गोविन्द विश्वकर्मा
पुस २७, लुम्बिनी – संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्दप्रसाद पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनीको समग्र विकासका लागि स्थानीय जनताले स्वामित्व लिनुपर्ने बताएका छन् । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज भैरहवामा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले भने “लुम्बिनीलाई अब बुद्ध र बौद्धधर्म जन्मेको ठाउँका रुपबाट विकास गर्नु पर्दछ, त्यसका लागि स्थानीयवासीले विशेषरुपमा पहल कदमी लिन जरुरी छ ।” आफू मन्त्री भएपछि लुम्बिनी तथा अन्य महत्वपूर्ण क्षेत्रको सुधारमा लागेको बताउँदै मन्त्री पोखरेलले लुम्बिनीको विकास कोषको केन्द्रीय कार्यालय काठमाडौँबाट एक महिनाभित्र लुम्बिनीमा सार्न निर्देशन दिएको बताए । मन्त्री पोखरेलले लुम्बिनीमा सौर्य ऊर्जाबाट २४सै घन्टा विद्युत् आपूर्तिको व्यवस्था गर्न लागिएको बताउँदै लुम्बिनीको गुरुयोजनाअनुरुपको कामका लागि मन्त्रालयले बजेटमा कुनै कमी आउन नदिने प्रतिबद्धता जनाए । पोखरेलले राजनीतिक दलको नियुक्तिबाट आएका पदाधिकारीको खिचातानीका कारण लुम्बिनीको अस्तित्व नै सङ्कटमा परेको गुनासो व्यापकमात्रामा उठेपछि लुम्बिनी विकास कोष सञ्चालनका लागि प्रमुख कार्यकारी अधिकृत प्रणालीमा लैजाने तयारी भइरहेको समेत उल्लेख गरे । कार्यक्रममा सहभागीले लुम्बिनीलाई बन्द, हडतालमुक्त क्षेत्र घोषणा गर्न आग्रह गरेका थिए ।
0 comments:
Post a Comment