बलात्कारपछिका हत्याराहरु

सुर्खेत, ९ मंशीर ।

दश वर्षिया बालिकालाई बलात्कार गरी हत्या गर्ने तीन जनालाई सुर्खेत प्रहरीले सार्वजनिक गरेको छ । नेटा गाविस ७ कल्लेरीका ३२ वर्षका खडकबहादुर गाहा मगर, ३८ वर्षका यामबहादुर रास्कोटी मगर र कल्याण– १ पूर्णबहादुर ठाडा मगरलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको हो । सुर्खेतको नेटा गाविसकी १० वर्षिया बालिकालाई उनीहरुले सामूहिक बलात्कार गरेर हत्या गरेका थिए । घरबाट दशरथपुर बजारमा सामान किन्न हिडेकी बालिकालाई गत कार्तिक ३० गते उनीहरुले सामुहिक बलात्कार गरेका थिए । तीन जनाले बालिकालाई सामूहिक पालैपालो बलात्कार गरेर पछि ढुंगाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । बालिकाको टो कुरेर बसेका उनीहरुले नेटा ७ पहिरो खोलामा सामूहिक बलात्कार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको एसपी श्रेष्ठको बताउनुभयो । बालिकाका आफन्तले छोरी हराएको सूचना इलाका प्रहरी कार्यालय छिन्चुलाई दिएपछि छिन्चुका प्रहरी निरिक्षक भरत चौधरीको टोलीले घटनाबारे अनुसन्धान थालेको थियो । तर पछि बालिकाका आफन्तले ३० गते राती १० बजे मृत अवस्थामा छोरीको शव भेटिएको जानकारी प्रहरीलाई दिएका थिए । प्रहरीले बालिकाका भिनाजु नाता पर्ने पूर्णलाई पक्राउ गरेपछि अन्य फररा आरोपित पक्राउ गरेको बताएको छ । प्रहरीले तीन जना विरुद्ध जवरजस्ती करणी गरी कर्तब्य ज्यान शिर्षकमा जिल्ला अदालत सुर्खेतमा मुद्दा दर्ता गरेर अनुसन्धान अगाडी बढाएको छ । अस्पतालको रिपोर्टले पनि बालिकालाई बलात्कार गरेको उल्लेख गरेको छ । पक्राउ परेका तीन जना मध्य खड्क सशस्त्र प्रहरीका भगौडा प्रहरी भएको र उनी लामो समयदेखि लुटपाट तथा चोरीमा संलग्न पाइएको अनुसन्धानबाट पुष्टि भएको प्रहरी निरक्षक चौधरीले बताउनुभयो ।  यस्तो कार्य गर्नेलाई मुलुकी ऐन ज्यान सम्वन्धि महलको १३ ९३० नं। बमोजिक सर्बस्वसहित जन्म कैद, १० वर्षकी नावालिकालाई सामूहिक जवरजस्तीकरणी गरेकोमा मुलुकी ऐन जवरजस्तीकरणी महलको ३ ९२० बमोजिम ८ देखि १० वर्ष कैद र सोही मलको ३ ९क० अनुसार सामूहिक रुपमा जवरजस्ती करणी गर्नेलाई थप ५ वर्ष कैद सजाय हुने कानुनी प्रावधान रहेको प्रहरीले जनाएको छ । यसैबिच, सुर्खेतमा चालु आर्थिक वर्ष अर्थात साउन महिना यता मात्रै बालिका जवरजस्तीकरणिका ११ घटना भएका छन् । जिल्ला प्रहरी कार्याललय सुर्खेतका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्छुमा गरी जम्मा ११ वटा जवरजस्तीकरणीका उजुरीहरु दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा गत साउन यता मात्रै ६ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिनुभयो । प्रहरी निरीक्षक हमालका अनुसार इलाका प्रहरी कार्यालय छिन्चुमा पनि पाँच वटा उजुरीहरु दर्ता भएका छन् । यो तथ्याङकअनुसार एक महिनामा औषतमा २ भन्दा पनि बढी जवरजस्तीकरणिका घटना हुने गरेको छ । साउन यता भएका जवरजस्तीकरणीका घटनामा बालिकाहरु चार वर्षदेखि १४ वर्षसम्मका रहेका छन् । एक जना चार वर्ष, एक जना १० वर्षकी, एक जना १२ र एक जना १४ वर्षकी भएको प्रहरीलेजनाएको छ । कुनै घटनामा केटा पनि सानो उमेरको भएको तर धेरै घटनामा वयस्क पुरुषले नै जवरजस्तीकरणी गर्ने गरेको प्रहरीको भनाइ छ । यस्तै साउन यता जिल्ला अदालतमा जवरजस्तीकरणी सम्बन्धीका १७ मुद्दाहरु फर्छौट हुन बाँकी रहेका छन् ।

0 comments:

Post a Comment