जातको कथा

चैतन्य मिश्र
                                  
म यहाँ आज जातको व्यवस्थाबारे केही विमर्श अगाडि सार्न चाहन्छु। जातव्यवस्थाको निर्माण, यस व्यवस्थाको उतारचढाव र जातव्यवस्थाको अर्थतन्त्र र राजनीतिसँगको अन्तर्सम्बन्धबारे केही प्रस्थापना अगाडि सार्न चाहन्छु। हामी नेपाल र भारतवासीमध्ये धेरैजसो जातव्यवस्थाद्वारा आक्रान्त छौं। जीवन, समाज, अर्थतन्त्र, राजनीति र संस्कृतिका त्यस्ता पक्षहरू पहिचान गर्न कठिन पर्छ जुन जातव्यवस्थाबाट नितान्त अलग रहेका होऊन्। अझ भनौं भने सात समुद्रपारि गएर बस्दासमेत हामी कतिलाई जातले छाड्दैन। वा हामी जातलाई छाड्दैनौं। यस्तो लाग्छ, जात हामीमध्ये धेरैको, सायद सबैजसोको जीवन, समाज, इतिहासमा सर्वव्यापी र अक्षुण्ण बनेर रहेको छ। तर, यो सर्वसत्य हो कि जातको असर पृथक पृथक रूपले संरचित छ। जातव्यवस्थाअनुसार दलित सबैभन्दा बढी आक्रान्त छन्। विरलै स्थान र परिप्रेक्ष्यमा मात्र दलितले अन्य जात समूहसरह आदर(सम्मान प्राप्त गर्छन्। दलितहरूको परचक्रीकरण र नीचकरणु जीवन र समाजको आमपाटो बनेको छ। उँचनीचतामा दलित र अदलितका बीच रहेको विकराल खाडल अन्य जात समूहका बीच भेटिँदैन। तर पनि  तल्लो र माथिल्लोु जातका बीच उँचनीचता, भेदभाव, अलगाव कायम रहेको यत्रतत्र अनुभव गर्न सकिन्छ।तल्लो जात माथि पुगेको केही उल्लेखनीय उदाहरण पक्‍कै छन्। कतिपय माथिल्लो जात तल पुगेका छन्।
चाहे त्यो आर्थिक होस् वा राजनीतिक वा सांस्कृतिक रूपले। तर,आमसत्यु भने जातव्यवस्थाको बोलवालाकै हो। पुरानो अपवाद हाल आम बनेको छैन। यद्यपि सबै माथिल्ला जातुवाला कतिपय हिसाबले उच्च तहमा पनि छैनन्। तीमध्ये केही आक्रान्त नै छन्। म अब आजको विषयवस्तुको चुरो प्रश्‍न उठान गर्ने बिन्दुमा पुगेको छु। जातव्यवस्थाको बोलवालको बेला यो प्रश्‍न कतिपयका लागि नैतिक र राजनीतिक दुवै दृष्टिले विवादास्पद हुनसक्छ। साथै यो प्रश्‍नको जेजस्तो हल खोज्न म लागिरहेको छु, त्यसमा अपुग तत्त्वहरू त धेरै छन् नै। ती हलहरू अनुपयुक्त र त्रुटिपूर्ण पनि हुन सक्छन्। तसर्थ म यहाँ यो आशमा पनि रहेको छु कि मेरा गुरु, मित्र र विद्यार्थीहरूले यो हलहरूको समुचित समालोचना गर्नुहुनेछ र योभन्दा बढी उपयुक्त प्रश्न र हल खोज्नुहुनेछ।

0 comments:

Post a Comment