गोविन्द विश्वकर्मा काठमाडौं

>> एक समय निकै चर्चामा रहेर पनि अचानक गुमनामजस्तै भएर फेरि नेपाली लोक सांगीतिक क्षेत्रमा केही सक्रिय देखिनुभएको छ । यसलाई तपाईको ‘पुनरागमन’ भन्दा हुन्छ ?
> त्यो भन्दा पनि राजु परियार सांगीतिक क्षेत्रमा लागि नै रहन्छु भनेर कसम खाएर आएको हो । बीचमा अब यो क्षेत्रमा आउँदिन भनेको पनि हुँ । केही पारिवारिक समस्या थियो । अब त्यस्तो छैन । मन चङ्गा भएको छ, अब म आम श्रोताको काख–पोल्टामै रहन्छु ।
>> हिजोको दिनमा ‘अब यो क्षेत्रमा आउँदिन’ भन्ने मनसाय चाँही किन बनाउनु भएको ?
> मनमा पाप छैन । सिधै भन्नुपर्दा केही समस्याहरु, केही अप्ठ्याराहरु थिए । अहिले खुल्ला आकाशझै भएको छु ।
>> तपाईको पारिवारिक अवस्थालाई लिएर विभिन्न टिका–टिप्पणी हुने गर्छन्, पारिवारिक अवस्थाको बारेमा के भन्नुहुन्छ ?
> मसँग केही थियो र पो कुरा गरे । मसँग केही थिएन भने त कसले कुरा गर्ने ?
मसँग कुनै दिन चुलो बल्ने स्थिती भएन होला । सबै कुरा भनिरहनु जरुरी छैन ।
>> राजु परियार चर्चित कलाकार भएर पनि ‘स्ट्याण्डर मेन्टेन’ गरेर हिँड्नुपर्ने हो, त्यो चाँही गदैन भन्छन् नि ?
> यसो हो, खोले र सिस्नु खाएर धानको भातको कुरा गर्नु हुँदैन । हिजोको खोले बिर्सियो भने धानको भातले सराप्छ ।
>> अहिले तपाईका गीत खासै सुनिदैंन, स्टुडियोमा पनि टाइम दिएर आउनुहुन्न रे, किन ?
> यस्तो छ, हिजोको दिनमा लहैलहैमा गाएँ होला, अब त्यसरी गाउँदिन । संख्यात्मकभन्दा अब गुणात्मक गीत गाउँछु । कतिपयका गीत मलाई मन परेन होला । त्यसैले गाइनँ ।
>> मौकामा हिरा फोर्नु भन्छन्, तपाईको यस्तो मिठो आवाज छ, पर्याप्त गीत किन नगाउनु भएको ?
> म अझै लोक गायक भैसकेको रहेनछु । सिक्दै छु । उमेर अझै बाँकी छ । अघिनै भनिसकेँ, संख्यात्मकभन्दा गुणात्मक गीत गाउँछु ।
>> अहिलेसम्म कति गीत गाउनु भयो ?
अहिलेसम्मको तथ्याङ्कमा १५ हजार कट्यो भन्ने छ । तर मैले ठ्याक्कै मेसो पाएको छैन । अब खोजी गर्दै छु ।
>> अहिलेको वर्तमान लोक गीतको क्षेत्रलाई तपाईले कसरी हेर्नुभएको छ ?
> झलकमान, मेलवादेवी, धर्मराज थापाको जस्तो गीत आजभोली आउँदैन । दुःखलाग्दो कुरा हो । माटो सुहाउँदो गीत गाउने प्रतिक्षामा म पनि छु । म कसैलाई दोष दिन चाहन्नँ ।
>> आगामी दिनमा आफ्नै एलबम ल्याउनुहुन्छ वा के गर्नु हुन्छ ?
> अवश्य पनि म आफ्नै एलबमको तयारीमा छु । तपाईहरुकै सल्लाह, सुझाव अनुसार आगामी दिनमा एकल र कलेक्सन गीत छिट्टै आउँदै छ । तपाईहरु अब ढुक्क हुनुस् कि राजु परियार यो क्षेत्र छोडेर अब कतै जाँदैन, यो मेरो कसम भयो ।
>> अचेल देश–विदेशमा सांस्कृतिक कार्यक्रममा कलाकारहरु जाने होड नै चलेको छ, तपाई खासै जानुहुन्न, किन ?
> राजुपरियारले अहिलेसम्म १८/१९ देश घुमिसक्यो । कार्यक्रममा बोलाउँदैमा मात्र पनि जान्नँ । त्यो कार्यक्रम कुन उद्देश्यले गरिएको छ, बिचार गर्छु । त्यही भएर त्यस्ता कार्यक्रममा म कम पुगेँ होला ।
>> नेपाली संगीतको भविष्यचाँहि कस्तो देख्नुहुन्छ ?
> सुन्तला रोपेर आँपको कुरा गर्नु हुन्नँ । यतिबेला हामीले सही विजारोपण गरिरहेका छैनौं । राम्रो ग¥यो भने भविष्य छ । म आफैंले पनि रामो गीतको खोजी गरिरहेको छु । हाम्रा देउडा, पूर्वको हाक्पारे, सालैजो गाउन सकियो भने निकै रामो भविष्य छ ।
>> कलाकारलाई राज्यले दिनुपर्ने सम्मान कतिको पाएको महसुस गर्नुभएको छ ?
> तपाईको कुरा सुनेर मलाई हाँसो उठ्यो । राज्यले मलाई पनि कलाकार भन्छ र रु संस्कृतिमन्त्रीलाई संस्कृतिको ‘स’ पनि थाहा हुँदैन । नयाँ संविधान आएको छ । कलाकारका हकहितका कुरा कहाँ छन् ? म राज्यबाट केही अपेक्षा गर्दिनँ । अझै केही गर्न सकेँ भने राज्यले एक दिन सम्झेला ।
>> अन्त्यमा आफ्नो श्रोतालाई के भन्नुहुन्छ ?
> म तपाईहरुकै भाई, भतिजो, छोरा हुँ । माया गरिनै रहनुस्, एक दिन वास्तविक लोक गायक भएर आउनेछु ।
0 comments:
Post a Comment