गोविन्द विश्वकर्मा
माघ ४, काठमाडौं – नेपाली कांग्रेसमा देखिएको गुट–उपगुटको खिचातानीले नयाँ क्रियाशील सदस्यताको आवेदन भरेका सात हजारभन्दा बढी सदस्य आसन्न १३औं महाधिवेशनको चुनावी प्रक्रियामा भाग लिनबाट बन्चित हुने भएका छन् । कांग्रेसमा सभापति सुशील कोइराला ९संस्थापन० र वरिष्ठ नेता शेरबहादुर देउवा पक्ष पार्टीमा आफ्नो वर्चस्व कायम राख्न क्रियाशील सदस्यता बढाउने होडमा लाग्दा नयाँ क्रियाशील सदस्यताको फाराम भरेका सात हजार ४९४ सदस्य त्यो अवसरबाट बन्चित हुन लागेका हुन् । क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गर्न पार्टी पदाधिकारी बैठकले पछिल्लोपटक गरेको निर्णयअनुसार कैलालीमा करिब पाँच हजार १४४, सोलुखुम्बुका एक हजार
३५० र रौतहटका एक हजार नयाँ क्रियाशील सदस्य चुनावी प्रक्रियाबाट बन्चित भएका छन् । यी तीनै जिल्लामा कोइराला र देउवा दुबै पक्षबीच सदस्यता सम्बन्धमा कडा विवाद देखिएपछि दुबै पक्षका नेता र कार्यकर्ता पार्टी कार्यालय सानेपामा अनशनसमेत बसेका थिए । कैलालीमा नयाँ क्रियाशील सदस्यमध्ये एकहजार ६४४ प्रक्रिया नपुर्याइ आएको भन्दै देउवा पक्षले विरोध गरेको थियो भने संस्थापन पक्षले सबै प्रक्रिया पुगेको भन्दै ती सदस्यता सदर हुनुपर्ने माग गरेको थियो । दुबै पक्षबीच देखिएको विवाद अन्ततः शीर्ष नेतृत्वसम्म पुगेपछि ‘कि सबै सदर कि सबै बदरको स्थितिमा पार्टी नेतृत्वले कैलालीका ६ ओटै निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यतालाई हाललाई स्थगन गर्ने निर्णय गरेको थियो । पार्टीको निर्णयले संविधानसभाको दोस्रो निर्वाचनमा उल्लेख्य भूमिका निर्वाह गरेका अधिकांश युवा वर्ग, नवप्रवेशी थारु समुदाय र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कांग्रेसमा प्रवेश गरेका सदस्य मर्कामा परेको कैलाली कांग्रेसका सभापति नरनारायण शाह र पूर्वसभापति गोविन्दराज जोशी बताहुन्छ ।सोलुखुम्बुमा दुबै गुटको खिचातानीले एक हजार ३५० नयाँ सदस्य १३औं महाधिवेशनको निर्वाचन प्रक्रियाबाट बन्चित भएका छन् । सोलुखुम्बु कांग्रेसका सभापति आङगेलु शेर्पाले पार्टीमा नयाँ रक्तसन्चारकारुपमा भित्रिएका युवा वर्गको सदस्यता स्थगन गर्दा यसले पार्टीलाई दीर्घकालीन असर पार्ने बताहुन्छ । पार्टीको यस निर्णयले निकट भविष्यमा हुने स्थानीय निर्वाचनमा पार्टीलाई प्रतिकूल असरपार्ने सभापति शेर्पाको भनार्इ छ । सोलुखुम्बु निवासी कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीले भने पार्टी कब्जा गर्ने र पार्टीका इमान्दार, कर्मठ र त्यागी नेता कार्यकर्तालाई पाखा लगाउने मनसायले जिल्लामा अनावश्यकरुपमा क्रियाशील सदस्यता वितरण गरिएको देखिएकाले पार्टी बचाउन त्यस्तो निर्णय गरिएको बताउनुभयो ।
रौतहट कांग्रेसका सभापति कृष्णप्रसाद यादव जिल्लामा संगठन बलियो बनाउन आफूले नयाँ सदस्यता वितरण गरेको भएपनि नेतृत्वको स्थगन गर्ने निर्णयले जिल्लाका कांग्रेस जनप्रति घात भएको बताउनुहुन्छ । अर्कोतिर, रौतहट निवासी अफताव आलम व्यक्तिगत स्वार्थ र विधानविपरीत वितरण गरिएका नयाँ सदस्यता स्थगन गरेर नेतृत्वले पार्टीलाई विधानसम्मत बनाएको दाबी गर्नुहुन्छ । ६ निर्वाचन क्षेत्र रहेको रौतहटमा पार्टीले १, २, ३ र ४ निर्वाचन क्षेत्रका सबै नयाँ सदस्यता हाललाई स्थगन गर्ने निर्णय गरेको छ ।
पार्टीको गत पुस २७ गते बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधान गर्न गरेको निर्णयसँगै पार्टीमा १३औं महाधिवेशनका लागि स्वीकृत कुल क्रियाशील सदस्य संख्या चार लाख ७० हजार ६५५ कायम भएको छ । कांग्रेसको १२औं महाविधेशनका लागि तीन लाख १३ हजार ८३६ जना क्रियाशील सदस्य रहेका थिए । त्यसमध्ये दुई लाख ५७ हजार ४०२ जनाले नवीकरण गरेका छन् भने १३औं महाधिवेशनका लागि कुल दुई लाख दुई हजार १७९ जनाको नयाँ क्रियाशील सदस्यता स्वीकृत भएको पार्टी कार्यालयले जनाएको छ । कांग्रेसको गाउँ, नगर वडा र नगर अधिवेशन यही माघ १५ गते हुँदैछ भने कुनै नगर वडा र नगर अधिवेशन एकैदिन गर्न असुविधा भए नगर अधिवेशन माघ १६ गते गर्न सकिने व्यवस्था गरिएको छ ।
त्यस्तै, क्षेत्रीय अधिवेशन यही माघ २२ गते र जिल्ला अधिवेशनका लागि माघ २५ गते मिति तोकिएको छ । केन्द्रीय महाधिवेशन भने आगामी फागुन २०, २१, २२ र २३ गते काठमाडौंमा हुनेछ ।
0 comments:
Post a Comment