गाेविन्द विश्वकर्मा
पुस २२ जाजरकाेट – सरकारले उपलब्ध गराउदै आएको सामाजिक सुरक्षा भत्ता रकमको जाजरकोट जिल्लाका ३० वटै गाउँ विकास समितिहरुमा व्यापक घोटाला भइरहदा समेत नियमक निकायले कुनै चासो दिएको छैन् । गाविसमा हुदै नभएका, बृद्धबृद्धा, एकल महिला, अपाङ्ग तथा दलित बालबालिकाको नाममा फर्जी भरपाई बनाई गाविसका सचिवहरु र गाविसका लेखा सहायक, प्राविधिकको मिलेमतोमा रकमको व्यापक दुरुपयोग गरेको तथ्य फेला परेको छ । जाजरकोट जिल्लाका मजकोट, सुवानाउली, जगतीपुर, पैक, ढिमे, खगेनकोट, रग्दा, भगवती, खलंगा, जुगाथापाचौर, साल्मा, गर्खाकोट, कोर्ताङ्ग लगाएत ३० वटै गाउँ विकास समितिहरुमा सामाजिक सुरक्षा भत्ता रकमको चरम दुरुपयोग हुदै आएको छ । जिविस जाजरकोटले समयमा अध्यावधिक नगर्दा रकमको अनियिमिता बढ्दै गएको हो ।
जिल्लाको सुवानाउली ८ सुवाका सर्केनी दमाइको मृत्यु भएको २२ बर्ष वित्यो । सोही ठाउँका कालु थापाको पनि १६ बर्ष अघि नै मृत्यु भैईसकेको छ । तर उनीहरुको नाममा जिविसबाट वर्षेनी सामाजिक सुरक्षा भत्ता गएको गयैछ । २२ बर्ष अघि मृत्यु भएका दमाई र थापाको नाममा अहिलेसम्म सामाजिक सुरक्षा भत्ताको रकम आएको देख्दा सुवानाउली गाविसका पूर्व गाविस अध्यक्ष गोरखबहादुर थापा तीन छक्क परेका छन् । सुवानाउली गाविसको आर्थिक बर्ष २०६९÷०७० विल भरपाईमा ६० बढी मृतकका नाउँमा रकम गएको छ । तर उनीहरुको नाममा पनि मासिक ५ सयका दरले सामाजिक सुरक्षा भत्ता गइरहेको छ । एउटै व्यक्तिको ३,४ ठाउँ नाम राखेर भत्ताको दुरुपयोग गरेको पाइएको छ ।
थापा र टमटा त सो गाविसका एक प्रतिनिधि पात्र मात्र हुन् । सुवानाउली ८ का मानसिंह थापा, पठे थापा, कले चदारा, गोरी रावत, देउमल थापा, मन्दरी टमटा, कले थापा, दरे कामी, काली टमाटा, धने बुढा, कल्चु टमटा, सर्जन खड्का लगाएत व्यक्तिहरुको धेरै पहिले नै मृत्यु भइसकेको छ । भने पठे सुनार, विर्खे थापा, पम्फी रावत, रत्नी थापा, तुली चदारा, तुल्क्षा चदारा लगाएतका ब्यक्ति नै छैनन् । उनीहरुको सबैका नाममा पनि मासिक ५ सयका दरले बृद्धबृद्धा र एकल महिला भत्ता खर्च भैरहेको छ ।
सुवानाउली गाविसमा २०६२ देखि ०७२ सम्म कार्यरत सचिवहरु हिक्मत सुनार, शेरबहादुर रावत, मोहन ढकाल, चिरञ्जी जिसी, गोर्कणराज शर्मा र लेखा सहायक लक्ष्मीप्रसाद शर्मा लगाएतलाई छानविनको दायरामा ल्याउनु पर्ने स्थानीयको माग छ । सचिवहरु गाविसमा नबस्ने र सबै जिम्मेवारी लेखा सहायक शर्मालाई दिदा रकम घोटाला भएको आरोप छ ।
सुवानाउलीमा दलित जेष्ठ ४४, अन्य जेष्ठ ५१, एकल महिला ७०, पूर्ण अपाङ्ग १६, आंशिक अपाङ्ग ३ र दलित बालबालिका २ सय ५१ जनाका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । तर गाउँमा भत्ता पाउने व्यक्तिहरुले पुरै रकम पनि पाएको देखिदैन । ८ लाख बढी रकम हिनामिना भएको स्थानीयको आरोप छ । गाउँ विकास समितिका कर्मचारीले यी सबैको नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको भर्पाई बनाएर जिल्ला विकास समितिमा पेश गरेका छन् ।
त्यस्तै गाउँमा ५ बर्ष मुनिका दलित बालबालिकाले बर्षमा पाउनु पर्ने २४ सय बाल अनुदानको रकम पुरै नपाउने गरेको, अपाङ्ग, एकल महिला, दलित जेष्ठ, अन्य जेष्ठले पनि पुरै पाउनु पर्ने रकम नपाएको भेटिएको हो । तर गाविसका कर्मचारीले उक्त गाउमा हुदै नभएका २ सयका दरले बाल संरक्षण भत्ता वितरण गरेको भपाई पनि जिविसमा पेश गरेर रकम निकासा गर्ने गरेका छन् ।
जिविस जाजरकोटले लापरवाही गर्दा सामाजिक सुरक्षा भत्ताको ३० वटै गाविसमा चरम दुरुपयोग बढेको एमाले जाजरकोटका पूर्व सांसद रत्नप्रसाद शर्मा न्यौपाले बताए । आफुले पटकपटक जानकारी गराउदा समेत जिविसले आलटान गरेर पन्छिन खोजेको आरोप छ । जिविस, गाविस सबैलाई छानविनको दायरामा ल्याउनु पर्ने सांसद न्यौपानेको भनाई रहेको छ । यसरी सुवानाउली गाविसमा मात्र बृद्धबद्धा, एकल महिला, अपाङ्ग र बाल संरक्षण अनुदान भत्ताका नाममा बार्षिक १६ लाख ८० हजार ४ सय रुपैंया जाने गरेको छ । यस गाउमा नभएका भत्ता पाउने ब्यक्तिको नाम पुकार्दा स्थानीय चकित परेका छन् ।
जिल्लाका ३० वटै गाविसका कर्मचारीले बर्षेनी यस्तै नक्कली भर्पाई बनाएर सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्दै आएका छन् । ती कर्मचारीले मृत्यु भैसकेका, गाउमा हुदै नभएका, अन्यत्र विवाह भैसकेका र दोहोरो तथा तेहोरो नाममा नक्कली भपाई बनाउदै रकम हिनामीना गर्दै आएका छन । एउटै ब्यक्तिले सयौं ल्याप्चे तथा हस्ताक्षर गरेको प्रष्टै देखिन्छ । गाविसमा सामाजिक सुरुक्षा भत्ता रकम सम्बन्धित गाविस सचिव र लेखा तथा प्रशासन सहायकले दुरुपयोग गर्ने गरेका छन ।
जिल्लाभरका गाविसबाट हरेक बर्ष करोड बढी रकम दुरुपयोग हुने गरेको छ । बर्षौसम्म मृतकको मृत्यु दर्ता नगर्ने र लगत नकाट्ने, दोस्रो विवाह गरेका महिलालाई एकल महिलाको सुचीबाट नटाउने, नभएकाको नाममा भपाई बनाउने, हचुवाको भरमा परीचय पत्र बनाउने र गलत विवरण जिविसमा पेश गर्ने र ती ब्यक्तिका नाममा निकासा भैआएको रकम कर्मचारीले खल्तीमा हाल्ने गर्दा घोटाला हुने गरेको हो । कति जेष्ठ नागरिक र एकल महिलाले पुरै भत्ता नपाएको गुनासो पनि गर्दै आएका छन् । गाविसका कर्मचारीले सामाजिक सुरक्षाको रकम अन्यत्र लगानी गरेर थप मुनाफा लिने गरेको बताइएको छ । सरोकारवाला निकायबाट अनुगमन, निरीक्षण र नियमन हुन नसक्दा मनोमानी रकम हिनामीना भएको हो । स्थानीय जन प्रतिनिधी विहिन हुदा जाजरकोटमा सासु रकमको दुरुपयोग बढेको हो । भ्रष्टाचारीलाई राजनीतिक दलले नै संरक्षण गर्दा रकममा अनियमिता बढेको हो । गत बर्ष जिल्लाको लहँ गाविसमा सामाजिक सुरक्षा भत्ताको व्यापक घोटाला सम्बन्धी समाचार उजागर भएपछि अख्तीयारले छानविन थालेको छ ।
जिल्लाका २ हजार दलित जेष्ठ, २ हजार ८ सय अन्य जेयष्ठ, ४ हजार एकल महिला, ३ सय ५० अपाङ्ग र १० हजार दलित बालबालिकालाई सरकारले सामाजिक सुरक्षा भत्ता वापत बार्षिक १० करोड खर्च गर्ने गरेको छ । को मरेको छ, को जीवित छ, भन्ने कुराको अध्यायबधि गाविसले गर्ने हुदा सचिबहरुले नै गलत मनसायले राख्दा समस्या बढेको जिल्ला विकास समिति जाजरकोटका योजना अनुगमन तथा प्रशासकिय अधिकृत टेकबहादुर खत्रीको भनाइ रहेको छ । कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरण सम्बन्धि तथ्यांक एकीन गर्न नसक्दा बर्षेनी यो रकममा घोटाला हुने गरेको हो । सबै गाविसको अनुगमन गरिने र कडा कारवाहि गरिने बताए पनि सो कार्य सफल हुन नसके खत्रीको भनाइ छ ।
0 comments:
Post a Comment