउनुहुन्छ । अर्कोतिर, रौतहट निवासी अफताव आलम व्यक्तिगत स्वार्थ र विधानविपरीत वितरण गरिएका नयाँ सदस्यता स्थगन गरेर नेतृत्वले पार्टीलाई विधानसम्मत बनाएको दाबी गर्नुहुन्छ । ६ निर्वाचन क्षेत्र रहेको रौतहटमा पार्टीले १, २, ३ र ४ निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यता हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
पार्टीको गत पुस २७ गते बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न गरेको निर्णयसँगै पार्टीमा १३औं महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य संख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । कांग्रेसको १२औं महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३औं महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकैदिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौंमा हुनेछ ।

सडकको प्रतिक्षालयबाट २ बच्चाको उद्धार

गोविन्द विश्वकर्मा
माघ ०४, सुर्खेत – सुर्खेत वीरेन्द्रनगरको पिपिरा चोकबाट २ जना बालकलाई प्रहरीले उद्धार गरेको छ । पिपिराको एक प्रतिक्षालयबाट ३ महिनाको बालिका र वर्ष ६ को बालकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोग र जिल्ला बाल कल्याण समिति सुर्खेतको समन्वयमा उद्धार गरिएको हो । करिव ३० बर्षकी महिला केही महिना देखि पिपिरा चोकको प्रतिक्षालयमा वेवारिसे अवस्थामा बस्दै आएकी थिइन् । गरिवीले विहान बेलुका छाक टार्ने र छोराछोरीलाई लत्ताकपडाको जोहो गर्ने पैसा नभएकाले स्थानिय  देउती बज्यै मन्दिरमा विहानै दृ्ेखि माग्न बस्ने महिलाले दिनभर मागेर जम्मा गरेको पैसाले साँझ मदिरा सेवन गर्ने, छोराछोरीलाई बेवास्ता गर्ने भएकाले बालबालीकाको बेहाल भएको थियो । मदिरा सेवन गरेकै कारण ती महिलाले बच्चालाई आफैले दुव्र्यवहार गर्दै आएको पाईएको छ । अलि मानसिक अस्वस्थ जस्तो लाग्ने र प्राय नशामा रहने यि महिलालाई सुत्केरी ब्यथा लागेपछि जिल्ला प्रहरी कार्यालय सुर्खेतले गत असोज २८ गते राति मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमा पु¥याएको थियो । जिल्ला बाल कल्याण समितिले मंसीरमा बच्चालाई उद्धार गर्ने प्रयास गरेता पनि आमाले दिन इन्कार गरेपछि असफल भएको प्रहरलिे जनाएको छ । पिपिरा चोकको समुदायले आमा नहुदा कपडा लगाईदिने देखि लिएर बच्चाको लागि धेरै सहयोग गरेता पनि समुदायसंग उल्टै झगडा गर्ने, फोहोर शब्द बोल्ने, ढुङ्गाले हान्ने गरेको बताएका छन् । बालीकालाई उद्धार गर्ने क्रममा बच्चा रोएकोले टोलीमा खटिएको महिला प्रहरी जवान पार्वती मल्लले आफ्नो दुध खुआएकि थिईन् । उद्धार गरे पछि ३ महिनाको बालिकालाई सुर्खेत बाल क्लिनिकका डा. नवराज के.सी.ले निःशुल्क स्वास्थ्य उपचार गरी सहयोग गरेका छन् र दुवैै बालक नव जीवन बाल संरक्षण केन्द्र सुर्खेतको संरक्षणमा राखिएको छ ।

कालीकोटमा पहिलो पटक सामुदायिक पुस्तकालय

गोविन्द विश्वकर्मा
माघ ०२, कालीकोट – यस जिल्लामा पहिलो पटक सामुदायिक पुस्तकालयको स्थापना हुने भएको छ । मान्ममा साहित्यकारले पहिलो पटक पुस्तकालय गर्न लागेका हुन् । जिल्लामा साहित्य तथा कला क्षेत्रमा काम गर्दै आएको कला नेपालले पुस्तकमार्फत ज्ञान सिप बाँड्न पुस्तकालयको स्थापना गर्न लागेको कला नेपालका अध्यक्ष एवम् साहित्यकार कृष्णराज धमालाले बताउनुभयो । उहाका अनुसार जिल्लाभित्र तथा बाहिरबाट ५०० पुस्तक सङ्कलन गरी सदरमुकाममा जम्मा पारिएको छ । उहाले ‘सिङ्गो कर्णाली र खस भाषाको थलोको रुपमा चिनिएको संस्कृति रक्षाका लागि पनि अध्ययनको खाँचो भएको बताउनुभयो ।’ जिल्लामा क्रियाशील साहित्यकार र अन्य निकायबाट पुस्तक सङ्कलन गरिएको हो । वलपरासीलगायतका ठाउँबाट पनि पुस्तकका लागि हातेमालो गर्ने योजना बनाइएको छ । पुस्तकालयमा कृषि, राजनीति, दर्शन, मनोरञ्जनलगायतका विधासम्बन्धी किताब राखिने छ । विभिन्न निकायसँग समन्वय गरी माघ महिनाभित्र पुस्तकालय सञ्चालनमा ल्याइने साहित्यकार दुर्गा काफ्लेले बताउनुभयो ।

सुर्खेतमा बहुबिवाह मुद्दामा एक जोडी पक्राउ

गोविन्द विश्वकर्मा

पुस २९, सुर्खेत - बहुविवाह गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक जोडीलाई पक्राउ गरेको छ । जेठी श्रीमती अमृता सुनारले दिएको जाहेरीका आधारमा वीरेन्द्रनगर नगरपालिका १३ का मोतिलाल सुनार र उनकी कान्छी श्रीमती चन्द्रा विकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पीडित अमृताले दिएको किटानीका आधारमा मोतिलाल र चन्द्रालाई वीरेन्द्रनगर १३ एयरपोर्ट नजिकवाट  पक्राउ गरिएको हो । उनीहरुविरुद्ध मुद्दा दर्ता गरेर सुर्खेत जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

चिनाउन सके पंचकोशी क्षेत्र नेपालकै पहिलो गन्तब्य हुनेछ तिर्थयात्री

गोविन्द विश्वकर्मा
पुस २८, दैलेख –  दैलेखमा रहेको पंचकोशी तिर्थस्थललाई चिनाउन सकेमा नेपालमै पहिलो तिर्थस्थल हुने विदेशी तिर्थयात्रीहरुले दावी गरेका छन् । पंचकोशी तिर्थमा आएका विदेशी तिर्थयात्रीले तिर्थ पुरा गरेपछि यहाँको धार्मीक क्षेत्र सवैको नजरमा आर्कषण रहेको दावी तिर्थयात्रीहरुले गरेका हुन् ।  पंचकाशी क्षेत्र महत्वपूर्ण, सुन्दर र निकै राम्रो रैछ अमेरिकन नागरिक तथा तिर्थयात्री विलियम पि. फोब्र्सले दैलेख सदरमुकाममा रिपोर्टर्स क्लव दैलेखले गरेको पंचकोशी क्षेत्रको अवस्था विषयक साक्षात्कार कार्यक्रममा दैलेखकाधार्मीक तथा बैज्ञानिक दुवै पर्यटकहरुका लागि खुल्ला ऐना झै भएको बताउनुभयो । पत्रपत्रिकामा आफुले यहाँको धार्मीक क्षेत्रका बारेमा पढ्दै आएपछि अहिले घुम्ने अवसर पाएर धन्य भएको उहाले बताउनुभयो । पहिलो पटक यहाँको तिर्थ गरेर आफुले धेरै कुराको अनुभव गरेझै लाग्यो । विदेशी तिर्थयात्री फोब्र्सले प्रचारप्रसार गर्न सके नेपालकै पहिलो तिर्थस्थलका रुपमा चिनिने बताउनुभयो । धार्मीक क्षेत्रमा प्रकृती मनमहोक दृश्य कम्ती राम्रो छैन् । यहाँ आउने सवैले आफुले तिर्थ दोहोराउने छन् र अरुलाई पनि आउन प्रेरित गर्नेछन् । पंचकोशी रुचीपूर्ण, खोजपूर्ण तथा मनको शान्तीका लागि आउनैपर्ने स्थान भएको उहाको भनाई । पंचकोशी क्षेत्रको १० वर्षदेखी प्रचारमा एक्लो रुपमा चिनाउन लागेका धार्मीक सांस्कृती तथा ऐतिहासका जानकार विश्व केसीले अहिले जिल्लाबासीहरुकै सहयोग पाएमा खुसी छन् । दैलेखलाई चिनाउन कुनै पनि कुराको अपुग छैन् । ऐतिहासका जानकार केसीले २५ जातजातिको उद्गम स्थलदेखी धार्मीक, सांस्कृतीक तथा ऐतिहासिक स्थलका साथै प्राकृतिक सुन्दरता समेत रहेको बताउनुभयो । नेपाली भाषाको पहिलो शिलालेखदेखी जलवायूले साथ दिएको सल्लो र साल समेत दैलेखमा एकै ठाँउमा देख्न सकिने केसीको भनाई थियो । दुल्लुमा रहेको किर्तिखम्वले खस राज्यको ईतिहास समेत चित्रण गरेकाले यहाँ आउनेहरुका लागि दैलेख सिक्ने थाले भएको केसीले बताउनुभयो।

स्थानीय निकायको निर्वाचन मिति चाँडै तय गर्ने उपप्रम थापा

गोविन्द विश्वकर्मा
पुस २८, काठमाडौ – उपप्रधानमन्त्री तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकारले चाँडै स्थानीय निकायको निर्वाचनको मिति तोक्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाको सत्ताइसौँ नगर परिषद्बाट पारित बजेट, योजना तथा कार्यक्रम सार्वजनिक समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले लामो समयदेखि स्थानीय निकायको निर्वाचन नहुँदा थुप्रै समस्या आएकाले त्यसलाई सरकारले चाडै सम्बोधन गर्ने बताउनुभएको हो । परराष्ट्र मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका मन्त्री थापाले भन्नुभयो, “स्थानीय निकायमा कार्यरत कर्मचारीले आफ्नो जिम्मेवारी निर्वाचित जनप्रतिनिधिलाई हस्तान्तरण गर्ने तयारी गर्नु होला ।”
उहाँले एक वर्षभित्र कोटेश्वरको तीनकुनेमा विशाल बौद्ध स्तम्भ निर्माण गर्न र महानगरका सम्पूर्ण सडकमा सडक बत्तीको व्यवस्था गर्न निर्देशन दिनुभयो । उहाँले आफ्ना काम कारबाहीलाई पारदर्शी एवम् जनताको अपेक्षाअनुसार अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । आगामी दुई वर्षभित्रमा सडकको सञ्जालले नछोएका ५०० गाविसमा सडक पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै उपप्रधानमन्त्री थापाले सोहीअनुसारको योजना तथा कार्यक्रम बनाएर काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो । उहाँले देशका विभिन्न समुदायबाट संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दल र त्यहाँ आबद्ध विविध क्षेत्र, जाति, भाषा धर्म मान्ने सभासद्को साझा सहमतिको दस्तावेज संविधान विश्वकै उत्कृष्ट भएको बताउनुभयो । केही व्यक्ति तथा समुदायले जारी संविधानप्रति असन्तुष्टि जनाउनु सामान्य भएको बताउँदै मन्त्री थापाले तराईमा जारी आन्दोलन तन्काउनुको कुनै अर्थ छैन भन्नुभयो । कार्यक्रममा काठमाडौँ महानगरपालिकाबाट प्रतिनिधित्व गर्ने सांसद दीपक कुँइकेल, रामेश्वर फुयाँल, रामवीर मानन्धर, ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसीले जारी विधानको कार्यान्वयनका लागि स्थानीय निकायको निर्वाचन गर्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँहरुले महानगरको एकीकृत विकास र पुनःनिर्माणका लागि सबै राजनीतिक दल र स्थानीयस्तरमा कार्यरत सामाजिक संस्थाको एकता आवश्यक भएकाले त्यसतर्फ सबैको जोड हुनुपर्ने बताउनुभयो । 
त्यसैगरी, प्रशासकीय अदालतका अध्यक्ष काशीराज दाहाल र पूर्व मुख्यसचिव लीलामणि पौड्यालले स्थानीय निकाय नै लोकतन्त्रको पाठशाला भएकाले दिगो विकासका लागि स्थानीय निकायको निर्वाचन तत्काल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महानगरका विषयमा समाचार लेख्दै आएका ‘नयाँ पत्रिका’का पत्रकार टेकराज थामी, ‘अन्नपूर्ण पोष्ट’का गोपीकृष्ण ढुङ्गाना, ‘नागरिक’का ज्ञानु न्यौपाने र ‘रातोपाटी’ अनलाइनका राजेश भण्डारीलाई जनही रु १५ हजारसहित प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यसैगरी, महानगरपालिकामा रही उत्कृष्ट कार्य गर्ने कर्मचारी डा उत्तरकुमार रेग्मी, हरिबहादुर कुँवर, धनपति सापकोटा, सुलोचना श्रेष्ठलगायतलाई पुरस्कृत गरिएको थियो भने महानगरमा अनवरतरुपमा सेवा गर्दै आएका कर्मचारीलाई ‘दीर्घसेवा पदक’बाट सम्मान गरियो ।

प्रदेश नं.६ को कार्यकर्ता प्रशिक्षण सम्पन्न, एमाओवादीभन्दा नयाँ शक्ति अर्को हुनै नसक्ने नेताहरुको भनाई

गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत–एमाओबादीको एनेकपा (माओवादी) को प्रदेश नं. ६ को आन्तरिक प्रशिक्षण कार्यक्रम आज सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ । पछिल्लो राजनीतिक अवस्था, पार्टीको आगामी कार्ययोजनालगायतका विषयमा सुर्खेतको वीरेन्द्रनगरमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिको नेतृत्व एमाओवादीले नै गरिरहेको भन्दै नेता तथा कार्यकर्ताहरुलाई धैर्य गरेर बस्न आग्रह गरेका थिर्नुभएको हो । प्रदेश नं. ६ का विभिन्न जिल्लाका पार्टी अध्यक्षहरुले प्रतिवेदन प्रस्तुत गरिसकेपछि आफ्नो भनाई राखेका अध्यक्ष दाहालले लामो समय एमाओवादीबाट छुट्टिएर नयाँ शक्ति अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नयाँ शक्तिको भनाइ राखेका थिए । नयाँ शक्तिका सम्बन्धमा अध्यक्ष दाहालले नेता तथा कार्यकर्ताहरुलाई कतै नडगमगाएर बस्न आग्ह गर्दै नयाँ शक्ति कस्तो बन्छ भन्ने कुरा त एक वर्षै थाहा भइहाल्ने बताउनुभयो । अहिले केही मान्छेहरु नयाँ शक्ति भनेर त्यसकै पछाडि लागेको भएपनि अहिले फर्किएको भन्दै नयाँ शक्तिको औचित्य नहुने बताउनुभयो । उहाँले अबको नयाँ शक्ति भनेकै एमाओवादीभएको भन्दै सबै पार्टी निर्माणमा लाग्न आग्रह गर्नुभयो । जिल्लाका अध्यक्षहरु र अन्य नेता तथा कार्यकर्तारुलाई पार्टी निर्माण गर्न निर्देशन गर्दै अध्यक्ष दाहालले अब एमाओवादीलाई नयाँ बनाएर देखाउने र एमाओवादी नै देशको पहिलो शक्ति हुने बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ६ का विभिन्न जिल्लाका अध्यक्षहरुले दाहाललाई जिल्लाको अवस्थाका बारेमा जानकारी गराएका थिए । प्रशिक्षणमा एमाओवादीका उपाध्यक्ष नारायणकाजि श्रेष्ठ, महासचिव कृष्णबहादुर महारा, प्रदेश नं. ६ का इन्चार्ज जनार्दन शर्मा लगायतको सहभागिता थियो ।

अख्तियारको टोली मलेसियातर्फ लाग्यो

गोविन्द विश्वकर्मा
पुस २८, काठमाण्डौ – वैदेशिक रोजगारीका क्रममा मलेसिया पुगेका नेपाली कामदार विभिन्न श्रम शोषण, ठगी र यौनजन्य हिंसा परेका हजारौँ उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली स्थलगत अनुमगन गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेको छ । आयोगका सहसचिवको नेतृत्वमा रहेको अनुसन्धान टोलीले श्रमिकले समस्या भोग्नुपरेको मुख्य बिन्दुमा नै गएर आठ दिनसम्म स्थलगत अध्ययन अनुसन्धान गर्ने प्रवक्ता कृष्णहरि पुस्करले जानकारी दिनुभयो । उक्त टोलीमा आयोगका दुई अनुसन्धान अधिकृतका अतिरिक्त वैदेशिक रोजगार विभागका महानिर्देशक, वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशकसमेत रहेका छन् । टोलीले नेपाली कामदार कार्यरत कम्पनी, विभिन्न अभियोगमा हिरासतमा रहेका नेपाली कामदार, श्रमशोषणमा परेका कामदार तथा सम्बद्ध निकायसँग पनि छलफल तथा अन्तरक्रिया गर्नेछ ।
मलेसिया नेपाली कामदार रोजगारीका लागि जाने प्रमुख गन्तव्य हो । सो मुलुकमा १० लाखको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको अनुमान गरिएको छ । समस्यामा परेका नेपाली कामदारलाई निःशुल्क कानुनी परामर्श तथा उपचार दिलाउने काममा सहयोग पु¥याउन मलेसियाली बार एसोसियसनसँग समेत टोलीले पहल गर्नेछ । प्रवक्ता पुस्करकाअनुसार नेपाली ‘एजेण्ट’बाटै ठगीमा परेको, शोषण व्यहोर्न बाध्य तथा यौनजन्य हिंसाबाट प्रताडित हुने कार्य कसरी रोक्न सकिन्छ भन्ने विषयमा पनि टोलीले अनुसन्धान गर्नेछ । रोजगारीको प्रमुख गन्तव्यका रुपमा परिचित मलेसियामा कार्यरत नेपाली कामदार सबैभन्दा बढी नेपालीबाटै ठगीमा परेका छन् । रोजगारदाता निकायले नै कामदारलाई श्रम शोषण गर्ने गरेको तथा त्यसमा नेपालीको नै सङ्लग्नता रहेको पाइएको छ । समस्यामा परेका नेपाली कामदारले नै आयोगलाई विभिन्न माध्यमबाट उजुरी गरेपछि आफूहरुको कार्यक्षेत्र भित्रै नै रहेर स्थलगत अनुगमनमा जान लागेको जनाएको छ । आयोगले कागजातविहीन अवस्थामा रहेका, रोजगारीमा जाने क्रममा भएको ठगी, अपराधीकरणको सिकार व्यहोर्नुपरेका, अनाहकमा जेल सजाय भोगीरहेका कामदारलाई कसरी स्वदेश फर्काउन सकिन्छ सो बारेमा समेत अध्ययन गर्नेछ । आयोगमा नेपाली दूतावासले श्रमिकको पीडा समाधान गर्न आवश्यक पहल नगरेको, श्रम सहचारीले तोकिएको जिम्मेवारी पूरा नगरेको जस्ता उजुरी परेको जनाइएको छ । कानुनी सहायता श्रमिकमैत्री नभएको, राहत तथा उद्धारमा ध्यान नदिएको, मलेसियाका रोजगारदाता कम्पनीले विभिन्न कारणले मृत्यु भएका व्यक्तिलाई पनि प्राकृतिक मृत्यु भएको भनी कागजात बनाउने गरेको र मृतकलाई स्वदेश ल्याउन हुँदै आएको झन्झटलाई सामान्यीकरण नगरेको उजरीमा देखिएको प्रवक्ता पुस्करको भनाइ छ । कोप्रासी नामक एजेन्टले नक्कली कागजात बनाई नेपाली कामदारलाई ठगी गरेको भन्ने उजुरी पनि आयोगमा परेको छ ।
यसैबीच, आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की भ्रष्टाचार नियन्त्रण र सुशासनका क्षेत्रमा कार्यरत मलेसिएन एन्टी करप्सन कमिसनको प्रमुखको निमन्त्रणामा आगामी माघ ४ गते मलेसिया जान लागेका छन् । भ्रमणका क्रममा प्रमुख आयुक्त कार्कीले आयोग र मलेसिएन एन्टी करप्सन कमिसनबीच भ्रष्टाचार नियन्त्रणमा सहकार्य गर्नेसम्बन्धी द्विपक्षीय प्रारम्भिक सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको प्रवक्ता पुस्करको भनाइ छ । अन्तर्राष्ट्रिय साझा निकायमा दुई मुलुकबीच समान धारणा बनाएर अघि बढ्न हस्ताक्षरसँगै बाटो खुल्ने जनाइएको छ । प्रमुख आयुक्त कार्कीको मलेसिया भ्रमणको कार्यक्रम हालै नेपाल सरकार मन्त्रिपरिषद्ले अनुमोदन गरिसकेको छ । मलेसियामा रहँदा प्रमुख आयुक्त कार्कीले मलेसियाली मानव संशाधन मन्त्रीलगायत उच्च सरकारी अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

एमाओबादी अध्यक्ष प्रचण्ड सुर्खेत आउदै, कार्यकर्ता प्रशिक्षणमा ब्यस्त रहने

गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत – एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज सुर्खेत आउँदैहुनुहन्छ । पूर्व प्रधानमन्त्रीसमेत रहेका पार्टीका बरिष्ट नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति बनाउने भन्दै पार्टी छोडेपछि पार्टी निर्माण गर्ने घोषणा गरेका प्रचण्ड त्यसक्रममा सुर्खेत आउन लाग्नुभएको हो । अब एमाओवादीलाई नै नयाँ शक्तिका रुपमा देशको एक नं. टार्पी हुने बताएका प्रचाण्डले सुर्खेतमा प्रदेश नं. ६ का पार्टी कार्यकर्ताहरुलाई प्रशिक्षण दिनुहुनेछ । साविकको मध्यपश्चिमाञ्चल विकास क्षेत्रका दाङ, बाँकेमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरु सकेर दाहाल लगायतको केन्द्रीय पदाधिकारीको टिम भेली मंगलबार) सुर्खेत आउन लागेको एमाओवादी सुर्खेतका अध्यक्ष नरबहादुर विष्टले जानकारी दिनुयो । दाहालका साथमा एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्व गृहमन्त्री तथा पार्टी महासचिव कृष्णबहादुर महरा लगायतका नेताहरु सुर्खेत आउने भएका छन् । आज हुने प्रशिक्षण कार्याक्रममा प्रदेश नं. ६ का दश जिल्लाका जिल्ला स्तरका नेता, भातृ संगठनका अध्यक्ष र केन्द्रीय सदस्य, कम्पनी कमाण्डर भन्दा माथिका पूर्व लडाकुहरु, पार्टीका जिल्ला सल्लाहाकारहरुको सहभागिता रहने एमाओवादी सुर्खेतले जनाएको छ । ६ नं. प्रदेशका दश जिल्लाका नेता तथा कार्यकर्ताहरु केही सोमबार नै आइसकेका छन् भने केही आज (मंगलबार) नै वीरेन्द्रनगर आउने एमाओवादी सुर्खेतका अध्यक्ष विष्टले जानकारी दिनुभयो । प्रदेश नं. ६ को राजनीतिक प्रशिक्षण सुर्खेतमा हुने भएपछि केही दिन अघी नै यस क्षेत्रका इन्चार्ज जनार्दन शर्मा सुर्खेतमा आउनुभएको छ । शर्माले सुर्खेतमा आएर पार्टीका विभिन्न पेसागत संगठनहरुसंग साक्षात्कारसमेत गर्नुभएको छ । स्रोतका अनुसार इन्चार्ज शर्माले यस क्षेत्रका अन्य माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेट गर्नुहुनेछ । शर्माले अब प्रदेश नं ६ मा माओवादी एउटा मात्रै हुने भन्दै सबैसंग छलफल चलाएको स्रोतको भनाइ छ । उहाले बैद्य नेतृत्वका माओवादी नेता, कार्यकर्ताहरु र नेत्रविक्रम चन्द माओवादीका नेता तथा कार्यकर्ताहरुसंग पनि भेटघाट गरेको स्रोतको भनाइ छ ।

मनकम्पन

विनिता दाहाल 
मध्यरात छानाबाट चुहिएको शीतको थोपा निधारमा ठोक्किएपछि सानो छोरा झसंग ब्युँझियो । त्यहीबेलादेखि सीताका आँखा फेरि लाग्न पाएका छैनन्।  छोरोलाई आफू सुतेको ठाउँपट्टि सारेर एकछिन दूध चुसाउँदै थुम्थुमाएपछि ऊ कोकोहोलिन पाएन। छोरोले निद्राकै सुरमा कोल्टे फेरेपछि सीता बाहिर निस्किई । भूकम्प गएपछि सरकारले ओत लाग्न दिएको पालमा कहाँनेर प्वाल छ, उसले त्यसैबाट पूर्णिमाको उज्यालोमा टहराभित्रबाटै बाहिर छ्यांग देखिएको आकाश नियाली। शीतका थोपा चुहिएको रोक्न, वर्षामा रोपाइँ जाँदा ओढ्ने गरेको स्यारलेटले थपक्क छोपिदिई । मध्यरात हुँदा बल्लबल्ल तातेका उसका हातखुट्टा फेरि उत्तरका हिमालबाट आएको स्याँठले हिउँ छोएर आएजस्तै चिसा भए । अघि छोरो सुतेकै ठाउँमा गएर निदाउन खोजी।
थोपाथोपा शीत झरे पनि थाङ्नो भिजेर लफ्रकै भइसकेको रहेछ । उसले छोराको अनुहारमा शीत परेपछि मात्रै थाहा पाएकी रहिछ। अब यो रात कसरी काट्ने होलारु कठ्यांग्रिदो जाडोले शरीर मात्रै होइन, केही दिनयता गाउँलेले काट्न थालेका कुराले उसको मन उत्तिकै चिसो भएको छ । बारीको तल्लो पाटोमा अलिकति तरकारी लगाउनुपर्यो भनेर केही दिनअघि ऊ ढुंगेधारामा पानी भर्न गएकी थिई। गाउँकी एक जना जेठानी दिदीले बाटोमा भेटेर साउती गर्दै उसको कान भरिदिई, ‘अहिले ससुरा बुहारी एउटै ओछ्यान ला’एर सुत्छौ रे भनेर गामभरि मान्छे कुरा काट्न थालेका छन्। मैले हिजो हाम्रा घरकाले भनेपछि था’पाएँ। तिमी त्यस्ती छैनौ। तर होस् गरेस्, गामठाम यई हो।’ त्यति सुनेपछि उसको मनमा उकुसमुकुस हुने गरी कुरा खेल्न थालेका छन्। माइतीमा पनि यो कुरा पुर्याए होलारु अब कुन मुख लिएर गाउँमा मेलापात गर्न जाउँलारु भूकम्पले ओत लाग्ने छानोमात्रै छिनेन, आफ्नो अस्मिता माथि अरूलाई कुरा काट्ने ठाउँसमेत दिएको छ । हुन त भूकम्पले गाउँभरिकै घर ढलेर सबैको टहराकै बास छ तर उनको जस्तै बाध्यतामा गाउँका अरू छैनन् । ऊ मनमा अनेक कुरा खेलाइरहेकी थिई । पानी भर्न आएका गाउँका अरू महिलाले मुखामुख गर्दै पानी भरे। वर छँदा केही भनेनन्, पानीको गाग्री बोकेर अलि माथ्लापट्टि कान्लामा पुगेपछि धारे हात लगाउँदै भने, ‘भगवानको डरभर नभएपछि कसको के लाग्छ ?’ 
सीतालाई मनमनै लाग्यो, सासू निकै जाति थिइन्, भूकम्पले छिट्टै लग्यो। भूकम्पमा नमरेकी भए अहिले गाउँलेका यस्ता कुरा सुन्नुपर्ने थिएन। भूकम्पले घर भत्काउँदा गोठमा भैंसीलाई कुँडो खुवाउन पुगेकी सासू गाईको किलोसँगै मरेकी भेटिइन्। त्यसैबेलादेखि ससुराको पनि सुर छैन । भूकम्प नआउँदै आर्थिक जोहो गर्न भन्दै कतार पुगेका श्रीमानले छुट्टी मिलाएर घर फर्कन पाएका छैनन्। भूकम्पपछि के कस्तो भयो भनेर खबर गर्दा उनले रुँदै भनेका थिए, ‘आमाको काजक्रिया गर्न पनि नपाउने भएँ। बाँचेका बाको राम्रो हेरबिचार गर्नू ।’  बिहान बेलुका नुनतेल गर्न दूध बेचेर पुग्ने भैंसी पनि गोठ भत्किएर दाम्लाको दाम्लै मर्यो। यो वर्ष दशा पनि सबै खुशी बढारेर लैजाने गरेर आएको रहेछ क्यारे ।  उसलाई लागेको छ, अहिले मध्यरात १ बजेको हुनुपर्छ । सुत्न पुग्ने अरू ठाउँ यो सानो टहरामा अन्त छैन। राति जाडो नहोस् भनेर अगेनामा झोसेको एउटा मुडो पुतपुत धुवाइरहेको छ। ऊ चार जना छोराछोरीलाई भएका सिरक ढस्नाले गुम्म छोपिदिएर मजेत्रोको सप्को देब्रे काँधमा हालेर अगेनाछेउ सरी। अनुहारभरि मुझैमुझा परेका ससुरा त्यतै फर्किएर निदाइरहेको उसले आगोको थोरै उज्यालोमा देखी । भूकम्प गएपछि घर भन्नु टहराको यही एउटा खोपोजस्तो ठाउँ छ । जहाँ बीचमा एउटा अगेना छ । त्यसको देब्रेछेउ सीता आफ्ना साना छोराछोरी च्यापेर सुत्छे। दाहिनेछेउ अगेनाकै अढेश लागे जसरी ससुरा बुढा निदाउँछन् । उनको अनुहार हेरेर उसलाई लाग्यो, बाको उमेर पुगेका यी बुढासँग गाउँलेले मेरो नाम जोडेर के पाप चिताएका होलान् ? श्रीमति मरेपछि ससुरा पनि दिनरात नभनी जाँडमात्रै खान्छन्। सुर गुमाएजस्ता भएका छन् । कहिले नातिनातिना, बुहारीले देख्छन् भन्ने पनि ख्याल नगरी टहराकै छेउतिर पिसाब फेर्न जान्छन् । ऊ के के सोच्दै थिई, बुढा ख्वाकख्वाक गरेर अर्कोपट्टि कोल्टे फर्किए । घुँडामा दुवै हात बाँधेर दाहिनेपट्टिका ससुरालाई हेर्दा उसको देब्रे आँखाबाट तर्रर आँशु झर्यो । मनभित्र परेको गाँठो कहिलेकाहीँ त भल्भली बगेका आँशुले पनि फुक्दैनन् । जेठानी दिदीको कुरा सुनेपछि भक्कानिएर श्रीमानसँग फोनमा कुरा गर्छु भनेर तल्ला घरे माइलामार्फत खबर पठाए पनि उनको फोन आएको छैन । काममा समय मिलाउन निकै गाह्रो पर्छ भन्थे । मिलेको भए त उनले पनि गरिहाल्थे ।

भूकम्प नजाँदै, गाउँमा उब्जनी पनि हुन छाड्यो । वर्षैपिच्छे जन्मिएका छोराछोरीलाई पढाइलेखाइ गराउन गाह्रो हुने भयो भनेर रमेशले एक साँझ श्रीमतिलाई सोध्यो, ‘मेरो उमेर छँदैछ, तँ घर व्यवहार टार्छु भन्ने आँट गर्न सक्छेस् भने म विदेश गएर चार–पाँच वर्ष कमाएर आउँछु । तेरै दाइले पनि विदेश गएर अहिले गाउँमै लोभलाग्दो घर बनाए, छोराछोरीलाई राम्ररी पढाएका छन् । तैं भन्दैथिइस् भाउजुले नयाँ गहना पनि जोडिछन् भनेर। मिल्यो भने म पनि कुरा गरेर भएको अलिअलि पैसा खर्च गरेर विदेश जान्छु ।’ श्रीमानले त्यति भनिरहँदा उसको कल्पना कतिबेला हो, चार–पाँच वर्षपछिका सुनौला दिनतर्फ पुगिसकेका थिए । फराकिलो आँगन भएको पक्की इटा र सिमेन्टको घर। वरिपरि बारीमा लहलहाउँदा तरकारी। गोठमा रहरलाग्दा गाईबाख्रा। हुर्किएका छोराछोरी, सुकिला लुगा लगाएर स्कुल जाँदै गरेका। पिँढीमा सासू–ससुरा तमाखु तान्दै गरेका। अनि आफ्नो गलामा झलक्क देखिने नौगेडी । उसले यस्तै कल्पना गरेर भनेकी थिई, ‘आमाले घरको भातभान्छा गर्लिन्, म ज्याला गरेर पनि छोराछोरी पढाउँछु, घर खर्च टार्छु तपाईं जाने मन बनाउनुस् । अर्को वर्षदेखि त तपाईंले नै पनि त पैसा पठाउन थाल्नुहोला ।’ सपनाले मान्छेलाई कति धेरै बल दिन्छ । संसारै जितौंला जस्तो । विपनाले त्यसैलाई एक निमेषमै खल्र्यामखुर्लुम्म झारिदिन्छ । भूकम्प गत वैशाखमा विपना बनेर आइदियो । उसले सपना अझै देख्न छोडेकी छैन । मनमा कुरा खेलाउँदै थिई, माइलो छोरो सपनामै बर्बरायो– नयाँ स्वीटर नकिन्दिने भए म स्कुलै जान्न । ऊ जुरुक्क उठेर छोराको खुट्टा छुन गई । चिसोले फुटेर खस्रा भएका पैताला सुम्सुम्याउँदै थिई, दाहिने आँखाबाट फेरि तर्रर आँशु झर्यो। पोल्टाको थैली झिकेर हेरी। अस्ति माइती गएका बेला आमाले दिएको हजारको नोट अलि लेसिँदो भएछ। धेरैपटक खोतल्दैमा बढ्ने त होइन, तैपनि घरमा गाह्रोसाह्रो पर्नेबित्तिकै उ एकपटक त्यही नोटलाई चिहाउँछे । सहरबाट आएकाहरूले अस्ति ओढ्नलाई नयाँ मन्डी ल्याइदिएका थिए । सीताको परिवारको भागमा दुईवटा परेको थियो । उनले एउटा ससुरालाई र एउटा आफूसहित छोराछोरीलाई ओढाउने गरेकी छन् । अस्ति त्यही मन्डीको छेउमा आगो सल्किएर झन्डै अनिष्ट नभएको । पहिला त यो माइलो छोरो हजुरबासँग सुत्न भनेपछि हुरुक्कै हुन्थ्यो । आजकाल गनाउँछ सुत्दिन भन्छ । न्यानो बाँढ्न आउनेले सिरक मात्रै नभएर बालबच्चालाई हुने न्याना लुगा, पानी चुहिँदा छोप्न प्लास्टिक अनि टोहोरामा कोठा बार्न मिल्ने केही ल्याइदिए पनि त हुन्थ्यो भन्ने उनलाई आश लागेको थियो । फेरि त्यही आशले बाँच्न सिकाए पनि सीतालाई आफैंले कर्म गर्नुपर्छ भन्ने लाग्छ । दुःखका पहाडै देखेकी उनकी आमाले सधैं उनलाई हाड खियाउनुपर्छ, पसिना बगाउनुपर्छ भनेर सिकाएकी थिइन् । सासूले रिस उठेका बेला दुई–चार बचन नराम्रो गरे पनि गाउँमा अन्य बुहारीले जस्तो उनले बर्तन खानुपरेको थिएन । अहिले तिनै सासू भएको भए गाउँलेका नानाथरी आरोप सहनुपर्दैनथ्यो भन्ने लागेको छ । आखिर गाउँलेले कुरा काट्न पाएका पनि यो टहरोमुनिको एउटै खोपामा हामी सबै परिवार सँगै सुत्छौं भनेर त हो ।
ससुराकी श्रीमति बितिन्, मेरा पति कतारमा छन् । यस्तै यस्तै कुरा खेलिरहँदा उनको कुनबेला आँखा लाग्यो । सपनामा उनले आफूलाई गाउँले ससुरासँग सल्किएको भन्दै लखेटेको देखिन् । भीरैभीरको बाटो दगुरिरहँदा अगाडि एउटा साँढे आइपुग्यो । त्यही साँढे जसलाई सीताकी सासूले अघिल्लो वर्ष बारीको कोदो फाँड्यो भनेर लखेटेकी थिइन् । अगाडि जाउँ भने अजंगको साँढे अहिल्यै हानुँला भनेर बसेको थियो, फर्कौं भने गाउँलेहरू ‘यसलाई पापधर्मको ख्याल भएन’ भन्दै लखेट्दै आइरहेका थिए । सीतालाई एक निमेष त यो प्राण यही गए पनि हुन्थ्यो भनेजस्तो लाग्यो । त्यत्तिकैमा निस्सासिएर सपनाबाट ब्युँझी । रातभर कठ्यांग्रिदो जाडो भए पनि सपनाबाट ब्युँझिदा उसको पूरै अनुहार पसिनाले भिजेको थियो । यस्तो सपनाले बिपनामा के अर्थ राख्ला ऊ सोच्दै थिई । उसले अगेना वरिपरि ससुराले नातिनातिना वरपर लिएर पानी तताइरहेको देखी । सपनाले आत्तिएर उठेकी बुहारीलाई ससुराले नजिकै आएर पानीको अंखरो दिए । उनलाई लाग्यो गाउँलेले जति कुरा काटे पनि होस् हुँदा, ससुरा आफ्नै बाउजत्तिकै जाति छन् ।  ठाडो घाँटी लगाएर कलकल एक अंखरा पानी पिएपछि उनले ससुरालाई पोल्टोबाट त्यही एक हजार रुपैयाँ दिँदै भनिन्, ‘बा, यो कालेको स्कुलमा स्विटर छैन भनेर सरले गाली गरेको छ रे, गाउँमा कसैलाई भनेर यसलाई एउटा स्विटरचाहिँ ल्याइदिन पाए हुन्थ्यो ।’ ससुरा आफ्नो काखका सानो नाति उसको काखमा राखिदिएर हिँडे । उसले अलि ठूलो स्वर गरेर फेरि भनी, ‘पैसा बच्यो भने छानामा हाल्ने पाल पनि ल्याइदिन भन्नू है ।’

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका ७ पदाधिकारी भ्रष्टाचारी ठहर, उपकुलपतिले सफाइ पाए

गोविन्द विश्वकर्मा
पुस २८, सुर्खेत – विशेष अदालतले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका रजिष्ट्रार ठकेन्द्र गिरीसहित सात पदाधिकारीलाई भ्रष्टाचारी ठहर गरेको छ । उपकुलपति देवकोटासहित नवराज कँडेलसहित ९ जनाले भने सफाइ पाएका छन् । विशेषले विश्वविद्यालयको रकम भ्रष्टाचार गर्ने कार्यमा संलग्न रहेको ठहर गर्दै जरिवाना र कैद हुने फैसला सुनाएको हो । विशेषले रजिष्ट्रार गिरीलाई १ वर्ष ९ महिना कैद र ६ लाख ८२ हजार जरिवाना हुने फैसला सुनाएको छ । उप रजिष्टार जगन्नाथ पौडेलका अनुसार भ्रष्टाचारी ठहर हुनेमा सुचन गौली, गणेशबहादुर राउत, पारसमणी गिरी, जिवनकुमार थापा गगनसिंह बोहोरा र लेखा नियन्त्रक कमल केसी रहेका छन् । विशेषले गौलीलाई ७ महिना कैद र ३ लाख १७ जरिवाना, राउतलाई ७ महिना कैद र २ लाख ९३ हजार, गिरी ६ महिना कैद र १ लाख ७८ हजार, थापा ६ महिना कैद र १ लाख ६ सय ८७ ,बोहोरा ६ महिना कैद र १ लाख ५८ हजार र लेखा नियन्त्रक केसी ७ महिना कैद तथा २ लाख ७३ हजार जरिवाना हुने फैसला सुनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपतिसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तर, उपकुलपति देवकोटासहित नवराज कँडेल, केशरशिंह राना, श्रीरामप्रसाद उपाध्याय, मस्तवहादुर गरम्जा, रामचन्द्र अर्याल, पिताम्वर ढकाल, लालमणी आचार्य, गणेशबहादुर केसीले भने सफाइ पाएका छन् ।

बाबुरामले पार्टी परित्याग गरेर जनयुद्ध र सहिदप्रति घात गरे: प्रचण्ड

गोविन्द विश्वकर्मा
पुस २७, काठमाण्डौ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली समाज वैधानिक रुपमा नै समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको बताउनुभएको । सोमबार राजधानीमा आयोजित अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनताका लागि सबैभन्दा भरपर्दो शक्ति एमाओवादी नै भएको बताउनुभयो । ‘यो समाजवादी क्रान्ति गर्न लायक पार्टी निर्माण गर्ने बेला हो ।’ प्रचण्डले भन्नुभयो, ‘गलत विचारको भण्डाफोर गर्दै संगठन सुदृढ गर्ने अभियानमा जोडदार रुपले लाग्नुपर्छ ।’ उहाले बाबुराम भट्टराईले पार्टी मात्र त्याग गरेको नभई माक्सवाद, जनयुद्ध, सहिद, बेपत्ता योद्धा र वर्गलाई नै त्यागेको दावी गर्नभयो । विगतमा संविधान निर्माण गर्ने काम पहिलो प्राथमिकतामा पारिएकोले संगठनात्मक कामले गति लिन नसकेपनि संविधानको कार्यान्वयनसँगै संगठनात्मक कामलाई पहिलो प्राथमिक कार्यसूचीमा राखेको उहाले बताउनुभयो । अध्यक्ष प्रचण्डले विचार, रणनीति, कार्यनीतिबारे पार्टीमा स्पष्टता आएको बताउँदै यसै अनुरुप संगठनलाई व्यवस्थित गर्न ३ महिने संगठन सुद्धिकरण अभियान संचालन गरिएको जानकारी दिनुभयो । ‘अखिल नेपाल टे«ड यूनियन महासंघ पनि समाजवादी क्रान्तिको आधार तयार पार्ने काममा केन्द्रीत हुनुपर्दछ ।’ प्रचण्डले भन्नुभयो, ‘मजदुर संगठनलाई समाजवादी क्रान्तिको औजारको रुपमा विकास गरेर समाजवादी क्रान्ति अनुकूल हाम्रो सोच र कार्यशैली विकास गर्नु पर्छ ।’

पूर्वराजालाई ओलीको जवाफ घरबार गरेर बस्न दिइन्छ

गोविन्द विश्वकर्मा
पुस २७, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘दरबार छाड्नेले घरबार गरेर बस्न पाउने’ जवाफ दिएका छन् । पूर्वराजा ज्ञानेन्द्रले पृथ्वीजयन्तीको अवसरमा दिएको शुभकामना सन्देशमा आफूले दरबार छाडे पनि घरबार नछाडेको बताएका थिए । त्यसको भोलिपल्ट राप्रपा नेपालले पृथ्वी जयन्तीकै अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले ज्ञानेन्द्रलाई जवाफ फर्काएका हुन् । प्रधानमन्त्री ओलीले गणतन्त्रमा इतिहासमा योगदान गरेका व्यक्तिहरुको सन्दर्भिकता हुँदैन भन्ने नहुने बताए । कम्प्युटर र ल्यापटप आयो भन्दैमा हिजो कापी कलमले लेखिएको महाभारत र रामायणको सन्दर्भिकता नसकिने भन्दै प्रधानमन्त्री ओलीले भने (‘आज हामी जहाँ छौं, त्यो ठीक छ । आजको सन्दर्भ भनेको दरबार छाड्नेले घरबार गरेर बस्न पाएकै छ, पाउँछ ।’ प्रधानमन्त्री ओलीले लोकतन्त्रभन्दा राजतन्त्र वा अर्को कुनै व्यवस्था राम्रो नहुनेसमेत बताए । ‘कुनै हिसाबले लोकतन्त्र भन्दा यसको अर्थ यो होइन कि एउटा लोकतन्त्रभन्दा तानाशाही, जहानियाँ, पारिवारिक वा जन्मसिद्ध श्रेष्ठताको पाखण्डी सिन्द्धान्त छ, यो उपयुक्त पो हो कि भन्ने निष्कर्ष निकाल्नुहुँदैन ।’ लोकतन्त्र उन्नत परिपाटी भएको व्यवस्था हो भन्दै प्रधानमन्त्रीले भने (जनताको शासनभन्दा अरु कसैको शासन उपयुक्त हो कि भन्ने त्यस्तो निष्कर्ष निस्कँदैन ।’ तर, इतिहासका विभिन्न कालखण्डका ठूलठूला योगदान भएको भन्दै पृथ्वीनारायण शाहको योगदानमा भएको एकीकरण अस्वीकृत नहुने प्रधानमन्त्रीले बताए ।
                                                   राष्ट्रको परिभाषा 
केही सानातिना टकराव हुनु स्वाभाविक भएको भन्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकीकरण नै भएन कि भन्न नहुने बताए । मानिसहरुले नाम थर लेख्दासम्म एकीकरण नै भएन भन्न नहुने भन्दै उनले भने( ‘बहुराष्ट्र हो कि, एकीकृत राष्ट्र होइन कि अथवा राज्यको एकीकरण भयो राज्यको भएन कि भन्ने परिभाषा उपयुक्त हुँदैन ।’ कतिपयले कलिलो राष्ट्र भन्ने गरेको भनेको भन्दै उनले त्यसको खण्डन गरे । नेपाल एउटा राष्ट्र हो भन्दै उनले भने(हाम्रा हिमालहरु कलिला छन्, हिलाल नै हुन्, पहाडहरु कलिला छन्, पहाड नै हुन् । मान्छे जन्मिँदा कलिलै जन्मिन्छ, मान्छे नै हुन् । त्यसैले नेपाल कलिलो राष्ट्र होइन, ऐतिहासिक कालदेखि एउटा राष्ट्र हो ।’

लुम्बिनीको विकासका लागि स्थानीयले स्वामित्व लिनुपर्छ – मन्त्री पोखरेल

गोविन्द विश्वकर्मा
पुस २७, लुम्बिनी – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि स्थानीय जनताले स्वामित्व लिनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने “लुम्बिनीलाई अब बुद्ध र बौद्धधर्म जन्मेको ठाउँका रुपबाट विकास गर्नु पर्दछ, त्यसका लागि स्थानीयवासीले विशेषरुपमा पहल कदमी लिन जरुरी छ ।” आफू मन्त्री भएपछि लुम्बिनी तथा अन्य महत्वपूर्ण क्षेत्रको सुधारमा लागेको बताउँदै मन्त्री पोखरेलले लुम्बिनीको विकास कोषको केन्द्रीय कार्यालय काठमाडौँबाट एक महिनाभित्र लुम्बिनीमा सार्न निर्देशन दिएको बताए । मन्त्री पोखरेलले लुम्बिनीमा सौर्य ऊर्जाबाट २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था गर्न लागिएको बताउँदै लुम्बिनीको गुरुयोजनाअनुरुपको कामका लागि मन्त्रालयले बजेटमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए ।  पोखरेलले राजनीतिक दलको नियुक्तिबाट आएका पदाधिकारीको खिचातानीका कारण लुम्बिनीको अस्तित्व नै सङ्कटमा परेको गुनासो व्यापकमात्रामा उठेपछि लुम्बिनी विकास कोष सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत प्रणालीमा लैजाने तयारी भइरहेको समेत उल्लेख गरे । कार्यक्रममा सहभागीले लुम्बिनीलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न आग्रह गरेका थिए ।

कोपिलामा यौनदु र्व्यवहारको आरोप,म्यागीद्वारा पत्रकारमाथी दुर्व्यवहार

गोविन्द विश्वकर्मा
पुस २६, सुर्खेत – केही समय अगाडि मात्रै सिएनन हिरो २०१५ घोषित भएकी म्यागी डोइनले संचालन गरेको संस्था कोपिला भ्याली समाजलाई थुप्रै आरोपहरु लागेका छन् । पहिले पनि विभिन्न आरोपहरु लाग्दै आएको म्यागीको संस्था कोपिला भ्याली समाजले संचालन गरेका विभिन्न क्रियाकलापहरुलाई लिएर पुनः आरोपहरु विभिन्न निकायमा छानविनका लागि पुगेका छन् । यसपटक समाजले संचालन गरेको महिला केन्द्रबाट निस्काशित कर्मचारीहरुले थुप्रै आरोपहरु लगाएर विभिन्न निकायमा न्यायका लागि भन्दै उजुरी दर्ता गराएका छन् । विशेष गरी कोपिला भ्याली समाजका अध्यक्ष टोपबहादुर मल्लले महिला कर्मचारीहरुलाई यौन दुव्र्यबहार गरेको र यो कुरा म्यागीलाई जानकारी गराउँदा अध्यक्ष मल्लको विरुद्धमा बोल्न नदिने गरेको आरोप लगाइएको छ । महिला केन्द्रमा प्रशासन प्रमुखका रुपमा काम गर्दै गर्दा हटाइएका कौशिला मैनालीले आफू माथी यौन दुव्र्यबहादर गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतका साथै विभिन्न निकायमा उजुरी दर्ता गर्नुभएको छ । मैनालीले आफूलाई ग्लोबल एकसन संस्थामा काम गर्दागर्दै त्यो भन्दा बढी तलवभत्ता र सेवासुविधा दिने भन्दै महिला केन्द्रको लागि लिइएको पहिले भनेबमोजिम सेवासुविधा पनि नदिएको उजुरीमा उल्लेख गर्नुभएको छ । संस्थाका अध्यक्ष टोपबहादुर मल्लले आफूले भनेको माने मात्रै जागिर रहने नत्र नरहने भन्दै एक्लै आफ्नो कार्य कक्षमा बोलाउने, संवेदनशिल अंग छुने , आफूले भनेबमोजिम गर्न दवाब दिने र यहाँ ग्राहो हुन्छ भने जिल्ला बाहिर जाउँ भन्ने गरेको मैनालीले निवेदनमा उल्लेख गरेकिछन । आफूलाई जागिरबाट निकालिसकेपछि पनि अध्यक्ष मल्ले मैले भनेको मान, मसंग घुम्न जाउँ म जागिर पुनरबहाली गरिदिन्छु भन्ने गरेको मैनालीले बताउनुभयो । आफूले अन्याय भएपछि तीन महिना पछि विभिन्न निकायमा उजुरी दिन बाध्य भएको जानकारी दिन पत्रकार सम्मेलन गरी मैनालीले आफूले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरी दिएको बताउनुभयो । यस्तै गृहमन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, आन्तरिक राजश्व कार्यालय, सुर्खेत, क्षेत्रीय प्रशासन कार्यालय, सुर्खेत, जिल्ला विकास समितिको कार्यालय सुर्खेत, समाज कल्याण परिषद, काठमाडौंमा पनि निवेदन बोदार्थ पठाएको जानकारी गराइएको छ । निवेदनमा आर्थिक सहयोगका रुपमा जानकारी लिनु खोज्दा र महिला केन्द्रका महिलाहरुलाई धेरै काम गराएर कम रकम दिने गरेकोले छलफल गर्न थालेकोले आफूलाई अप्ठेरो पर्ने भएकोले अध्यक्ष मल्ल र निर्देशक म्यागीले स्पष्टिकरण मागी अवकाश दिएको भनिएको छ । निवेदनमा कोपिला भ्याली समाजका कर्मचारीहरुलाई नियुक्ति नदिने सम्झौता भन्दा कम तलव दिने, प्राप्त सहयोग र आम्दानीको बारेमा कसैले जानकारी नपाउने, बैंक रकम राख्न र निकाल्न नपाइने, भनेको नमान्नेलाई तत्का्िल निकालिदिने, कर्मचारी कसैलाई पनि हालसम्म कन्ट्रायक नदिएको र चाहेको वेलामा निकाल्ने, अध्यक्षले हस्तक्षेप गर्ने गरेको खुलाइएको छ । यसैक्रममा मैनालीलाई भन्दा पहिलो पनि स्टोर मनेजर कल्पना सारु र काउन्सिलर गीता सुवेदीलाई पनि कुनै कारण तथा सूचना विना हटाइएको जनाइएको छ । कोपिला भ्याली महिला केन्द्र दर्तासमेत नभएको निवेदनमा भनिएको छ । तर दर्ता नभएपनि सेवामूलक कार्य भनी आयमूलक काम गरिरहेको र कम नतिर्ने गरेको बताइएको छ । यस्तै कार्यसमिति सदस्यलार्य राख्न नपाइने हुँदा पनि कोपिला भ्याली समाजले कार्यसमिति सदस्य अजयकुमार कार्कीलाई नै लेखापाल राखेको, संस्थाको पदाधिकारीमा पनि नातापर्ने व्यत्तिः मात्रै रहेको जनाइएको छ । अध्यक्ष मल्लले बहिनी मिमकोशा शाही सचिव, दाई पृथ्वी मल्ल कोषाध्यक्ष रहेका छन् । यस्तै सार्वजनिक खरिद ऐनअनुसार विज्ञापन नखोली र उक्त प्रक्रिया विपरित जागिरमा राख्ने गरेको बताइएको छ । महिला केन्द्रमा पनि अहिले एचए पढेकी नातेदार सरिता मल्ललाई राखिएको जनाइएको छ ।

म्यागीारा पत्रकारमािथ दुर्व्यवहार
कोपिला भ्याली सेवा समाजकी सञ्चालन म्यागी डोयन र उनका साथी जेव डोलोलोले समाचार संकलन गर्न कोपिला भ्याली स्कुल पुगेका संचारकर्मीमाथि दुर्व्यवहार गरेका छन । कोपिला भ्याली महिला केन्द्रमा काम गर्ने एक जना महिलाले आफूमाथि समाजका अध्यक्ष टोपवहादुर मल्लले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि वास्तविकता बुझ्न  गएका संचारकर्मीलाई उनीहरुले हातपातको प्रयास गदै दुर्व्यवहार गरेका हुन । कोपिला भ्याली सेवा समाजमा भएको यौन दुर्व्यवहार, श्रम शोषणलगायतका विषयमा प्रश्न गर्दा म्यागी र डोलोलोले पत्रकारलाई प्रहरी वोलाएर थुन्ने चेतावनी दिएका थिए । महिला केन्द्रकी पूर्वा कर्मचारी कौशिला मैनालीले अध्यक्ष टोपबहादुर मल्लले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरीसमेत दर्ता गर्नु भएको छ । समाजमा कार्यरत अन्य कर्मचारीहलाई अहिलेसम्म नियुक्तपत्र नदिएरै काममा लगाएको, श्रम अनुसारको तलव नदिएको वावुआमा नभएका भन्दै बाबुआमा भएका बालबालिकालाई ल्याएर पढाएको जस्ता आरोप कोपिला भ्याली समाजलाई लागेको छ । यस वारेमा वास्तविकता जान्न कोपिला भ्याली विद्यालय पुगेका एक दर्जन संचारकर्मीलाई डोयन तथा जेवले वास्तविक सुचना दिन इन्कार गर्दै उल्टै थुन्ने चेतावनी दिएका पत्रकारहरुले बताएका छन् । 

एक घर एक धारा बनाईदै


गोविन्द विश्वकर्मा
पुस २६, सुर्खेत – सुर्खेतको रानीवास गाविसमा  ‘एक घर एक धारा’ बनाउने प्रस्ताव अघि सारिएको छ । नेपाल सरकार, विभिन्न संघसंस्था तथा जनश्रमदानद्वारा ‘एक घर एक धारा’ बनाउने प्रस्ताव ल्याईएको हो । ३७ वर्ग किलोमिटरमा फैलिएको रानीवास गाविसका ६ सय १० घरधुरीमा अगामी दुई वर्ष भित्र एउटा सफा शौचालय र पानीको धारा निर्माण गरिने छ । गाविसको शनिबार रानीवासमा सम्पन्न गाउँ परिषद्ले गाउँको नाम अनुसारको काम पुरा गर्ने महत्वकांक्षी प्रस्ताव अघि सारेको हो । ‘विकास भनेको नै मानवले मानवका लागि गर्ने हो भन्दै रानीवास गाविस सचिव पिताम्बर पौडेलले गाउँको विकासका लागि जनताको सहयोगमा राज्यसँग हातोमालो गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले गाउँको समग्र विकासका लागि विभिन्न संघसंस्थाको आर्थिक तथा भौतिक सहयोगमा हालसम्म ५० हजार रुपैयाँको समपुरक कोष खडा भईसकेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कोषको रकमलाई बढाउँदै आर्यआर्जन, क्षमता विकाससँगै पूर्वाधारमा लगानी गरिने छ । परिषद्ले २४ लाख २९ हजार आठ सय ४५ रुपैयाँको कुल बजेट प्रस्ताव गरेको छ । उक्त प्रस्तावमा शिक्षा, कृषि, पर्यटन, सडक, लघु उद्यम, क्षमता अभिवृद्धि र लक्षित वर्ग तर्फ बढी केन्द्रीत उहाँले जिकिर गर्नुभयो । उहाँका अनुसार पूँजीगत तर्फ १९ लाख ६५ हजार आठ सय ४५ तथा चालु तर्फ ४ लाख ६४ हजार रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त बजेट मध्ये चार लाख ३४ हजार नेपाल सरकारको अनुदान तथा ३० हजार रुपैयाँ आन्तरिक स्रोतबाट पुरा गरिने छ । परिषद्ले प्रस्तावित बजेटमा ७ लाख दुई सय ६३ पूर्वाधार, चार लाख ६६ हजार आठ सय ४२ प्रर्वद्धनात्मक र ६ लाख ५५ हजार तीन सय ६३ रुपैयाँ लक्षित वर्गलाई रकम वियोजन गरेको छ ।
तस्विर : गुगल फाईल

३ लाख नगद सहित श्रीमती फरार

गोविन्द विश्वकर्मा
पुस २६ सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका– ८ कालिदमारकी नन्दा बस्याल सार्कीले मलेसियामा कार्यरत श्रीमानले पठाएको रु. ३ लाख लिएर अर्कैसँग बिबाह गरेकी छिन् । पाँच वर्षको बच्चालाई सुतेको अवस्थामा घरमै छाडेर नन्दाले यही पुस १३ गते भेरीगंगा नगरपालिका–१५ रामघाटका राजु रम्तेलसँग विवाह गरेकी हुन । नन्दाका श्रीमान तिलक बहादुर सार्की रोजगारीका लागि मलेसियामा हुनुहुन्छ । तिलकका दाजु  चन्द्रवीर सार्कीले भाइले विदेशवाट दुख गरी कमाएर पठाएको रकम लिएर बुहारी नन्दाले अर्केसँग विवाह गरेको जानकारी दिनुभयो । उहाँले नन्दाले विभिन्न सहकारीबाट ऋण लिएको ३ लाख ३० हजार नगद रुपैयाँ पनि हिनामिना गरेको उल्लेख गर्नुभयो । तिलकका आफन्तले नन्दालाई पक्राउ गरी रकम अशुल उपर गर्न माग गदै इलाका प्रहरी कार्यालय छिन्चुमा उजुरी दर्ता गरेको वताएका छन । आफन्तले इलाका प्रहरी कार्यालय छिन्चुमा ३ लाख रकम असुल गरी पाउँ भन्दै नन्दा विरुद्ध उजुरी दर्ता गराएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी सहायक निरिक्षक जय बहादुर रावतले पीडितले उजूरी दिएकाले दुवै जनालाई पक्राउ गरी कारवाही अघि वढाउने जानकारी दिनुभयो । उहाँले नन्दा र रम्तेललाई पक्राउ गरी घटनाबारे छिटटै अनुसन्धान अघि वढाउने समेत बताउनुभयो । 

२२ वर्ष अघि मृत्यु भएका व्यक्तिका नाममा रकम निकासा

गाेविन्द विश्वकर्मा
पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत  नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको  हो ।
जिल्लाको सुवानाउली ८ सुवाका सर्केनी दमाइको मृत्यु भएको २२ बर्ष वित्यो । सोही ठाउँका कालु थापाको पनि १६ बर्ष अघि नै मृत्यु भैईसकेको छ । तर उनीहरुको नाममा जिविसबाट वर्षेनी सामाजिक सुरक्षा भत्ता गएको गयैछ । २२ बर्ष अघि मृत्यु भएका दमाई र थापाको नाममा अहिलेसम्म सामाजिक सुरक्षा भत्ताको रकम आएको देख्दा सुवानाउली गाविसका पूर्व गाविस अध्यक्ष गोरखबहादुर थापा तीन छक्क परेका छन् । सुवानाउली गाविसको आर्थिक बर्ष २०६९÷०७० विल भरपाईमा ६० बढी मृतकका नाउँमा रकम गएको छ । तर उनीहरुको नाममा पनि मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता गइरहेको छ । एउटै व्यक्तिको ३,४ ठाउँ नाम राखेर भत्ताको दुरुपयोग गरेको पाइएको छ ।
थापा र टमटा त सो गाविसका एक प्रतिनिधि पात्र मात्र हुन् । सुवानाउली ८ का मानसिंह थापा, पठे थापा, कले चदारा, गोरी रावत, देउमल थापा, मन्दरी टमटा, कले थापा, दरे कामी, काली टमाटा, धने बुढा, कल्चु टमटा, सर्जन खड्का लगाएत व्यक्तिहरुको धेरै पहिले नै मृत्यु भइसकेको छ । भने पठे सुनार, विर्खे थापा, पम्फी रावत, रत्नी थापा, तुली चदारा, तुल्क्षा चदारा लगाएतका ब्यक्ति नै छैनन् । उनीहरुको सबैका नाममा पनि मासिक ५ सयका दरले बृद्धबृद्धा र एकल महिला भत्ता खर्च भैरहेको छ ।
सुवानाउली गाविसमा २०६२ देखि ०७२ सम्म कार्यरत सचिवहरु हिक्मत सुनार, शेरबहादुर रावत, मोहन ढकाल, चिरञ्जी जिसी, गोर्कणराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्मा लगाएतलाई छानविनको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ । सचिवहरु गाविसमा नबस्ने र सबै जिम्मेवारी लेखा सहायक शर्मालाई दिदा रकम घोटाला भएको आरोप छ ।
सुवानाउलीमा दलित जेष्ठ ४४, अन्य जेष्ठ ५१, एकल महिला ७०, पूर्ण अपाङ्ग १६, आंशिक अपाङ्ग ३ र दलित बालबालिका २ सय ५१ जनाका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । तर गाउँमा भत्ता पाउने व्यक्तिहरुले पुरै रकम पनि पाएको देखिदैन । ८ लाख बढी रकम हिनामिना भएको स्थानीयको आरोप छ ।   गाउँ विकास समितिका कर्मचारीले यी सबैको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाई बनाएर जिल्ला विकास समितिमा पेश गरेका छन् ।
त्यस्तै गाउँमा ५ बर्ष मुनिका दलित बालबालिकाले बर्षमा पाउनु पर्ने २४ सय बाल अनुदानको रकम पुरै नपाउने गरेको, अपाङ्ग, एकल महिला, दलित जेष्ठ, अन्य जेष्ठले पनि पुरै पाउनु पर्ने रकम नपाएको भेटिएको हो । तर गाविसका कर्मचारीले उक्त गाउमा हुदै नभएका २ सयका दरले बाल संरक्षण भत्ता वितरण गरेको भपाई पनि जिविसमा पेश गरेर रकम निकासा गर्ने गरेका छन् ।
जिविस जाजरकोटले लापरवाही गर्दा सामाजिक सुरक्षा भत्ताको ३० वटै गाविसमा चरम दुरुपयोग बढेको एमाले जाजरकोटका पूर्व सांसद रत्नप्रसाद शर्मा न्यौपाले बताए । आफुले पटकपटक जानकारी गराउदा समेत जिविसले आलटान गरेर पन्छिन खोजेको आरोप छ । जिविस, गाविस सबैलाई छानविनको दायरामा ल्याउनु पर्ने सांसद न्यौपानेको भनाई रहेको छ । यसरी सुवानाउली गाविसमा मात्र बृद्धबद्धा, एकल महिला, अपाङ्ग र बाल संरक्षण अनुदान भत्ताका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । यस गाउमा नभएका भत्ता पाउने ब्यक्तिको नाम पुकार्दा स्थानीय चकित परेका छन् ।
जिल्लाका ३० वटै गाविसका कर्मचारीले बर्षेनी यस्तै नक्कली भर्पाई बनाएर सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्दै आएका छन् । ती कर्मचारीले मृत्यु भैसकेका, गाउमा हुदै नभएका, अन्यत्र विवाह भैसकेका र दोहोरो तथा तेहोरो नाममा नक्कली भपाई बनाउदै रकम हिनामीना गर्दै आएका छन ।  एउटै ब्यक्तिले सयौं ल्याप्चे तथा हस्ताक्षर गरेको प्रष्टै देखिन्छ । गाविसमा सामाजिक सुरुक्षा भत्ता रकम सम्बन्धित गाविस सचिव र लेखा तथा प्रशासन सहायकले दुरुपयोग गर्ने गरेका छन ।
जिल्लाभरका गाविसबाट हरेक बर्ष करोड बढी रकम दुरुपयोग हुने गरेको छ । बर्षौसम्म मृतकको मृत्यु दर्ता नगर्ने र लगत नकाट्ने, दोस्रो विवाह गरेका महिलालाई एकल महिलाको सुचीबाट नटाउने, नभएकाको नाममा भपाई बनाउने,   हचुवाको भरमा परीचय पत्र बनाउने र गलत विवरण जिविसमा पेश गर्ने र ती ब्यक्तिका नाममा निकासा भैआएको रकम कर्मचारीले खल्तीमा हाल्ने गर्दा घोटाला हुने गरेको हो । कति जेष्ठ नागरिक र एकल महिलाले पुरै भत्ता नपाएको गुनासो पनि गर्दै आएका छन् । गाविसका कर्मचारीले सामाजिक सुरक्षाको रकम अन्यत्र लगानी गरेर थप मुनाफा लिने गरेको बताइएको छ । सरोकारवाला निकायबाट अनुगमन, निरीक्षण र नियमन हुन नसक्दा मनोमानी रकम हिनामीना भएको हो । स्थानीय जन प्रतिनिधी विहिन हुदा जाजरकोटमा सासु रकमको दुरुपयोग बढेको हो । भ्रष्टाचारीलाई राजनीतिक दलले नै संरक्षण गर्दा रकममा अनियमिता बढेको हो । गत बर्ष जिल्लाको लहँ गाविसमा सामाजिक सुरक्षा भत्ताको व्यापक घोटाला सम्बन्धी समाचार उजागर भएपछि अख्तीयारले छानविन थालेको छ ।
जिल्लाका २ हजार दलित जेष्ठ, २ हजार ८ सय अन्य जेयष्ठ, ४ हजार एकल महिला, ३ सय ५० अपाङ्ग र १० हजार दलित बालबालिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता वापत बार्षिक १० करोड खर्च गर्ने गरेको छ । को मरेको छ, को जीवित छ, भन्ने कुराको अध्यायबधि गाविसले गर्ने हुदा सचिबहरुले नै गलत मनसायले राख्दा समस्या बढेको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकिय अधिकृत टेकबहादुर खत्रीको भनाइ रहेको छ । कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि तथ्यांक एकीन गर्न नसक्दा बर्षेनी यो रकममा घोटाला हुने गरेको हो । सबै गाविसको अनुगमन गरिने र कडा कारवाहि गरिने बताए पनि सो कार्य सफल हुन नसके खत्रीको भनाइ छ ।

पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले नयाँ शक्ति चाहियो : भट्टराई

गोविन्द विश्वकर्मा
पुस २१ काठमाण्डौ – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक डा. बाबुराम भट्टराईले पुराना पार्टी भ्रष्टाचारमा डुबेकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको छ । नयाँ शक्ति निर्माण अभियान म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको अन्तक्रियामा उहाँले नेपाली कांग्रेस, नेकपा एमाले र एमाओवादीले राज्यको सम्पतिलाई दुरुपयोग गरी अकुत सम्पति कमाएकाले भ्रष्टाचार हटाई सुशासन कायम गर्न नयाँ शक्ति चाहिएको दावी गर्नुभएको हो । कार्यक्रममा उहाँले आफ्नो अभियानलाई विदेशी शक्ति तथा भ्रष्टसँग जोडेर हेर्ने गरिएको बताउँदै एउटा पनि प्रमाण जुटाएर देखाए जस्तोसुकै कारवाही भोग्न आफू तयार रहेको बताउनुभएको छ । भट्टराईले राजनीतिक एजेण्डामै केन्द्रित भएर जनतालाई भ्रम, दुःख र कष्टमा राख्न खोजिएकाले बेरोजगारी, गरिबीसहित नेपाली जनताको समस्यालाई समाधान गर्न नयाँ शक्ति आवश्यक रहेको बताउनुभयो । एउटा आन्दोलनको परिवर्तनका नाममा सत्तामा पुग्ने, जेलनेलमा परेको बाहनामा राज्यको सम्पतिलाई दुरुपयोग गर्ने गरिएको डा। भट्टराईले आरोप लगाउनुभएको छ । उहाँले गणतन्त्र, संविधानसभाबाटै संविधानसहित पुराना सामन्ती संरचनालाई भत्काउन सफल माओवादी जनयुद्ध सफल भएको भन्दै जनयुद्ध नेपालमा आवश्यक थियो र युद्धले जनतालाई परिवर्तनको क्षेत्रमा अगाडि बढाएको धारणा राख्नुभयो । उहाँले जनयुद्धमा दशौं हजार नेपालीले बलिदान दिएपनि राज्य र पार्टीबाट उचित सम्बोधन नभएको भन्दै नयाँ शक्तिले देशमा परिवर्तनको क्रममा ज्यान गुमाएकालाई उच्च सम्मान गर्ने बताउनुभयो ।

पत्रकारहरुद्वारा आन्दोलन शुरुवात

गोविन्द विश्वकर्मा
पुस २१, सुर्खेत – समाचार संकलन गर्न गएका आफ्ना सहकर्मीहरुमाथि हातपातमा उत्रिएका नेपाली सेनाका कर्णेललाई कारबाही गर्न माग गर्दै सुर्खेतका पत्रकारहरुले आन्दोलन शुरु गरेका छन् । शिक्षकलाई विद्यार्थीले कुटपिट गरेको विषयमा समाचार संकलन गर्न वीरेन्द्रनगरस्थित सैनिक आवाशिय महाविद्यालयमा गएका पत्रकारहरुलाई गाली ग्लोच गर्दै अपशव्द बोल्ने तथा हातपातमा उत्रिएका कर्णेल शिवप्रताप कार्कीलाई कारबाही गर्नुपर्ने माग गर्दै पत्रकारहरु आन्दोलनमा उत्रिएका हुन् ।नेपाल पत्रकार महासंघको अगुवाईमा आज जिल्ला प्रशासन कार्यालयमार्फत् गृह र रक्षा मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाईएको छ । सेनाको मध्यपश्चिमाञ्चल क्षेत्रीय पृतनाअन्तरगत सुर्खेतमा कार्यरत कर्णेल कार्कीले पत्रकारहरु सुदिप पुरी, सुशील खड्का, कृष्ण आचार्य र इश्वर अधिकारीलाई महाविद्यालयको गेट बाहिर विद्यार्थीका अभिभावकसामू अपशव्द प्रयोग गरि हातपात गरेका थिए ।
साथै उनले पत्रकारहरुलाई ज्यान मार्ने धम्कि पनि दिएका थिए । कर्णेल कार्कीले सार्वजनिक रुपमा माफि माग्नुपर्ने, विभागीय कारबाही हुनुपर्ने र आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता हुनुपर्ने माग गरेका छन् । ध्यानाकर्षण पत्र बुझ्दै सुर्खेतका प्रमुख जिल्ला अधिकारी वलदेव गौतमले आफ्नो तर्फबाट हुने सवै काम गर्ने बताउनुभएको छ ।
                                   फोटोः ध्यानाकर्षण पत्र बुझाउँदै पत्रकारहरु ।

पर्यटनका लागि विश्वका १० उत्कृष्ट देशमा नेपाल पहिलो स्थानमा

गोविन्द विश्वकर्मा
पुस २१, काठमाडौं – यो वर्षको भ्रमण गन्तव्यका लागि विश्वका १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा परेको छ । बेलायतको ट्राभल गाइड बुक तथा सन्दर्भ सामग्री प्रकाशित गर्ने रफ गाइडले प्रकाशित गरेको सन् २०१६ मा भ्रमणका लागि विश्वका १० उत्कृष्ट देशको सूची सार्वजनिक गरेको हो । १० उत्कृष्ट देशको सूचीमा नेपाल पहिलो नम्बरमा छ । वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पका कारण सिथिल बनेको नेपालको पर्यटन उद्योग विस्तारै माथि उठ्ने क्रममा रहेको उल्लेख छ । ट्रेकिङ रुट, होम स्टे तथा सांस्कृतिक क्षेत्र नेपालको मुख्य पर्यटकीय आकर्षणका केन्द्र रहेको रफ गाइडले जनाएको छ । नेपाली नागरिकको आत्मिय स्वागत तथा व्यवहार पनि नेपाली पर्यटन क्षेत्रको अर्को पक्ष रहेको जनाएको छ । हिम श्रृँखला, जंगली जनावर तथा विविधताले युक्त जंगल नेपालको पर्यटनका लागि उत्कृष्ट रहेको जनाइएको छ । रफ गाइडको १० देशको सूचीमा कोलम्बिया दोस्रो नम्बरमा छ । क्युवा तेस्रो, जोर्डन चौंथो, अल्बानिया पाँचौं, रोमानिया छैटौं, एल सालभाडोर सातौं, वेल्स आठौं, केन्या नवौं तथा  श्रीलंका दशौं नम्बरमा छन् ।

मायाले छोयो गोविन्दलाई, सपनीमा तिमीसंगै बजारमा

गोविन्द विश्वकर्मा
पुस २०, सुर्खेत – माया प्रेमबाट अछुतो सायद कमै होलान यो दुनियामा । सबै क्षेत्रमा माया प्रेमको नै बढी प्रयोग भएको पाईन्छ । दिनमा हुने गरेका दैनिक क्रियालाप देखि सबै ठाउमा मायाको नै प्रयोग भएको पाईन्छ । माया भन्ने चिज त्यस्तो चिज हो जस्ले नछोएको र जस्लाई नछुने प्राय कमै पाईन्छन् । मानव जीवनमा भए गरेका क्रियाकलापहरुमा पनि माया नै झल्किन्छ । माया शब्द यती प्यारो छ रुदा आँशुको साथी बनिदिन्छ, हासो हासो अनि सुत्दा सपनी त ब्युझिदा सम्झना मात्र । माया कतिबेला सुरु हुन्छ र कहा गएर समाप्त हुन्छ थाहै हुदैन । राम्रो फुल सबैलाई मन पर्छ र टिप्न सबैले खोज्छन् । कुरा यती मात्र होकी कोही सफल हुन्छन त केही असफल हुन्छन् । मन परेको मान्छे साथ मै हुदा खुशीको जीवन विताउने र नपाउदा दुखी हुने भावनामा डुव्ने गीतसंगीतमा रमाउने भन्दा अर्को विकल्प हुदैन । वीपनीमा नभए पनि सपनीमा मन परेको मायालुसंग सहयात्रा गर्न पाउदा पनि साचिक्कै वीपनीमा हो जस्तो लाग्छ । सपनाको महलमा मायालु जोडी छुट्टै संसार अनि रमाईला पलहरु दुख हुदैन कहिल्यै । वीपनीमा तिमी मेरो नभए पनि सपनीमा तिमी म संगै हुन्छ्यौ साथमै हुन्छ्यौ खै सपनी पनि के देखिन्छ कुन्नी सम्हाल्नै नसकिने र व्यूझिदा रुन भन्दा अर्को पाटो भेटिदैन ।
सपनीमा मायालुसंग रमाउदाको पल बेग्लै हुन्छ । विपनीमा साथमा हुन नपाए पनि सपनीमा मायालुसंगै रहेर रमाउन पाउदा मन निकै खुशी हुन्छ । मायालुको घरमा गएर मायाको भिक मागेर पनि उनलाई पाउने आशा छ । देराली झर्दा उकाली ओराली गर्दा जता जादा पनि मायालुको याद नै साथमा रहन्छ । मध्यरातको १२ बजे म तिम्रो घरको आगनमा छु, तिमी मेरो छेउमा अनिमैले तिम्रो हात समाउदै मायाको भिख मागेको छु तिमीले पनि लजाएरै स्वीकार गर्न सकेको कहा छौ र ? तिमीलाई धेरै पहिलाबाट नै चाहेको हो तर मेरो भाग्य नै खोटो छ कहा तिमीलाई पाउन सक्छु र ? हो म तिमीलाई माया गर्ने मान्छे हो तिमीलाई पाउनको लागी के के गरेन मैले । 
दैलेखको गमौडी गाउ विकास समिती वडा नं. २ छुवाला सामान्य परिवारमा जन्मिएर सञ्चार क्षेत्रलाई कर्मथलो बनाएर काम गर्दै आउनुभएका गोविन्द विश्वकर्माले अहिले गीत शब्द रचनाबाटै आफ्नो संगीत यात्रा सुरुवात गर्नुभएको छ । सञ्चार क्षेत्रमा काम गर्दै गर्दा गीतलाई माया गर्ने मुटुको पिडा बुझेर पिडालाई शब्दमार्फत संगीतको मालाका उईनिएर श्रोतामाझ पस्कन सफल बन्नुभएको छ । आफ्नो मन परेको मायालु अंगालोमा हुदाको आनन्दता र  छुटिदाको पलको पिडा व्यथालाई समेट्दै विश्वकर्मा अहिले सबैको प्यारो बन्नुभएको छ । सानै उमेरदेखि लोकगीत क्षेत्रमा रुची राख्नुहुने विश्वकर्मा गाउघरमा हुने रत्यौली, मेलापर्वमा दोहोरी गाउने पनि गर्नुहुन्थ्यो । गीतसंगीतमै रुची भएकाले उहाले सञ्चार क्षेत्रमा पनि काम गर्ने निर्णय गर्दै अहिले पनि कार्यरत हनुहुन्छ । सानै देखिको रुची गीत संगीत गाउने, शब्द रचना गर्ने भएकाले आज आएर सफल हुनुभएको छ । वीपनीमा सम्झना अनि सपनीमा साथमै भएको आभास गरिएको यो गीतको शब्दले भनेको छ सपनीमा संगसंगै भएको खशीयाली साटेको रमाएको खेल्दा खेल्दै सपना भंग भएको र मध्यरातको समयमा छटपटिदै सम्झनामा रुने गरेको भाव पोख्त गर्नुभएको छ ।
सञ्चारकर्मी गोविन्द विश्वकर्माको उतकृष्ठ शब्द सिर्जना, तेजेन्द्र बिवशको लय र दैलेखी नव गायक धर्मेन्द्र शाही र टीका पुनको सुमधुर आवाज रहेको लोकदोहोरी गीत सपनीमा तिमीसंगै हुने गर्छु म अहिले बजारको चर्चा परिचर्चामा रहेको छ । दैलेखको रेडियो ध्रुवतारा सामुदायिक एफ.एममा केहि समय काम गरेर आफ्नो संगीत यात्रा सुरु गर्नुभएका विश्वकर्माले यो गीत बजारसम्म ल्याईपु¥याउनसम्म सहयोग गनुहुने संगीतकार तथा गीतकार लोकेन्द्र जी.सी कुमार, कमल जी.सी, धर्मेन्द्र शाही, तेजेन्द्र विबशलाई मनै देखि सम्झिदै धन्यबाद ब्यक्त गनुहुन्छ ।